![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ९, अंक ५०)
मौसमी सारांश:
- गत साता सबैभन्दा बढी गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको लेते केन्द्रमा ८.८ मि.मि. वर्षा मापन भएको छ। कोशी प्रदेशको तराई तथा मधेश प्रदेशको अधिकांश स्थानहरुमा र बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थानहरुमा ३०.0 डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने कोशी प्रदेशको सुनसरी जिल्लामा रहेको चतारा केन्द्रमा सबैभन्दा बढी ३२.२ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। हिमाली क्षेत्रका एक-दुई स्थानहरुमा शुन्य डि.से. भन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -३.७ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
- साताभर पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहने संभावना छ।
- गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटफुटदेखि हल्का वर्षाको संभावना छ। साथै कोशी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको संभावना छ।
- कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना छ।
- कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका एक-दुई स्थानमा साताको शुरू तथा अन्त्यमा हावाहुरीको संभावना छ।
- देशका अधिकांश स्थानहरूमा उच्चतम तापक्रम र न्यूनतम तापक्रम हल्का बढ्ने संभावना छ।
- औसतको तुलनामा वर्षा कम हुने तथा उच्चतम तथा न्यूनतम दुबै तापक्रम बढी हुने संभावना छ।
कृषि सारांश
- आगामी साता सबै प्रदेशहरुमा अधिकतम र न्यूनतम तापक्रम बढ्दै जाने देखिएको तथा बाली-बागवानीलाई पुग्नेगरी पानी पर्ने संभावना पनि नदेखिएकाले गहुँ, फलफूल तथा तरकारी बालीहरुमा माटोको चिस्यानको अवस्था हेरी सिंचाई गर्नुहोस्।
- चैते धान रोप्ने जग्गामा नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस मात्रा अनुसारको मलखाद प्रयोग गरी बेर्ना रोप्नुहोस्।
- रोपेको धानबालीमा झारपात ब्यवस्थापनको लागी ब्यूटाक्लोर २.० के.जी. प्रति रोपनी वा ०.६ के.जी. प्रति कट्ठाको दरले धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा प्रयोग गर्नुहोस् अथवा प्रेटिलाक्लोर २५ लिटरमा पानीमा ५० एम.एल. को दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ३४ एम.एल.को दरले एक कट्ठामा धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फेन नोजलको सहायताले स्प्रे गर्नुहोस्।
- देशका पहाडी भागहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग देखापरेको हुनाले ब्यबस्थापनको लागि ढुसीनासक बिषादी टिल्ट १ एम.एल. वा नाटिभो ०.५ ग्राम प्रति लिटर पानीको दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार २-३ पटकसम्म पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
- केरा बगैँचामा केराको बोट ओईल्याउने रोग (पानामा) को खतरनाक प्रजाति टिआर ४ देखिएकोले केरा लगाउँदा सकेसम्म तन्तु प्रजनन प्रविधिबाट प्रसारित, रोग रहित स्वस्थ विरुवा लगाउनुहोस्। यो रोग माटो, पानी, कृषि औजार उपकरण र संक्रमित बिरुवा एवं बिरुवाजन्य वस्तुहरुबाट फैलन सक्ने भएकाले शंकास्पद केरा बारीमा जाँदा जुत्ता, चप्पललाई सुज कभर वा प्लास्टिकले ढाकेर मात्र जाने र केरा बारीबाट निस्कनुपूर्व सुरक्षित रुपमा व्यवस्थापन गर्नुहोस्।
- जुकेनी फर्सी (स्क्वास), काँक्रो, करेला, घिरौँला, लौका तथा मुन्टा खाने फर्सीको लागि सिफारिस गरे बमोजिमको दूरीमा खाल्डा खनी राम्रोसँग पाकेको गोबर मल ५ के.जी., हड्डीको धुलो १०० ग्राम, पीना १०० ग्राम, डि.ए.पी. ४० ग्राम, पोटास ४० ग्राम र बायोजाईम, जिङ्क, र बोरेक्स ३/३ ग्रामका दरले माटोमा मिसाई विरुवा लगाउनुहोस्।
- खुल्लारुपमा पालिएका हाँस, कुखुराहरुलाई जूकाको औषधी खुवाएको तीन महिना भन्दा बढी भएको भए अल्बेन्डाजोल १० एम.जी. प्रति के.जी. शारीरिक तौलको दरले एक मात्रा खुवाउनुहोस्।
- तराईका जिल्लाहरुमा कमन कार्प जातका माछाका ह्याचलिङ्ग तथा भुरा बिक्री वितरण शुरु भईसकेको हुँदा मत्स्यपालन गर्ने कृषकहरुले नजिकैको सरकारी/नीजि ह्याचरीहरुमा सम्पर्क गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।
- कृषि-मौसम सल्लाह बुलेटिन नेपाल टेलिभिजनको NTV NEWS Channel बाट प्रत्येक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने गर्दछ। यसको पुन: प्रसारण आईतबार बिहान ७ बजेको समाचारपछि पनि हेर्न सकिन्छ।
- कृषि-मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट प्रत्येक शनिबार बेलुका ६:२५ देखि ६:३५ बजेसम्म प्रसारण हुने गर्दछ।