नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ५)
मौसमी सारांश:
- गत साता सबैभन्दा बढी कोशी प्रदेशको मोरङ्ग जिल्लामा रहेको बिराटनगर केन्द्रमा १६६.० मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। लुम्बिनी प्रदेशको तराईका धेरै तथा सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानहरुमा ३५.0 डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने लुम्बिनी प्रदेशको बाँके जिल्लामा रहेको खजुरा केन्द्रमा सबैभन्दा बढी ३७.२ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। तराईका अधिकांश स्थानहरुमा २०.० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ३.७ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- साताभर पश्चिमी, वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहने संभावना छ।
- देशको हिमाली भू-भागहरुमा आंशिक देखि साधारणतया बदलीको संभावना छ। साताको शुरु र मध्यमा देशभरको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र अन्त्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको संभावना छ।
- देशको पहाडी भू-भाहरुका थोरै स्थानहरुमा साताको मध्य र अन्त्यमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको संभावना छ।
- गण्डकी प्रदेशको पहाडी भू-भागमा साताको शुरुमा एक-दुई स्थानमा हल्का वर्षा तथा मध्य र अन्त्यमा थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना छ।
- देशको तराईका भू-भागहरुमा तातो हावा तथा तातो लहरको संभावना छ।
- साताको मध्यमा तथा अन्त्यमा तराईका थोरै स्थानहरुमा हावाहुरीको संभावना छ।
- साताको शुरुमा देशका अधिकांश स्थानहरुमा अधिकतम र न्यूनतम तापक्रम हल्का बढ्ने संभावना छ।
मनसुन सिजन २०८१ (२०८१ जेठ १९ - असोज १४) को हावापानी आँकलन
- आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी वर्षा हुने संभावना ३५% देखि ५५% रहेको छ। सुदुरपश्चिम प्रदेशको उत्तर-पश्चिमी भू-भाग, बागमती प्रदेशको दक्षिण-पूर्वी भू-भाग, मधेश प्रदेशको मध्य भू-भाग र कोशी प्रदेशको मध्य तथा मध्य-पश्चिमी भूभागमा सरदर वर्षा हुने संभावना ३५% देखि ४५% रहेको छ। अधिकतम तापक्रम देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी हुने संभावना ३५% देखि ६५% रहेको छ भने कर्णाली प्रदेशको पश्चिमी भू-भाग, गण्डकी प्रदेशको मध्य भू-भाग तथा कोशी प्रदेशको उत्तर-पूर्वी भू-भागमा सरदर रहने संभावना ३५% देखि ४५% रहेको छ। त्यसैगरी न्यूनतम तापक्रम देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी हुने संभावना ३५% देखि ६५% रहेको छ भने सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको थोरै भू-भागमा सरदर रहने संभावना ३५% देखि ४५% रहेको छ।
कृषि सारांश
- विशेष गरी पश्चिमी तराईका भू-भागहरुमा तातो हावा/तातो लहरको संभावना रहेकाले खेतबारीमै गएर गर्नुपर्ने कृषि कर्महरु सकेसम्म बिहान र बेलुकाको समयमा गर्नुहोस्।
- साताको शुरुमा देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम हल्का बढ्ने तथा पानी पर्ने संभावना न्यून रहेकाले मकै, उखु, तरकारी तथा फलफूलमा सिंचाइ व्यवस्थापन कार्यलाई प्राथमिकता दिनुहोस्।
- सिंचित क्षेत्रमा सुख्खा तथा हिले छरुवा धान खेती गर्ने किसानहरुले आवश्यक वीउ, मल तथा मेशिनको व्यवस्था गर्नुहोस्।
- वर्षे धानबालीवाट राम्रो उत्पादन लिन लगाउन चाहेको ठाँउ अनुसार सिफारिस गरिएका धानका उन्नत जातहरुको बीउ भरपर्दो श्रोतबाट समयमा नै व्यवस्था गर्नुहोस्।
- आलुको पुतली (जोताहा कीरा) ले सामान्यतया भण्डारणमा असर गर्ने भएतापनि आलु खन्ने समयमा लामो समयसम्म खेतबारीमा थुपारेर राख्दा उक्त थुप्रोमा पुतलीले फुल पार्ने र भण्डारणमा असर गर्ने भएकोले खन्ने समयमा ध्यान पुर्याउनुहोस्।
- पशुवस्तुमा खोरेत, चरचरे र लम्पी स्किन रोग र भेडाबाख्रामा पि.पि.आर रोग विरुद्दको खोप स्थानीय पालिकासँग समन्वय गरी समयमा नै लगाउनुहोस्।
- ब्रोईलर कुखुराहरुमा बहुऔषधि प्रतिरोधी ई. कोलाई जिवाणुजन्य संक्रमण निकै बढेकोले १-१४ दिनसम्मका चल्लाहरुलाई, आवश्यकता अनुसार नमूनाहरुको प्रयोगशाला परिक्षण गरेर मात्र एन्टिबायोटिक औषधिहरु प्रयोग गर्नुहोस्।
- देशको तराईका भू-भागहरुमा तातो हावा तथा तापलहरको संभावना रहेकाले माछा मर्ने समस्या न्यूनीकरणका लागि एरेटरको नियमित प्रयोग गर्नुहोस् तथा पम्पको प्रयोग गरी पानीको तापक्रम स्थिर राख्नुहोस्।
- तराई र मध्यपहाडका सरकारी तथा नीजि कार्प ह्याचरीहरुमा भुरा बिक्री भैरहेको हुँदा भुराको ढुवानी बिहान वा रातीको समयमा मात्र गर्नुहोस्। यसरी ढुवानी गरिएका भुरालाई लगेर पोखरीको पानीमा प्याकेट नखोली ३० मिनेटसम्म तापक्रम अनुकूलन गराएर मात्र विस्तारै हुर्कौला पोखरीमा खन्याउनुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।