कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ९, अंक ४८)

मौसमी सारांश:

  • गत साता सबैभन्दा बढी बागमती प्रदेशको काभ्रे जिल्लामा रहेको धुलिखेल केन्द्रमा १९.० मि.मि. वर्षा मापन भएको छ। तराईका अधिकांश स्थानहरुमा २५.0 डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको धनुषा जिल्लामा रहेको जनकपुर केन्द्रमा सबैभन्दा बढी २८.६ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। हिमाली क्षेत्रका केही स्थानहरुमा शुन्य डि.से. भन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -७.३ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • साताको शुरू र मध्यमा पश्चिमी वायुको साधारण प्रभाव रहने संभावना छ। 
  • साताको शुरू र मध्यमा सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशलुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम बर्षाको साथै बागमती प्रदेशको तराई र कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटफुटदेखि हल्का बर्षाको संभावना रहेको छ।
  • साताको शुरू र मध्यमा सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशगण्डकी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ।
  • सोमबारदेखि सुदूरपश्चिम प्रदेशबाट मौसममा क्रमिकरुपमा सुधार हुँदै जानेछ।
  • तराई भू-भागका एक-दुई स्थानमा बिहानपख हल्का हुस्सुको संभावना रहेको छ।
  • देशका अधिकांश स्थानहरूमा उच्चतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने तर न्यूनतम तापक्रम हल्का बढ्ने संभावना रहेको छ। 

कृषि सारांश

  • साताको शुरू र मध्यमा पश्चिमी वायुको प्रभाव रहने संभावना भएकाले कृषि कर्महरु गर्दा विशेष ध्यान दिनुहोस्। 
  • देशका पहाडी भागहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग देखापरेको हुनाले ब्यबस्थापनको लागि ढुसीनासक बिषादी टिल्ट १ एम.एल. वा नाटिभो ०.५ ग्राम प्रति लिटर पानीको दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार २-३ पटकसम्म पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।  
  • तराई, भित्री मधेश र पहाडका बेँसीहरु (७०० मिटरसम्म) का लागि सिफारिस गरिएका चैते धानका हर्दिनाथ-१, चैते-२, चैते-४, चैते-५ र चैते-६ जातहरु मध्ये उपलब्ध जातका बीउ १.५ के.जी. प्रति कठ्ठा वा २.२५ के.जी. प्रति रोपनीका दरले ब्याड राख्नुहोस्।
  • वसन्ते मकैका सिफारिस जातहरु अरुण-३, अरुण-४, अरुण-६, रामपुर हाईब्रिड-८ र रामपुर हाईब्रिड-१० रोप्नुहोस्।
  • ऊखुको बीउलाई रोप्नु भन्दा पहिले कार्बेन्डाजिमयुक्त विषादि २ ग्राम प्रतिलिटर पानीमा घोल बनाई १५-२० मिनेट डुवाएर उपचार गर्नुहोस्। 
  • लसुन र प्याजको, प्याजी डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरि रोगी पातहरु हटाई खाल्डो खनेर पुर्नुहोस्। रोगको अवस्था हेरि ७ दिनको फरकमा साफ वा क्लोरोथालोनिल जस्ता बिषादीहरु २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरु भिज्नेगरि ३-४ पटकसम्म छर्केर उपचार गर्नुहोस्। 
  • गोलभेँडा तथा आलुबालीमा पछौटे डढुवा रोगको व्यवस्थापनका लागि मेन्कोजेब ५०% डब्लु.जी. (२.५ ग्राम प्रति लिटर) वा डाइमेथोमोर्फ ५०% डब्लु.पी. १.५ ग्राम प्रतिलिटर पानीमा मिसाएर बोटको सम्पुर्ण भाग भिज्नेगरी अपरान्हपछि छर्कनुहोस्।
  • यस समयमा फूल फुल्ने फलफुलहरु जस्तैः कागती, लिची, आँप बालीहरुमा मौरी तथा अन्य कीराहरुले पराग-सेचन प्रक्रिया गर्ने भएकोले यिनीहरुको भ्रमणलाई प्रोत्साहन गर्न बिषादी नछर्कनुहोस्।
  • तराई, भित्री मधेश तथा बेँसीमा परिपक्व भईसकेको आलुबाली मौसमको अवस्था हेरी खन्नुहोस्।
  • भेडा बाख्रामा पि.पि.आर रोग विरुद्द खोप लगाउनका लागि स्थानिय पालिका संग समन्वय गरी समयमा नै खोप लगाउनुहोस्।
  • हाल काठमाडौं लगायत नेपालका केही स्थानहरुका सुंगुर/बंगुरहरुमा अफ्रिकन स्वाईन फिभर भाईरसको संक्रमण पुष्टि भएको अवस्थामा जैविक सुरक्षामा विशेष ध्यान दिनुहोस्।
  • तराईका जिल्लाहरुमा कमन कार्प माछाको प्रजनन् समय भएको हुँदा हप्ता दिनको अन्तरमा तयार माउ छनौट गरी काकाबनयुक्त प्रजनन् पोखरीमा सेट राख्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।
  • कृषि-मौसम सल्लाह बुलेटिन नेपाल टेलिभिजनको NTV NEWS Channel बाट प्रत्येक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने गर्दछ। यसको पुन: प्रसारण आईतबार बिहान ७ बजेको समाचारपछि पनि हेर्न सकिन्छ।
  • कृषि-मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट प्रत्येक शनिबार बेलुका ६:२५ देखि ६:३५ बजेसम्म प्रसारण हुने गर्दछ।