नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक १)
मौसमी सारांश:
- साताभर पश्चिमी वायू तथा स्थानीय वायूको प्रभाव रहने संभावना छ।
- कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा साताको शुरू र मध्यमा थोरै स्थानहरूमा तथा देशका पहाडी भू-भागका एक-दुई स्थानमा साताभर मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको संभावना छ।
- साताभर देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना छ।
- लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा तथा देशका बाँकी तराई तथा पहाडी भू-भागका केही स्थानहरूमा हावाहुरीको संभावना छ।
- देशका अधिकांश स्थानहरूमा उच्चतम तापक्रम हल्का बढ्ने तथा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना छ।
- देशका अधिकांश स्थानहरुमा साताभरि नै सुख्खा मौसम रहने देखिएकोले उखु, फलफूल तथा तरकारी बालीमा माटोको चिस्यान अनुगमन गरी सिंचाइ व्यवस्थापन गर्नुहोस्।
- साताभरी नै हावाहुरीको संभावना रहेको तथा सुख्खा मौसमका कारण गहुँ, मसुरो जस्ता बाली भित्र्याउँदा आगो तथा हावाहुरीले निम्त्याउन सक्ने सम्भावित जोखिमहरु प्रति सचेत रहनुहोस्। खासगरी कम्बाईन हार्भेस्टरले गहुँ भित्र्याउने र अवशेषलाई खेतमा जलाउने प्रवृतिले वातावरण प्रदुषण हुनुका साथै वरपरको खेतमा आगो फैलँदा बाली जलेर खेर जाने हुनाले खेतमा अवशेष जलाउने कार्य बन्द गर्नुहोस्। बेलर मेसिन अथवा अन्य विधिहरुबाट छ्वाली जम्मा गर्नुहोस्।
- पहाडका लागि सिफारिस गरिएका भटमासका उन्नत जातहरु (तरकारी भटमास १, लुम्ले भटमास १, सेती, पुजा र रेन्सम) राइजोबियम जीवाणुले उपचार गरी लगाउनुहोस्।
- मुंगबालीका कल्याण, प्रतिक्षा र प्रतिज्ञा मध्ये उपलब्ध जातको बीउलाई राइजोबियम जीवाणुले उपचार गरी १-१.५ के.जी. बीउ प्रति कट्ठाका दरले छर्नुहोस्।
- आँपको फल कुहाउने औँसा नियन्त्रणको लागि भाले झिँगा आकर्षण गर्न फेरोमेन ट्राप (मिथाइल युजिनोल) २-३ वटा प्रति कठ्ठा राख्नुहोस् र २० लिटर पानीमा २ के.जी. सख्खर र ५ एम.एल. स्पिनोस्याड राखी बगैँचामा छर्कनुहोस्। साथै कुहेर झरेको फललाई खाडलमा पुर्नुहोस्।
- आगामी साता देशका पहाडी तथा तराई भू-भागहरुमा हावाहुरीको संभावना रहेकोले यसवाट हुने क्षति नियन्त्रण गर्न पसाएका केराको बोटहरुलाई टेको दिनुहोस्।
- मध्यपहाडमा माघ महिनामा लगाएको परिपक्क बीउ आलुमा हाल्म पुलिङ्ग गर्नुहोस्।
- काँक्रो, फर्सी समुहको लहरे बालीमा पाउडरी मिल्ड्युको व्यवस्थापनको लागि सल्फरयुक्त विषादी डाइनोक्याब १.५ एम.एल. प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्नेगरि ७-१० दिनको फरकमा २-३ पटक छर्कनुहोस्।
- प्रि-मनसुनको समयमा चट्याङ परेर पशुपन्छीमा हानी नोक्सानीका साथै मृत्यु समेत हुनसक्ने भएकोले पशु बीमा गर्नुहोस्।
- पशुवस्तुमा देखिने खोरेत, चरचरे र लम्पी स्किन रोग विरुद्धको खोप समयमै लगाउनुहोस्।
- टिलापिया माछाको प्रजनन समय भएको हुँदा हप्ताको कम्तिमा एकपटक प्रजनन् पोखरीको हापाका पोथी माछाहरूको मुख जाँच गर्नुहोस् र समान परिपक्वताको निषेचित अण्डाहरू एउटै इन्क्युबेटरमा कढाउनुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।
- कृषि-मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट प्रत्येक शनिबार बेलुका ६:२५ देखि ६:३५ बजेसम्म साथै नेपाल टेलिभिजनको NTV NEWS Channel बाट प्रत्येक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने गर्दछ।