कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक १५)

मौसमी सारांश

  • गत साता देशका अधिकांश केन्द्रहरुमा वर्षा मापन भएको छ भने सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा ३०८.१ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ।मधेश प्रदेशको अधिकांश स्थानहरुमा तथा लुम्बिनी, कोशी, गण्डकी र बागमती प्रदेशको तराईका केही स्थानहरुमा ३५.0 डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको पर्सा जिल्लामा रहेको विरगन्ज केन्द्रमा सबैभन्दा बढी ३७.७ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा केन्द्रमा सबैभन्दा कम १४.१ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • साताभर मनसुनी वायुको प्रभाव रहने देखिन्छ। साथै साताभर मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहने देखिन्छ। 
  • हिमाली तथा पहाडी क्षेत्रहरूमा साताभर साधारणतया बदली रहने छ। बाँकी भू-भागमा साताको शुरूमा आंशिक बदली तथा साताको मध्य तथा अन्त्यमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना छ।
  • साताको शुरूमा कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरूमा तथा साताको मध्य तथा अन्त्यमा धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशहरूमा साताभर केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
  • विशेष गरी साताको मध्य तथा अन्त्यमा सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी बर्षाको सम्भावना छ।
  • आगामी साता देशका तराई भू-भागका अधिकांश स्थानहरूमा सरदर भन्दा केही कम वर्षा हुने तर हिमाली तथा पहाडी भू-भागका अधिकांश स्थानहरूमा सरदर वर्षा हुने सम्भावना छ।
  • साथै देशका धेरै स्थानहरूको अधिकतम तथा न्यूनतम तापक्रममा उल्लेख्य परिवर्तन नहुने तथापी सरदर भन्दा केही बढी नै रहने सम्भावना छ।

कृषि सारांश

  • विशेष गरी साताको मध्य तथा अन्त्यमा सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी बर्षाको सम्भावना रहेकोले कृषि कर्महरु गर्दा विशेष सावधानी अपनाउनुहोस्।
  • २१-२५ दिन भैसकेको धानको बेर्ना प्रति रोपो २-३ वटाको दरले रोप्नुहोस्। हार देखी हार २० से.मी. र रोपो देखी रोपो १५ से.मी. दूरीमा र सूचिकृत गरीएका बर्णशंकर धान १ गोटा बेर्नाको दरले हार देखी हार २० से.मी. र रोपो देखी रोपो २० से.मी. दूरीमा रोप्नुहोस्।
  • धानबालीमा झारपात ब्यवस्थापनको लागी मौसमको अवस्था हेरी ब्यूटाक्लोर १ के.जी. प्रति रोपनी वा ०.६ के.जी. प्रति कट्ठाको दरले धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा छर्नुहोस्। 
  • धान रोपेको २-३ हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धानबालीमा फेद कुहिने रोग नियन्त्रणको लागि रोगी बोटहरु उखेलेर नष्ट गर्नुहोस्। प्रकोप ज्यादा देखिएमा खेतमा जमेको पानी निकास गरेपछि २ ग्राम बेभिष्टिन प्रति लिटर पानीमा मिसाई ८-१० दिनको फरकमा २-३ पटक बोट भिज्नेगरि छर्नुहोस्।
  • उच्च तथा मध्य पहाडमा तयार भैसकेका कोदोबालीका बेर्ना रोप्नुहोस्। जग्गा तयारीको बेलामा १.५ के.जी. युरिया; ३.३ के.जी. डि.ए.पी.; १.७ के.जी. म्यूरेट अफ पोटास प्रति रोपनीका दरले माटोमा राम्ररी मिलाउनुहोस्।
  • साताको मध्य तथा अन्त्यमा सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी बर्षाको सम्भावना रहेकोले सबै फलफूलका बगैचामा सरसफाई र झारपात व्यवस्थापनका साथै पानी निकासको उचित व्यवस्थापन गर्नुहोस्।
  • नर्सरी राख्दा १ वित्ता (१५-२० से.मी.) अग्लो र १ मीटर चौडाईको व्याड बनाई ४ अंगुलको फरकमा लाइन कोरेर पातलो गरी बीउ राखी हल्का माटोले पुरेपछी छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन प्लाष्टिकको छापो राख्नुहोस्।
  • आलुको पुतलीका लागि अनुकूल मौसम भएकोले स्थानीय रुपमा घरमा नै भण्डारण गरेको आलुमा यसबाट हुने क्षति कम गर्न बोझोको धुलो २ ग्राम प्रति के.जी. आलुका दरले प्रयोग गर्नुहोस्।
  • केरा, अलैँची, अदुवा र बेसार बालीको जरा कुहिने रोगको अनुगमन गरी पानी निकासको उचित व्यवस्था गर्नुहोस्। साथै रोग व्यवस्थापनको लागि कार्बेन्डाजिमयुक्त बिषादी बेभिष्टिन २ ग्राम प्रति लिटर पानीमा मिसाएर जरा भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
  • यो समयमा गाई, भैँसी, भेडा, बाख्रामा खोरेत रोग देखा पर्न सक्ने भएकोले खोरेत रोग देखिएका पशुहरुलाई भेटेरिनरी प्राविधिकसँग सम्पर्क गरी उपचार गराउनुहोस्। खोरेतको खोप लगाउन छुटेका स्थानमा रिङ भ्याक्सिनेशन गराउनुहोस्।
  • साताको मध्य तथा अन्त्यमा सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी बर्षाको सम्भावना रहेकोले माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। साथै पोखरीको निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई पानी निकासको उचित व्यवस्था मिलाउनुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।