नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
७-१३ असार २०८१
मौसमी सारांश:
- गत साता सबैभन्दा बढी कोशी प्रदेशको झापा जिल्लामा रहेको दमक केन्द्रमा ४०२.२ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश तथा लुम्बिनी प्रदेशका तराईका केही स्थानमा ४०.० डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने लुम्बिनी प्रदेशको बाँके जिल्लामा रहेको नेपालगन्ज क्षेत्रीय कार्यालय केन्द्रमा सबैभन्दा बढी ४३.७ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। कोशी प्रदेशका तराईका अधिकांश तथा मधेश प्रदेशका केही स्थानहरुमा बाहेक अन्य तराईका स्थानहरुमा २५.० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ९.६ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- साताभर मनसुनी प्रणालीको प्रभाव कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहने संभावना छ।
- कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साताको शुरुमा आंशिक देखि साधारणतया बदली, मध्य र अन्त्यमा साधारणतया देखि पूर्णतया बदली रहने सम्भावना छ।
- कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै साताको सुरू र अन्त्यमा गण्डकी प्रदेशका थोरै स्थानहरुमा, साताको मध्यमा कोशी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना छ।
- देशका अधिकांश स्थानहरूमा अधिकतम तापक्रम हल्का घट्ने तथा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ।
कृषि सारांश
- आगामी साता कोशी, मधेश, वागमती प्रदेशमा मनसुनी हावाको प्रभाव रहने देखिएको हुँदा भित्र्याउने अवस्थाको चैते धानबाली काटेर खेतमा नछोड्नुहोस्।
- वर्षे धानबालीवाट राम्रो उत्पादन लिन आफूले लगाउन चाहेको ठाँउ अनुसार सिफारिस गरिएका धानका उन्नत जातहरुको बीउ उपचार गरी व्याड राख्नुहोस्।
- विहान सवेरै आँप टिप्दा पानीको मात्रा बढी बग्न गई फलको गुणस्तर बिग्रने हुँदा मध्य विहान र बेलुकीपख मात्र टिप्नुहोस्।
- स्याउ, ओखर, आरु, आरुबखडा, खुर्पानी, नासपाती, सुन्तला, जुनार, कागती आदि फलफूलहरुको नर्सरीको नियमित अनुगमन गरि सकरहरुलाई समयमा नै हटाउनुहोस्।
- स्याउको बोटमा लाग्ने टेन्ट क्याटरपिलर कीराको लागि अनुकुल मौसम भएकोले यसको व्यवस्थापनको लागि टेन्ट समेतको हाँगालाई काटेर जलाउनुहोस्। कीराको प्रकोप बढि भएमा क्लोरानट्रानिलिप्रोल 18.5 % एस.सी. वा स्पिनोसाड 45% एस.सी. १ एम.एल. प्रति ३ लिटर पानीमा मिसाएर छर्कनुहोस्।
- फर्सी समुहको तरकारीमा लाग्ने चोप निस्कने डढुवा रोगको लक्षण देखापरेमा मेन्कोजेवयुक्त वा क्लोरोथालोनिल नामक विषादी २ ग्राम प्रति लिटर पानीका दरले ८-१० दिनको फरकमा २-३ पटकसम्म सम्पूर्ण बोट भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
- हिमाली जिल्लाहरुमा भेडाबाख्रालाई उच्च चरन खर्कमा लैजाने समय भएकोले खोरेत, पि.पि.आर. र बाह्य परजीवी विरुद्ध खोप र डिपिङ्ग गरि चरन क्षेत्रमा लैजानुहोस्।
- साताको सुरू र अन्त्यमा गण्डकी प्रदेशका थोरै स्थानहरुमा, साताको मध्यमा कोशी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। माछापोखरीको निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई पानी निकासको उचित व्यवस्था मिलाउनुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।