कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ९, अंक ५३)

मौसमी सारांश:

  • गत साता सबैभन्दा बढी गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको लेते केन्द्रमा ४२.२ मि.मि. वर्षा मापन भएको छ। लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरुमा ३५ डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा रहेको भैरहवा एयरपोर्ट केन्द्रमा सबैभन्दा बढी ३६ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा २० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ०.६ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • साताको शुरूमा पश्चिमी वायू तथा साताभर स्थानीय वायूको प्रभाव रहने संभावना छ।
  • साताको शुरूमा कर्णाली, सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा, बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ साथै मध्य र अन्त्यमा देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना छ।
  • साताको शुरूमा गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षा तथा बाँकी देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का बर्षाको संभावना छ।
  • साताको मध्य र अन्त्यमा देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का बर्षाको संभावना छ।
  • बागमती, गण्डकी लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानहरुमा साताभर हावाहुरीको संभावना छ।
  • देशका अधिकांश स्थानहरूमा उच्चतम तापक्रम र न्यूनतम तापक्रम हल्का बढ्ने संभावना छ।
  • पुर्वी तराईको तुलनामा मध्य र पश्चिम तराईमा उच्चतम तापक्रम अलि बढ्ने संभावना छ।

कृषि सारांश

  • जुम्ला लगायतका उच्च पहाडी क्षेत्रमा वर्षे धानको ब्याड राख्ने समय भएकोले लेकाली धान-१, लेकाली धान-३, चन्दननाथ-१ र चन्दननाथ-३ मध्ये उपलब्ध जातको बीउ २.५ के.जी. प्रति रोपनीका दरले ब्याड राख्नुहोस्।
  • देशका पहाडी भागहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग ब्यबस्थापनको लागि ढुसीनासक बिषादी टिल्ट १ एम.एल. वा नाटिभो ०.५ ग्राम प्रति लिटर पानीको दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार २-३ पटकसम्म पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।  
  • मुंगबालीका कल्याण, प्रतिक्षा र प्रतिज्ञा मध्ये उपलब्ध जातको बीउलाई राइजोबियम जीवाणुले उपचार गरी १-१.५ के.जी. बीउ प्रति कट्ठाका दरले छर्नुहोस्।
  • सुन्तलाजात फलफुल बगैँचामा सुक्ष्म खाद्यतत्वको व्यवस्थापनका लागि पालुवा आइरहेको बेला र दाना लागिसकेपछि २ पटक मल्टिप्लेक्स २.५ ग्राम प्रति लिटर पानीको दरले पात भिज्नेगरि छर्नुहोस्।
  • आँप बगैंचामा फड्के (मधुवा) कीरा लाग्ने समय भएकोले यसको नियमित अनुगमन गर्नुहोस्। कीराको अत्याधिक प्रकोप देखिएमा र वगैँचामा पराग सेचक कीरा नभएको अवस्थामा मात्रै इमिडाक्लोप्रिड १७.८ एस.एल., १ एम.एल. ३ लिटर पानीमा मिसाई बेलुकीपख छर्नुहोस्।
  • यस साता देशका पहाडी तथा तराई भू-भागहरुमा हावाहुरीको संभावना रहेकोले यसवाट हुने क्षति नियन्त्रण गर्न पसाएका केराको बोटहरुलाई टेको दिनुहोस्।
  • केरा बगैँचामा केराको बोट ओईल्याउने रोग (पानामा) को खतरनाक प्रजाति टिआर ४ देखिएकोले केरा लगाउँदा सकेसम्म तन्तु प्रजनन प्रविधिबाट प्रसारित, रोग रहित स्वस्थ विरुवा लगाउनुहोस्। यो रोग माटो, पानी, कृषि औजार उपकरण र संक्रमित बिरुवा एवं बिरुवाजन्य वस्तुहरुबाट फैलन सक्ने भएकाले शंकास्पद केरा बारीमा जाँदा जुत्ता, चप्पललाई सुज कभर वा प्लास्टिकले ढाकेर मात्र जाने र केरा बारीबाट निस्कनुपूर्व सुरक्षित रुपमा व्यवस्थापन गर्नुहोस्।
  • प्याजको शीते ढुसी रोगको अनुगमन गर्नुहोस्।
  • प्रि-मनसुनको समयमा चट्याङ परेर पशुपन्छीमा हानी नोक्सानीका साथै मृत्यु समेत हुनसक्ने भएकोले पशु बीमा गर्नुहोस्।
  • तापक्रम बढेसँगै लामखुट्टे र झिँगाको टोकाईबाट लम्पी स्किन रोग सर्न सक्ने हुँदा रोकथामको लागि पालिकासँग समन्वय गरी यो रोग विरुद्धको खोप समयमै लगाउनुहोस्।
  • तराईका जिल्लाहरुमा ग्रास कार्प माछाको प्रजनन् समय भएको हुँदा माउ माछा प्रति हप्ता माउ पोखरीबाट परिपक्‍क भाले र पोथी माउ छनौट गरी करिव २४ घण्टा होल्डिङ ट्यांकीमा अनुकूलन गरी प्रजनन् गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।
  • कृषि-मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट प्रत्येक शनिबार बेलुका ६:२५ देखि ६:३५ बजेसम्म साथै नेपाल टेलिभिजनको NTV NEWS Channel बाट प्रत्येक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने गर्दछ।