कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक १८)

मौसमी सारांश:

  • गत साता देशका सबै केन्द्रहरुमा मध्यम देखि धेरै भारी वर्षा मापन भएको छ र वर्षा मापन भएका धेरै केन्द्रहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ।सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा २३०.६ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। तराईका अधिकांश स्थानमा ३०.0 डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ भने गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा रहेको चापाकोट केन्द्रमा सबैभन्दा बढी ३४.८ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम १०.८ डि.से. साप्ताहिक औसत  न्यूनतम तापक्रम मापन भएको छ।
  • साताभर मनसुनी वायुको प्रभाव रहने देखिन्छ। साताभर न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहने देखिन्छ।
  • साथै साताको मध्यमा भारतको बिहार तथा पश्चिमी उत्तरप्रदेश आसपासमा बन्ने न्यूनचापीय क्षेत्रको पनि प्रभाव रहने देखिन्छ।
  • देशको हिमाली तथा पहाडी क्षेत्रहरूमा साताको शुरू र अन्त्यमा आंशिक देखि साधारणतया बदली, साताको मध्यमा साधारणतया देखि पूर्णतया बदली रहने छ। बाँकी भू-भागमा साताभर साधारणतया देखि पूर्णतया बदली रहने सम्भावना छ।
  • साताको शुरू र अन्त्यमा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा साताको मध्यमा केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
  • साताको शुरू र अन्त्यमा पहाडी भू-भागका थोरै स्थानहरूमा तथा साताको मध्यमा केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै पहाडी भू-भागमा साताको शुरू र अन्त्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना छ। साताको मध्यमा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना छ।
  • साताको शुरू र अन्त्यमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईको भू-भागका थोरै स्थानहरूमा तथा साताको अन्त्यमा केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना छ।
  • देशका धेरै स्थानहरूको अधिकतम तथा न्यूनतम तापक्रममा उल्लेख्य परिवर्तन नहुने तथापी सरदर र सरदर भन्दा केही बढी नै रहने सम्भावना छ।

कृषि सारांश

 

  • धान रोपेको २-३ हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धानबालीमा फेद कुहिने रोग नियन्त्रणको लागि रोगी बोटहरु उखेलेर नष्ट गर्नुहोस्। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि २ ग्राम बेभिष्टिन प्रति लिटर पानीमा मिसाई ८-१० दिनको फरकमा २-३ पटक बोट भिज्नेगरि छर्नुहोस्।
  • धानखेतमा पात वेरुवा कीराको बढी क्षती देखिएमा अल्फामेथ्रिन 10% EC, २ एम.एल. प्रति लिटर पानीमा मिसाएर २० लिटर प्रति कठ्ठाको दरमा धानको पात भिज्नेगरि साँझको समयमा छर्नुहोस्।
  • साताभर मनसुनी वायुको प्रभाव रहने देखिएकोले सबै प्रकारका तरकारी तथा फलफूल बालीमा सरसफाई र झारपात व्यवस्थापनका साथै पानी निकासको उचित व्यवस्थापन गर्नुहोस्।
  • स्टोन/इपिकोटायल बिधिबाट कलमी गरेको आँपको नर्सरीमा ८०-९० प्रतिशत भन्दा कम आर्द्रता भएमा बेला बेलामा पानी छर्किनुहोस्। साथै कलमी गरेको भागभन्दा तलबाट पलाएका मुनाहरु हटाउनुहोस्।
  • मध्य पहाडमा भदौमा लगाउने आलुबालीका लागि खुमल सेतो-३, खुमल रातो-४, कुफ्रिज्योती, डेजिरे, जनकदेव, खुमल उज्ज्वल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातको स्वस्थ बीउ भरपर्दो श्रोतबाट सुनिश्चित गरी शीत भण्डारबाट निकाली फिजाएर टुसाउन राख्नुहोस्।
  • केरा, अलैँची, अदुवा र बेसार बालीको जरा कुहिने रोगको अनुगमन गरी पानी निकासको उचित व्यवस्था गर्नुहोस्। साथै रोग व्यवस्थापनको लागि कार्बेन्डाजिमयुक्त बिषादी बेभिष्टिन २ ग्राम प्रति लिटर पानीमा मिसाएर जरा भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
  • बाख्रामा देखिने कुम्री रोगको रोकथाम गर्न भदौ देखि कात्तिकसम्म मासिक एक चक्की डाई ईथाइल कार्बामाजिन (डी.ई.सी)-१०० एम.जी. प्रति वयस्क बाख्राका दरले खुवाउनुहोस्।
  • वर्षातको पानीले पोखरीको खाद्यतत्व बगाएर कमी हुन सक्ने हुँदा पोखरीको पानीको पारदर्शिता हेरी घाम लागेको समय पारेर सिफारिस मात्रामा मलखाद प्रयोग गर्नुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ ५ देखि ७ बजेसम्म फोन गर्नुहोस्।
  • कृषि-मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट प्रत्येक शनिबार बेलुका ६:२५ देखि ६:३५ बजेसम्म साथै नेपाल टेलिभिजनको NTV NEWS Channel बाट प्रत्येक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने गर्दछ।