कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ९, अंक ५४)

मौसमी सारांश:

  • गत साता सबैभन्दा बढी कोशी प्रदेशको ईलाम जिल्लामा रहेको कन्याम केन्द्रमा ०.४ मि.मि. वर्षा मापन भएको छ। कोशी प्रदेशका तराईका केही तथा अन्य प्रदेशका तराईका अधिकांश स्थानहरुमा ३५.0 डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा रहेको भैरहवा एयरपोर्ट केन्द्रमा सबैभन्दा बढी ३९.६ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। कोशी प्रदेशका तराईका अधिकांश स्थान तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरुमा २०.० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -२.२ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • साताभर पश्चिमी वायू तथा स्थानीय वायूको प्रभाव रहने साथै साताको मध्यमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि प्रभाव रहने संभावना छ। 
  • साताको शुरू र मध्यमा कोशी,बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित  हल्का देखि मध्यम बर्षा तथा बाँकी देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित  हल्का बर्षाको संभावना छ।
  • साताको अन्त्यमा देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित  हल्का बर्षाको संभावना छ।
  • साताभर देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै अन्त्यमा कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना छ।
  • लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको अन्त्यमा केही स्थानहरुमा साथै कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानहरुमा साताभर हावा-हुरीको संभावना छ।
  • देशका अधिकांश स्थानहरूमा उच्चतम तापक्रम र न्यूनतम तापक्रम उल्लेखनीय परिवर्तन नहुने संभावना छ। 

कृषि सारांश

 

  • साताभर पश्चिमी वायू तथा स्थानीय वायूको प्रभाव रहने साथै हावाहुरीको पनि संभावना रहेकाले काटीसकेको बालीलाई खेतमा नछोडी भित्राउनुहोस्।
  • प्रि-मनसुनको समयमा हावाहुरी आउने तथा सुक्खा मौसम रहने हुँदा गहुँ, मसुरो जस्ता बाली भित्र्याउँदा आगो तथा हावाहुरीले निम्त्याउन सक्ने सम्भावित जोखिमहरु प्रति सचेत रहनुहोस्। खासगरी कम्बाईन हार्भेस्टरले गहुँ भित्र्याउने र अवशेषलाई खेतमा जलाउने प्रवृतिले वातावरण प्रदुषण हुनुका साथै वरपरको खेतमा आगो फैलँदा बाली जलेर खेर जाने हुनाले खेतमा अवशेष जलाउने कार्य बन्द गर्नुहोस्।
  • जुम्ला लगायतका उच्च पहाडी क्षेत्रमा वर्षे धानको ब्याड राख्ने समय भएकोले लेकाली धान-१, लेकाली धान-३, चन्दननाथ-१ र चन्दननाथ-३ मध्ये उपलब्ध जातको बीउ २.५ के.जी. प्रति रोपनीका दरले ब्याड राख्नुहोस्।
  • उच्च पहाडी भागहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग ब्यबस्थापनको लागि ढुसीनासक बिषादी टिल्ट १ एम.एल. वा नाटिभो ०.५ ग्राम प्रति लिटर पानीको दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार २-३ पटकसम्म पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।  
  • पहाडका लागि सिफारिस गरिएका भटमासका उन्नत जातहरु (तरकारी भटमास १, लुम्ले भटमास १, सेती, पुजा र रेन्सम) राइजोबियम जीवाणुले उपचार गरी लगाउनुहोस्।
  • मुंगबालीका कल्याण, प्रतिक्षा र प्रतिज्ञा मध्ये उपलब्ध जातको बीउलाई राइजोबियम जीवाणुले उपचार गरी १-१.५ के.जी. बीउ प्रति कट्ठाका दरले छर्नुहोस्।
  • सुन्तलाजात फलफुल बगैँचामा सुक्ष्म खाद्यतत्वको व्यवस्थापनका लागि पालुवा आइरहेको बेला र दाना लागिसकेपछि २ पटक मल्टिप्लेक्स २.५ ग्राम प्रति लिटर पानीको दरले पात भिज्नेगरि छर्नुहोस्।
  • आँप बगैंचामा फड्के (मधुवा) कीरा लाग्ने समय भएकोले यसको नियमित अनुगमन गर्नुहोस्। कीराको अत्याधिक प्रकोप देखिएमा र वगैँचामा पराग सेचक कीरा नभएको अवस्थामा मात्रै इमिडाक्लोप्रिड १७.८ एस.एल., १ एम.एल. ३ लिटर पानीमा मिसाई बेलुकीपख छर्नुहोस्।
  • आगामी साता देशका पहाडी तथा तराई भू-भागहरुमा हावाहुरीको संभावना रहेकोले यसवाट हुने क्षति नियन्त्रण गर्न पसाएका केराको बोटहरुलाई टेको दिनुहोस्।
  • लहरे बालीमा लाग्ने शीते ढुसी रोगको व्यवस्थापनको लागि रोगग्रस्त, तल्लो र पुरानो पातहरु हटाई मेन्कोजेव वा मेटाल्याक्जिल युक्त विषादी २ ग्राम प्रति लिटर पानीको दरले पातहरु भिज्नेगरि हप्ता दिनको फरकमा २-४ पटकसम्म छर्कनुहोस्।
  • प्रि-मनसुनको समयमा चट्याङ परेर पशुपन्छीमा हानी नोक्सानीका साथै मृत्यु समेत हुनसक्ने भएकोले पशु बीमा गर्नुहोस्।
  • लामखुट्टे र झिँगाको टोकाईबाट लम्पी स्किन रोग सर्न सक्ने हुँदा रोकथामको लागि पालिकासँग समन्वय गरी रोग विरुद्धको खोप समयमै लगाउनुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।
  • कृषि-मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट प्रत्येक शनिबार बेलुका ६:२५ देखि ६:३५ बजेसम्म साथै नेपाल टेलिभिजनको NTV NEWS Channel बाट प्रत्येक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने गर्दछ।