कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक १७)

मौसमी सारांश:

  • गत साता देशका सबै केन्द्रहरुमा मध्यमदेखि अति भारी वर्षा मापन भएको छ र वर्षा मापन भएका धेरै केन्द्रहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ। सबैभन्दा बढी मधेश प्रदेशको धनुषा जिल्लामा रहेको हर्दिनाथ केन्द्रमा ३०६.९ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। तराईका अधिकांश स्थानमा ३०.० डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको रौतहट जिल्लामा रहेको गौर केन्द्रमा सबैभन्दा बढी ३५.६ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको थाकमार्फा केन्द्रमा सबैभन्दा कम ११.९ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • साताभर मनसुनी वायुको प्रभाव रहने देखिन्छ। साताको सुरू र अन्त्यमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा साथै मध्यमा सरदर स्थान भन्दा केहीमाथि अवस्थित रहने देखिन्छ। साथै भारतको विहार तथा उत्तर-प्रदेश आसपासमा बन्ने न्यूनचापिय क्षेत्रको आंशिक प्रभाव रहने देखिन्छ।
  • देशको हिमाली तथा पहाडी क्षेत्रहरूमा साताभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ। बाँकी भू-भागमा साताभर आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।
  • साताको शुरू र मध्यमा हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा तथा साताको अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
  • बागमती प्रदेशको हिमाली तथा पहाडी भू-भागमा साताको शुरू र मध्यमा केही स्थानहरूमा तथा साताको अन्त्यमा थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।
  • साथै देशका धेरै स्थानहरूको अधिकतम तथा न्यूनतम तापक्रममा उल्लेख्य परिवर्तन नहुने तथापी सरदर भन्दा केही बढी नै रहने सम्भावना छ।

कृषि सारांश

  • धान रोपेको २-३ हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धानबालीमा फेद कुहिने रोग नियन्त्रणको लागि रोगी बोटहरु उखेलेर नष्ट गर्नुहोस्। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि २ ग्राम बेभिष्टिन प्रति लिटर पानीमा मिसाई ८-१० दिनको फरकमा २-३ पटक बोट भिज्नेगरि छर्नुहोस्।
  • मध्य पहाड र तराईमा तयार भैसकेका कोदोबालीका बेर्ना रोप्नुहोस्। जग्गा तयारीको बेलामा १.५ के.जी. युरिया; ३.३ के.जी. डि.ए.पी.; १.७ के.जी. म्यूरेट अफ पोटास प्रति रोपनीका दरले माटोमा राम्ररी मिलाउनुहोस्।
  • साताभर मनसुनी वायुको प्रभाव रहने देखिएकोले सबै फलफूलका बगैचामा सरसफाई र झारपात व्यवस्थापनका साथै पानी निकासको उचित व्यवस्थापन गर्नुहोस्।
  • शंखे तथा चिप्ले कीरा व्यवस्थापनका लागि मेटलडिहाईड दानेदार विषादी २.५ के.जी. प्रति रोपनीको दरले खेतबारीमा साँझपख छर्नुहोस्।
  • नर्सरी राख्दा १ वित्ता (१५-२० से.मी.) अग्लो र १ मीटर चौडाईको व्याड बनाई ४ अंगुलको फरकमा लाइन कोरेर पातलो गरी बीउ राखी हल्का माटोले पुरेपछी छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन प्लाष्टिकको छापो राख्नुहोस्।
  • आलुको पुतलीका लागि अनुकूल मौसम भएकोले स्थानीय रुपमा घरमा नै भण्डारण गरेको आलुमा यसबाट हुने क्षति कम गर्न बोझोको धुलो २ ग्राम प्रति के.जी. आलुका दरले प्रयोग गर्नुहोस्।
  • मध्य पहाडको बारीमा सखरखण्डका सुन्तले सखरखण्ड-१, सुन्तले सखरखण्ड-२ लगायत अन्य उपलब्ध जातहरु रोप्नुहोस्।
  • केरा, अलैँची, अदुवा र बेसार बालीको जरा कुहिने रोगको अनुगमन गरी पानी निकासको उचित व्यवस्था गर्नुहोस्। साथै रोग व्यवस्थापनको लागि कार्बेन्डाजिमयुक्त बिषादी बेभिष्टिन २ ग्राम प्रति लिटर पानीमा मिसाएर जरा भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
  • साउन महिनामा विषेश गरी गाई-गोरुमा साउने ज्वरो अथवा तीन दिने ज्वरो देखा पर्न सक्दछ। वर्षातको मौसममा वढी देखिने यो रोग छ महिना भन्दा कम उमेरका पशुहरुमा लाग्दैन। यो रोग लागेमा उपचारको लागि फेनाइलब्युटाजोन समुहका औषधिहरु ठुला पशुलाई १०-१५ एम.एल. मासुमा केवल एक वा दुई सुई पर्याप्त हुन्छ।
  • साताको मध्य तथा अन्त्यमा सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी बर्षाको सम्भावना रहेकोले माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। साथै पोखरीको निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई पानी निकासको उचित व्यवस्था मिलाउनुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ ५ देखि ७ बजेसम्म फोन गर्नुहोस्।