कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ९, अंक ५२)

मौसमी सारांश:

  • गत साता सबैभन्दा बढी गण्डकी प्रदेशको तनहुँ जिल्लामा रहेको खैरेनीटार केन्द्रमा १६४.८ मि.मि. वर्षा मापन भएको छ। मधेश प्रदेशका केही तथा लुम्बिनी प्रदेशको तराईका धेरै र सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानहरुमा ३०.0 डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको रौतहट जिल्लामा रहेको गौर केन्द्रमा सबैभन्दा बढी ३३.५ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। तराईका अधिकांश स्थानहरुमा १५.० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको थाकमार्फा केन्द्रमा सबैभन्दा कम २.६ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • साताको शुरूमा पश्चिमी वायू तथा साताभर स्थानीय वायूको प्रभाव रहने संभावना छ। 
  • साताको शुरूमा कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित  हल्का देखि मध्यम बर्षाको संभावना छ।
  • साताको शुरूमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको संभावना छ।
  • साताको मध्य तथा अन्त्यमा देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का बर्षाको संभावना छ।
  • देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना छ।
  • लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा साताभर हावा-हुरीको संभावना छ। मधेश प्रदेश सहित कोशी र बागमती प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा साताको मध्य र अन्त्यमा हावा-हुरीको संभावना छ।
  • देशका अधिकांश स्थानहरूमा उच्चतम तापक्रम र न्यूनतम तापक्रम हल्का बढ्ने संभावना छ। 
  • देशको पूर्वी तथा मध्य भू-भागमा औसत वर्षा हुने तर पश्चिमी भू-भागमा औसतको तुलनामा कम वर्षा हुने संभावना छ। 

कृषि सारांश

  • रोपेको धानबालीमा झारपात ब्यवस्थापनको लागी ब्यूटाक्लोर २.० के.जी. प्रति रोपनी वा ०.६ के.जी. प्रति कट्ठाको दरले धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा प्रयोग गर्नुहोस् अथवा प्रेटिलाक्लोर २५ लिटरमा पानीमा ५० एम.एल. को दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ३४ एम.एल.को दरले एक कट्ठामा धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फेन नोजलको सहायताले स्प्रे गर्नुहोस्।
  • देशका पहाडी भागहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग देखापरेको हुनाले ब्यबस्थापनको लागि ढुसीनासक बिषादी टिल्ट १ एम.एल. वा नाटिभो ०.५ ग्राम प्रति लिटर पानीको दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार २-३ पटकसम्म पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।  
  • मुंग लगाउनु हुने कृषकहरुले कल्याण, प्रतिक्षा र प्रतिज्ञा मध्ये उपलब्ध जातको बीउलाई राइजोबियम जीवाणुले उपचार गरी १-१.५ के.जी. बीउ प्रति कट्ठाका दरले छर्नुहोस्।
  • आँप बगैंचामा फड्के (मधुवा) कीरा लाग्ने समय भएकोले यसको नियमित अनुगमन गर्नुहोस्। कीराको अत्याधिक प्रकोप देखिएमा र वगैँचामा पराग सेचक कीरा नभएको अवस्थामा मात्रै इमिडाक्लोप्रिड १७.८ एस.एल., १ एम.एल. ३ लिटर पानीमा मिसाई बेलुकीपख छर्नुहोस्।
  • यस साता देशका पहाडी तथा तराई भू-भागहरुमा हावाहुरीको संभावना रहेकोले यसवाट हुने क्षति नियन्त्रण गर्न पसाएका केराको बोटहरुलाई टेको दिनुहोस्।
  • केरा बगैँचामा केराको बोट ओईल्याउने रोग (पानामा) को खतरनाक प्रजाति टिआर ४ देखिएकोले केरा लगाउँदा सकेसम्म तन्तु प्रजनन प्रविधिबाट प्रसारित, रोग रहित स्वस्थ विरुवा लगाउनुहोस्। यो रोग माटो, पानी, कृषि औजार उपकरण र संक्रमित बिरुवा एवं बिरुवाजन्य वस्तुहरुबाट फैलन सक्ने भएकाले शंकास्पद केरा बारीमा जाँदा जुत्ता, चप्पललाई सुज कभर वा प्लास्टिकले ढाकेर मात्र जाने र केरा बारीबाट निस्कनुपूर्व सुरक्षित रुपमा व्यवस्थापन गर्नुहोस्।
  • प्रि-मनसुनको समयमा चट्याङ परेर पशुपन्छीमा हानी नोक्सानीका साथै मृत्यु समेत हुनसक्ने भएकोले समयमै पशु बीमा गर्नुहोस्।
  • विगत केही वर्षदेखि यो समयमा पन्छीहरुमा बर्डफ्लूको संक्रमण देखिने गरेको हुँदा संभावित जोखिम न्यूनीकरणका लागि फार्ममा जैविक सुरक्षा अपनाउनुहोस्।
  • तराईका जिल्लाहरुमा ग्रास कार्प माछाको प्रजनन् समय भएको हुँदा माउ माछा प्रति हप्ता माउ पोखरीबाट परिपक्‍क भाले र पोथी माउ छनौट गरी करिव २४ घण्टा होल्डिङ ट्यांकीमा अनुकूलन गरी प्रजनन् गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।
  • कृषि-मौसम सल्लाह बुलेटिन नेपाल टेलिभिजनको NTV NEWS Channel बाट प्रत्येक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने गर्दछ। यसको पुन: प्रसारण आईतबार बिहान ७ बजेको समाचारपछि पनि हेर्न सकिन्छ।
  • कृषि-मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट प्रत्येक शनिबार बेलुका ६:२५ देखि ६:३५ बजेसम्म प्रसारण हुने गर्दछ।