नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक २)
मौसमी सारांश:
- गत साता सबैभन्दा बढी कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको ताप्लेजुङ केन्द्रमा ९.१ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानहरुमा तथा अन्य प्रदेशका तराईका एक-दुई स्थानहरुमा ४० डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा रहेको भैरहवा केन्द्रमा सबैभन्दा बढी ४१ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। मधेश प्रदेश तथा लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थान तथा सुदूरपश्चिम प्रदेशको तराईका अधिकांश स्थानहरुमा बाहेक तराईका अन्य सबै स्थानमा २५ डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम १.३ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- साताभर पश्चिमी वायू तथा स्थानीय वायूको प्रभाव रहने संभावना छ।
- साताको शुरूमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा साताको मध्य तथा अन्त्यमा एक-दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का बर्षाको संभावना छ। साथै साताभर कोशी, वागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का बर्षाको संभावना छ।
- साताभर देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना छ।
- साताको मध्यमा लुम्बिनी प्रदेशको तराईका धेरै स्थानहरूमा तथा साताभर देशभरका तराई तथा पहाडका केही स्थानहरूमा हावा-हुरीको संभावना छ।
- देशका अधिकांश स्थानहरूमा अधिकतम तापक्रम औसतको तुलनामा भने बढि नै रहने संभावना छ।
- देशका तराईका केही स्थानहरूमा तातो दिन तथा तातो लहरको निरन्तरता नै रहने संभावना छ।
- देशका अधिकांश स्थानहरुमा साताभरि नै सुख्खा मौसम रहने देखिएकोले उखु, फलफूल तथा तरकारी बालीमा माटोको चिस्यान अनुगमन गरी सिंचाइ व्यवस्थापन गर्नुहोस्।
- साताभरी नै हावाहुरीको संभावना रहेको तथा सुख्खा मौसमका कारण गहुँ, मसुरो जस्ता बाली भित्र्याउँदा आगो तथा हावाहुरीले निम्त्याउन सक्ने सम्भावित जोखिमहरु प्रति सचेत रहनुहोस्। खासगरी कम्बाईन हार्भेस्टरले गहुँ भित्र्याउने र अवशेषलाई खेतमा जलाउने प्रवृतिले वातावरण प्रदुषण हुनुका साथै वरपरको खेतमा आगो फैलँदा बाली जलेर खेर जाने हुनाले खेतमा अवशेष जलाउने कार्य बन्द गर्नुहोस्। बेलर मेसिन अथवा अन्य विधिहरुबाट छ्वाली जम्मा गर्नुहोस्।
- पहाडका लागि सिफारिस गरिएका भटमासका उन्नत जातहरु (तरकारी भटमास १, लुम्ले भटमास १, सेती, पुजा र रेन्सम) राइजोबियम जीवाणुले उपचार गरी लगाउनुहोस्।
- आँपको फल कुहाउने औँसा नियन्त्रणको लागि भाले झिँगा आकर्षण गर्न फेरोमेन ट्राप (मिथाइल युजिनोल) २-३ वटा प्रति कठ्ठा राख्नुहोस् र २० लिटर पानीमा २ के.जी. सख्खर र ५ एम.एल. स्पिनोस्याड राखी बगैँचामा छर्कनुहोस्। साथै कुहेर झरेको फललाई खाडलमा पुर्नुहोस्।
- आगामी साता देशका पहाडी तथा तराई भू-भागहरुमा हावाहुरीको संभावना रहेकोले यसवाट हुने क्षति नियन्त्रण गर्न पसाएका केराको बोटहरुलाई टेको दिनुहोस्।
- मध्यपहाडी जिल्लाहरुमा पुसको अन्तिम हप्ता तथा माघको पहिलो हप्तामा लगाईएको आलु मौसमको अवस्था हेरी खन्नु444होस्।
- काँक्रो, फर्सी समुहको लहरे बालीमा पाउडरी मिल्ड्युको व्यवस्थापनको लागि सल्फरयुक्त विषादी डाइनोक्याब १.५ एम.एल. प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्नेगरि ७-१० दिनको फरकमा २-३ पटक छर्कनुहोस्।
- प्रि-मनसुनको समयमा चट्याङ परेर पशुपन्छीमा हानी नोक्सानीका साथै मृत्यु समेत हुनसक्ने भएकोले पशु बीमा गर्नुहोस्।
- पशुवस्तुमा देखिने खोरेत, चरचरे र लम्पी स्किन रोग विरुद्धको खोप समयमै लगाउनुहोस्।
- तराईका जिल्लाहरुमा ग्रास कार्प माछाको ह्याचलिङ तथा भुरा बिक्री भैरहेको हुँदा नजिकको मत्स्य ह्याचरी केन्द्रमा सम्पर्क गर्नुहोस्।
- माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न बादल लागेको दिन र भोलिपल्ट बिहानीपख प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको एरेटरको प्रयोग गर्नुहोस्। साथै बादल लागेको समयमा दाना दिन बन्द गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।