कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ९, अंक ५१)

मौसमी सारांश:

  • गत साता सबैभन्दा बढी कोशी प्रदेशको धनकुटा जिल्लामा रहेको पाख्रीवास केन्द्रमा ५९.४ मि.मि. वर्षा मापन भएको छ। तराईका अधिकांश स्थानहरुमा ३०.0 डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको धनुषा जिल्लामा रहेको जनकपुर केन्द्रमा सबैभन्दा बढी ३४.७ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। हिमाली क्षेत्रका एक-दुई स्थानहरुमा शुन्य डि.से. भन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ। कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा केन्द्रमा सबैभन्दा कम -१.८ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • साताभर पश्चिमी वायू तथा स्थानीय वायूको प्रभाव रहने संभावना छ। 
  • कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षाको संभावना छ।
  • बागमती प्रदेशको पहाडी भू-भागमा साताको शुरु र अन्त्यमा थोरै तथा मध्यमा एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना छ।  
  • देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना छ।
  • लुम्बिनी प्रदेश अधिकांश भू-भाग तथा र मधेश प्रदेशको थोरै स्थानहरुमा हावा-हुरीको संभावना छ।
  • देशका अधिकांश स्थानहरूमा उच्चतम तापक्रम र न्यूनतम तापक्रम हल्का बढ्ने संभावना छ। 
  • देशको पूर्वी भू-भागमा औसतको तुलनामा वर्षा वढी हुने संभावना छ।

कृषि सारांश

  • चैते धान रोप्ने जग्गामा नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस मात्रा अनुसारको मलखाद प्रयोग गरी बेर्ना रोप्नुहोस्।
  • रोपेको धानबालीमा झारपात ब्यवस्थापनको लागी ब्यूटाक्लोर २.० के.जी. प्रति रोपनी वा ०.६ के.जी. प्रति कट्ठाको दरले धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा प्रयोग गर्नुहोस् अथवा प्रेटिलाक्लोर २५ लिटरमा पानीमा ५० एम.एल. को दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ३४ एम.एल.को दरले एक कट्ठामा धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फेन नोजलको सहायताले स्प्रे गर्नुहोस्।
  • देशका पहाडी भागहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग देखापरेको हुनाले ब्यबस्थापनको लागि ढुसीनासक बिषादी टिल्ट १ एम.एल. वा नाटिभो ०.५ ग्राम प्रति लिटर पानीको दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार २-३ पटकसम्म पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।  
  • केरा बगैँचामा केराको बोट ओईल्याउने रोग (पानामा) को खतरनाक प्रजाति टिआर ४ देखिएकोले केरा लगाउँदा सकेसम्म तन्तु प्रजनन प्रविधिबाट प्रसारित, रोग रहित स्वस्थ विरुवा लगाउनुहोस्। यो रोग माटो, पानी, कृषि औजार उपकरण र संक्रमित बिरुवा एवं बिरुवाजन्य वस्तुहरुबाट फैलन सक्ने भएकाले शंकास्पद केरा बारीमा जाँदा जुत्ता, चप्पललाई सुज कभर वा प्लास्टिकले ढाकेर मात्र जाने र केरा बारीबाट निस्कनुपूर्व सुरक्षित रुपमा व्यवस्थापन गर्नुहोस्।
  • आँपको बगैंचामा मधुवा लाग्ने समय भएकोले यसको नियमित अनुगमन गर्नुहोस्। यो कीराको अत्याधिक प्रकोप देखिएमा इमिडाक्लोप्रिड १७.८ एस.एल., १ एम.एल. ३ लिटर पानीमा मिसाई बेलुकीपख छर्नुहोस्।
  • काँक्रो, फर्सी समुहको लहरे बालीमा रातो खपटे कीराका लार्भाहरु जमीनको सतह भन्दा अलिकति मुनी बस्ने भएकोले समय-समयमा गोडमेल गर्नुहोस्। कीराले विहान र बेलुका नोक्सानी पुर्याउने भएकोले सम्भव भएसम्म टिपेर नष्ट गर्नुहोस्। प्रकोप धेरै भएमा साँझपख साईपरमेथ्रिन (१०% ई.सी.) २ एम.एल. प्रति लिटर पानीमा मिसाएर माटो र बोट भिज्नेगरि छर्नुहोस्।
  • जुकेनी फर्सी (स्क्वास), काँक्रो, करेला, घिरौँला, लौका तथा मुन्टा खाने फर्सीको लागि सिफारिस गरे बमोजिमको दूरीमा खाल्डा खनी राम्रोसँग पाकेको गोबर मल ५ के.जी., हड्डीको धुलो १०० ग्राम, पीना १०० ग्राम, डि.ए.पी. ४० ग्राम, पोटास ४० ग्राम र बायोजाईम, जिङ्क, र बोरेक्स ३/३ ग्रामका दरले माटोमा मिसाई विरुवा लगाउनुहोस्।
  • खुल्लारुपमा पालिएका हाँस, कुखुराहरुलाई जूकाको औषधी खुवाएको तीन महिना भन्दा बढी भएको भए अल्बेन्डाजोल १० एम.जी. प्रति के.जी. शारीरिक तौलको दरले एक मात्रा खुवाउनुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।
  • कृषि-मौसम सल्लाह बुलेटिन नेपाल टेलिभिजनको NTV NEWS Channel बाट प्रत्येक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने गर्दछ। यसको पुन: प्रसारण आईतबार बिहान ७ बजेको समाचारपछि पनि हेर्न सकिन्छ।
  • कृषि-मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट प्रत्येक शनिबार बेलुका ६:२५ देखि ६:३५ बजेसम्म प्रसारण हुने गर्दछ।