नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ९, अंक ४९)
मौसमी सारांश:
- गत साता सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा रहेको गोठालापानी केन्द्रमा ५८.६ मि.मि. वर्षा मापन भएको छ। तराईका अधिकांश स्थानहरुमा २५ डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने कोशी प्रदेशको सुनसरी जिल्लामा रहेको चतारा केन्द्रमा सबैभन्दा बढी ३०.५ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। हिमाली क्षेत्रका केही स्थानहरुमा शुन्य डि.से. भन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -५.१ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
- साताको मध्य र अन्त्यमा पश्चिमी वायूको आंशिक प्रभाव रहने संभावना छ।
- साताको मध्य र अन्त्यमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटफुट देखि हल्का वर्षाको संभावना छ।
- साताको शुरूमा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा तथा साताको मध्य र अन्त्यमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना छ।
- देशका अधिकांश स्थानहरूमा उच्चतम तापक्रम र न्यूनतम तापक्रम बढ्ने संभावना छ।
कृषि सारांश
- चैते धान रोप्ने जग्गामा नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस मात्रा अनुसारको मलखाद प्रयोग गरी बेर्ना रोप्नुहोस्।
- देशका पहाडी भागहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग देखापरेको हुनाले ब्यबस्थापनको लागि ढुसीनासक बिषादी टिल्ट १ एम.एल. वा नाटिभो ०.५ ग्राम प्रति लिटर पानीको दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार २-३ पटकसम्म पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
- आगामी साता अधिकांश प्रदेशमा अधिकतम तापक्रम बढ्दै जाने देखिएको र साताको शुरु र मध्यमा वर्षाको संभावना पनि नभएकाले सिंचाईको सुविधा भएको आँप, लिची लगायतका फलफुल बगैचामा माटोको चिस्यान अनुगमन गरी आवश्यकता अनुसार सिंचाई व्यवस्थापन गर्नुहोस्।
- यस समयमा फूल फुल्ने फलफूलहरु जस्तैः कागती, लिची, आँप बालीहरुमा मौरी तथा अन्य कीराहरुले पराग-सेचन प्रक्रिया गर्ने भएकोले यिनीहरुको भ्रमणलाई प्रोत्साहन गर्न बिषादी नछर्कनुहोस्।
- उच्च पहाडमा फागुनमा गरिने आलु खेतीका लागि कुफ्रिज्योति, खुमल लक्ष्मी, खुमल सेतो-१, खुमल उज्वल जातहरूको राम्ररी टुसाएको वीउहरु रोप्नुहोस।
- लसुन र प्याजको, प्याजी डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरि रोगी पातहरु हटाई खाल्डो खनेर पुर्नुहोस्। रोगको अवस्था हेरी ७ दिनको फरकमा साफ वा क्लोरोथालोनिल जस्ता बिषादीहरु २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरु भिज्नेगरि ३-४ पटकसम्म छर्केर उपचार गर्नुहोस्।
- गोलभेँडा तथा आलुबालीमा पछौटे डढुवा रोगको व्यवस्थापनका लागि मेन्कोजेब ५०% डब्लु.जी. (२.५ ग्राम प्रति लिटर) वा डाइमेथोमोर्फ ५०% डब्लु.पी. १.५ ग्राम प्रतिलिटर पानीमा मिसाएर बोटको सम्पुर्ण भाग भिज्नेगरी अपरान्हपछि छर्कनुहोस्।
- उखुको बीउलाई रोप्नु भन्दा पहिले कार्बेन्डाजिमयुक्त विषादी २ ग्राम प्रतिलिटर पानीमा घोल बनाई १५-२० मिनेट डुवाएर उपचार गर्नुहोस्।
- मौरी घारमा रोग, सुलसुले र रानु भए नभएको नियमित अवलोकन गर्नुहोस्। हाल मौरीको लागि उपयुक्त मौसम भएकोले घारको नियमित निरीक्षण गरी आधार चाकाहरु साथै सुपर (तल्ला) थप्ने व्यवस्था गर्नुहोस्। साथै घारको संख्या बढाउनु छ भने रानुको उपयुक्त व्यवस्था गरि मौरी गोला विभाजन गर्नुहोस्।
- सुंगुर/बंगुरहरुमा अफ्रिकन स्वाईन फिभर भाईरसको संक्रमण पुष्टि भएको अवस्थामा जैविक सुरक्षामा विशेष ध्यान दिनुहोस्।
- तराईका जिल्लाहरुमा कमन कार्प माछाको प्रजनन् समय भएको हुँदा हप्ता दिनको अन्तरमा तयार माउ छनौट गरी काकाबनयुक्त प्रजनन पोखरीमा सेट राख्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।