कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ३)

मौसमी सारांश:

  • गत साता सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा रहेको डडेल्धुरा केन्द्रमा १.० मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। मधेश प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको तराईका केही स्थानहरुमा ४०.० डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा रहेको भैरहवा केन्द्रमा सबैभन्दा बढी ४२.२ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। तराईका अधिकांश स्थानहरुमा २०.० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ । कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा केन्द्रमा सबैभन्दा कम १.८ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • साताभर पश्चिमी वायू तथा स्थानीय वायूको प्रभाव रहने सम्भावना छ। 
  • साताको शुरूमा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का बर्षाको सम्भावना रहेको छ।
  • साताको मध्य तथा अन्त्यमा लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
  • साताको मध्यमा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा तथा मधेश प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा साथै साताको अन्त्यमा देशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का बर्षाको सम्भावना रहेको छ।
  • साताको शुरूमा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाहिमपातको सम्भावना रहेको छ। साताको मध्य र अन्त्यमा कोशी, बागमती र ­गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
  • साताको मध्य र अन्त्यमा देशभरका तराई तथा पहाडका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।
  • देशका अधिकांश स्थानहरूमा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको छ। साथै देशका अधिकांश स्थानहरूमा अधिकतम तापक्रम औसतको तुलनामा भने घट्ने सम्भावना रहेको छ।

 

कृषि सारांश

  • चैते धानमा पतेरो कीरा लाग्ने समय भएकोले नियमीत अनुगमन गर्नुहोस्। प्रकोप ज्यादा भएमा मालाथियन ५०% ई.सी. वा साइपरमेथ्रीन २५% ई.सी., २.० एम.एल. प्रति लिटर पानीका दरले बोट राम्ररि भिज्नेगरि साँझको समयमा छर्नुहोस्।
  • पहाडका लागि सिफारिस गरिएका भटमासका उन्नत जातहरु (तरकारी भटमास १, लुम्ले भटमास १, सेती, पुजा र रेन्सम) राइजोबियम जीवाणुले उपचार गरी लगाउनुहोस्।
  • आँपको फल कुहाउने औँसा नियन्त्रणको लागि फल गुच्चा आकारमा भएको अवस्थादेखि भाले झिँगा आकर्षण गर्न फेरोमेन ट्राप (मिथाइल युजिनोल) २-३ वटा प्रति कठ्ठा राख्नुहोस् र २० लिटर पानीमा २ के.जी. सख्खर र ५ एम.एल. स्पिनोस्याड राखी बगैँचामा छर्कनुहोस्। साथै कुहेर झरेको फललाई खाडलमा पुर्नुहोस्।
  • सुन्तलाजात फलफूलमा लाग्ने पुतलीको लार्भाहरु संकलनगरि नष्ट गर्नुहोस्। प्रकोप ज्यादा भएमा क्लोरनट्रानिलिप्रोल (Chlorantraniliprole 18.5 % SC) १ मी. ली. प्रति ३ लिटर पानीमा मिसाई साँझको समयमा छर्नुहोस्।
  • मध्यपहाडी जिल्लाहरुमा पुसको अन्तिम हप्ता तथा माघको पहिलो हप्तामा लगाईएको आलु मौसमको अवस्था हेरी खन्नुहोस्।
  • काँक्रो, फर्सी समुहको लहरे बालीमा पाउडरी मिल्ड्युको व्यवस्थापनको लागि सल्फरयुक्त विषादी डाइनोक्याब १.५ एम.एल. प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्नेगरि ७-१० दिनको फरकमा २-३ पटक छर्कनुहोस्।
  • पशुबस्तुमा खोरेत, चरचरे र लम्पी स्किन रोग र भेडाबाख्रामा पि.पि.आर रोग विरुद्द खोप लगाउनका लागि स्थानीय पालिकासँग समन्वय गरी समयमा नै खोप लगाउनुहोस्।
  • खरबारी, डालेघाँस लगाएको नर्सरी, बेर्ना सारेको बारी तथा गोठ वरिपरी आगो लाग्नबाट बचाउन २-३ मिटर चौडाईमा घाँसपात, पतिंगर हटाई अग्नि नियन्त्रण रेखा (Fire corridor) बनाउनुहोस्।
  • तराईका जिल्लाहरुमा ग्रास कार्प माछाको ह्याचलिङ तथा भुरा बिक्री भैरहेको हुँदा नजिकको मत्स्य ह्याचरी केन्द्रमा सम्पर्क गर्नुहोस्।
  • माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न बादल लागेको दिन र भोलिपल्ट बिहानीपख प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको एरेटरको प्रयोग गर्नुहोस्। साथै बादल लागेको समयमा दाना दिन बन्द गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।