कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ९)

मौसमी सारांश:

  • गत साता सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको पोखरा एयरर्पोट केन्द्रमा १२०.२ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। सुदूरपश्चिम प्रदेशको तराईका अधिकांश तथा लुम्बिनी प्रदेशको तराईका केही स्थानहरुमा ४०.0 डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको टिकापुर केन्द्रमा सबैभन्दा बढी ४२.० डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। सुदूरपश्चिम प्रदेशका तराई बाहेकका अन्य तराईका अधिकांश स्थानहरुमा २५.० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ। कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा केन्द्रमा सबैभन्दा कम ९.१ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • साताभर पश्चिमी वायु, स्थानीय वायु तथा बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा बन्ने न्यून चापीय क्षेत्रको आंशिक प्रभाव साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायूको पनि प्रभाव रहने सम्भावना छ।
  • कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गहावाहुरी सहित हल्का देखि मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
  • बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गहावाहुरी सहित हल्का देखि मध्यम वर्षा, साथै एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
  • कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साताको शुरुमा आंशिक देखि साधारणतया बदली, मध्य र अन्त्यमा साधारणतया देखि पूर्णतया बदली रहने सम्भावना छ।
  • गण्डकी, लुम्बिनी र सुदुर-पश्चिम प्रदेशका तराईका भू_भागहरुमा साताको अन्त्यमा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना छ।
  • सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई र पहाडका भू-भागहरुमा हावाहुरीको सम्भावना छ।

कृषि सारांश:

  • आगामी साता कोशी, मधेश, वागमती प्रदेशमा मनसुनी हावाको प्रभाव रहने देखिएको हुँदा भित्र्याउने अवस्थाको चैते धानबाली काटेर खेतमा नछोड्नुहोस्।
  • वर्षे धानबालीवाट राम्रो उत्पादन लिन आफूले लगाउन चाहेको ठाँउ अनुसार सिफारिस गरिएका धानका उन्नत जातहरुको बीउ उपचार गरी व्याड राख्नुहोस्।
  • धेरै विहान आँप टिप्दा पानीको मात्रा बढी बग्न गई फलको गुणस्तर बिग्रने हुँदा मध्य विहान र बेलुकीपख मात्र टिप्नुहोस्।
  • फर्सी समुहको तरकारीमा लाग्ने चोप निस्कने डढुवा रोगको लक्षण देखापरेमा मेन्कोजेवयुक्त वा क्लोरोथालोनिल नामक विषादी २ ग्राम प्रति लिटर पानीका दरले ८-१० दिनको फरकमा २-३ पटकसम्म सम्पूर्ण बोट भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
  • उखुबालीमा प्लासी गवारोले क्षती पुर्याउने भएकोले नियमित अनुगमन गरि ब्यवस्थापनका उपायहरु अपनाउनुहोस्।
  • मध्य तथा पश्चिमी तराई भू-भागहरूमा साताको सुरुमा तातो हावा तथा तातो लहरको संभावना रहेकोले गाईवस्तुलाई सुरक्षित र छाँयादार ठाउँमा राख्नुहोस्। सधैं सफा र चिसो पिउने पानी दिनुहोस्। सम्भव भएसम्म ११ बजे देखि ४ बजेसम्म गाईवस्तुलाई काम नगराउनुहोस् र चराउन पनि नलैजानुहोस्। गोठको छानालाई परालले छोप्नुहोस्, सेतो रंग गर्नुहोस् वा तापक्रम घटाउन गोबर-माटोले लिप्नुहोस्। गाईवस्तुहरुको गोठमा पंखा, पानीको स्प्रे वा फोगर्सहरुको प्रयोग गर्नुहोस्। अत्यधिक गर्मीको समयमा, पानी स्प्रे गरी पंखा लागाउनुहोस्। गाईवस्तुलाई चिसो पानीले नुहाईदिनहोस्।
  • गर्मीको समयमा हुने तापीय आघात तथा हावाहुरी, असिना पानीबाट बचाउन माछापोखरीमा पानीको गहिराई कम्तीमा १.५ मिटर कायम राख्नुहोस्।
  • कोशी, मधेश, वागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले माछापोखरीको निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई माछा बगेर जान नदिनुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।