नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ४)
मौसमी सारांश:
- गत साता सबैभन्दा बढी गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा रहेको दुम्कौली केन्द्रमा ८९.३ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। कोशी प्रदेशका सम्पूर्ण तराई तथा मधेश प्रदेशका केही भू-भाग बाहेकका तराईमा ३५.0 डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको धनगढी (अत्तरिया) केन्द्रमा सबैभन्दा बढी ३७.९ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। तराईका अधिकांश स्थानहरुमा २०.० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको थाकमार्फा केन्द्रमा सबैभन्दा कम ४.९ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- साताको शुरु र मध्यमा पश्चिमी वायु, स्थानीय वायुको साथै भारतको बिहार र आसपासको क्षेत्रमा हुने न्यून चापीय प्रणालीको प्रभाव समेत रहने संभावना छ।
- साताको शुरु र मध्यमा गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थानहरु र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना छ।
- साताको अन्त्यमा पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी सहित हल्का वर्षाको संभावना छ।
- साताको शुरु र मध्यमा देशभरको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा र अन्त्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको संभावना छ।
- साताको शुरु र मध्यमा देशभरको तराई भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना छ। साताको अन्त्यमा कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी सहित हल्का वर्षाको संभावना छ।
- देशका अधिकांश स्थानहरुमा अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना छ।
- वर्षे धानबालीवाट राम्रो उत्पादन लिन आफूले लगाउन चाहेको ठाँउ अनुसार सिफारिस गरिएका धानका उन्नत जातहरुको बीउ भरपर्दो श्रोतबाट समयमा नै व्यवस्था गर्नुहोस्।
- पहाडका लागि सिफारिस गरिएका भटमासका उन्नत जातहरु (तरकारी भटमास १, लुम्ले भटमास १, सेती, पुजा र रेन्सम) राइजोबियम जीवाणुले उपचार गरी लगाउनुहोस्।
- सुन्तलाजातका फलफूल बालीमा कोत्रे रोग व्यवस्थापनको लागि रोगी हाँगाहरु काँटछाँट गरी ३ ग्राम कपर अक्सिक्लोराईड प्रति लिटर पानीको दरले सम्पूर्ण बोट भिज्नेगरी छर्केर उपचार गर्नुहोस्।
- मध्यपहाडी जिल्लाहरुमा लगाईएको आलु मौसमको अवस्था हेरी खन्नुहोस्। खनेको आलुको भण्डारण गर्दा दादे रोग लागेका र स्वस्थ आलुका दानाहरुलाई छुट्याएर भण्डारण गर्नुहोस्।
- काँक्रो, फर्सी समुहको लहरे बालीमा पाउडरी मिल्ड्युको व्यवस्थापनको लागि सल्फरयुक्त विषादी डाइनोक्याब १.५ एम.एल. प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्नेगरि ७-१० दिनको फरकमा २-३ पटक छर्कनुहोस्।
- पशुबस्तुमा खोरेत, चरचरे र लम्पी स्किन रोग र भेडाबाख्रामा पि.पि.आर रोग विरुद्द खोप लगाउनका लागि स्थानीय पालिकासँग समन्वय गरी समयमा नै खोप लगाउनुहोस्।
- खुल्लारुपमा पालिएका कुखुराहरुलाई रानीखेत रोग विरुद्ध १, ७ र १४ दिनमा बि१, एफ१ र लासोटा स्ट्रेनका खोपहरु आँखामा थोपा हाल्नुहोस् वा पानीमा खुवाउनुहोस्।
- तराईका जिल्लाहरुमा ग्रास कार्प माछाको ह्याचलिङ तथा भुरा बिक्री भैरहेको हुँदा नजिकको मत्स्य ह्याचरी केन्द्रमा सम्पर्क गर्नुहोस्।
- माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न बादल लागेको दिन र भोलिपल्ट बिहानीपख प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको एरेटरको प्रयोग गर्नुहोस्। साथै बादल लागेको समयमा दाना दिन बन्द गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।