नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक १६)
मौसमी सारांश:
- गत साता देशका सबै केन्द्रहरुमा वर्षा मापन भएको छ भने सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा २६७.३ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशको सबै स्थानहरुमा अनि लुम्बिनी प्रदेशको तराईका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशको तराईका केही स्थानहरुमा ३५.0 डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको पर्सा जिल्लामा रहेको विरगन्ज केन्द्रमा सबैभन्दा बढी ३८.० डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ११.९ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
- साताभर मनसुनी वायुको प्रभाव रहने देखिन्छ। साताको सुरू र अन्त्यमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा साथै मध्यमा सरदर स्थान भन्दा केही माथि (उत्तरतर्फ) अवस्थित रहने देखिन्छ।
- हिमाली तथा पहाडी क्षेत्रहरूमा साताभर साधारणतया बदली रहने छ। बाँकी भू-भागमा साताभर आंशिक देखि साधारणतया बदली रहने सम्भावना छ।
- साताको शुरू र अन्त्यमा हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा तथा साताको मध्यमा धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
- साताको शुरू र अन्त्यमा मधेश र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा साथै साताको मध्यमा देशका तराई भू-भागका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
- विशेष गरी साताको शुरुमा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा साथै साताको मध्यमा कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी बर्षाको सम्भावना छ।
- साथै देशका धेरै स्थानहरूको अधिकतम तथा न्यूनतम तापक्रममा उल्लेख्य परिवर्तन नहुने तथापी सरदर भन्दा केही बढी नै रहने सम्भावना छ।
कृषि सारांश
- विशेष गरी साताको मध्यमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी बर्षाको सम्भावना रहेकोले कृषि कर्महरु गर्दा विशेष सावधानी अपनाउनुहोस्।
- धान रोपेको २-३ हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धानबालीमा फेद कुहिने रोग नियन्त्रणको लागि रोगी बोटहरु उखेलेर नष्ट गर्नुहोस्। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि २ ग्राम बेभिष्टिन प्रति लिटर पानीमा मिसाई ८-१० दिनको फरकमा २-३ पटक बोट भिज्नेगरि छर्नुहोस्।
- उच्च तथा मध्य पहाडमा तयार भैसकेका कोदोबालीका बेर्ना रोप्नुहोस्। जग्गा तयारीको बेलामा १.५ के.जी. युरिया; ३.३ के.जी. डि.ए.पी.; १.७ के.जी. म्यूरेट अफ पोटास प्रति रोपनीका दरले माटोमा राम्ररी मिलाउनुहोस्।
- साताको मध्यमा धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले सबै फलफूलका बगैचामा सरसफाई र झारपात व्यवस्थापनका साथै पानी निकासको उचित व्यवस्थापन गर्नुहोस्।
- नर्सरी राख्दा १ वित्ता (१५-२० से.मी.) अग्लो र १ मीटर चौडाईको व्याड बनाई ४ अंगुलको फरकमा लाइन कोरेर पातलो गरी बीउ राखी हल्का माटोले पुरेपछी छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन प्लाष्टिकको छापो राख्नुहोस्।
- वर्षातको समय भएकोले घिउ सिमी र चौमासे सिमीको बीउ ड्याङ उठाएर मात्र रोप्नुहोस्।
- आलुको पुतलीका लागि अनुकूल मौसम भएकोले स्थानीय रुपमा घरमा नै भण्डारण गरेको आलुमा यसबाट हुने क्षति कम गर्न बोझोको धुलो २ ग्राम प्रति के.जी. आलुका दरले प्रयोग गर्नुहोस्।
- मध्य पहाडको बारीमा सखरखण्डका सुन्तले सखरखण्ड-१, सुन्तले सखरखण्ड-२ लगायत अन्य उपलब्ध जातहरु रोप्नुहोस्।
- केरा, अलैँची, अदुवा र बेसार बालीको जरा कुहिने रोगको अनुगमन गरी पानी निकासको उचित व्यवस्था गर्नुहोस्। साथै रोग व्यवस्थापनको लागि कार्बेन्डाजिमयुक्त बिषादी बेभिष्टिन २ ग्राम प्रति लिटर पानीमा मिसाएर जरा भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
- साउन महिनामा विषेश गरी गाई-गोरुमा साउने ज्वरो अथवा तीन दिने ज्वरो देखा पर्न सक्दछ। वर्षातको मौसममा वढी देखिने यो रोग छ महिना भन्दा कम उमेरका पशुहरुमा लाग्दैन। यो रोग लागेमा उपचारको लागि फेनाइलब्युटाजोन समुहका औषधिहरु ठुला पशुलाई १०-१५ एम.एल. मासुमा केवल एक वा दुई सुई पर्याप्त हुन्छ।
- साताको मध्य तथा अन्त्यमा सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी बर्षाको सम्भावना रहेकोले माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। साथै पोखरीको निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई पानी निकासको उचित व्यवस्था मिलाउनुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।