नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ९, अंक ४७)
मौसमी सारांश:
- गत साता सबैभन्दा बढी कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा केन्द्रमा ३६.५ मि.मि. वर्षा मापन भएको छ। तराईका अधिकांश स्थानहरुमा २५ डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको धनुषा जिल्लामा रहेको जनकपुर केन्द्रमा सबैभन्दा बढी २९.०४ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। हिमाली क्षेत्रका केही स्थानहरुमा शुन्य डि.से. भन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -४.५ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
- साताको शुरू र अन्त्यमा पश्चिमी वायुको आंशिक प्रभाव तथा मध्यमा साधारण प्रभाव रहने संभावना छ।
- कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साताको मध्यमा थोरै स्थानहरुमा तथा शुरु र अन्त्यमा एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा/हिमपात संभावना छ।
- बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साताको मध्यमा एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको संभावना छ।
- कोशी प्रदेशको हिमाली भू-भागमा साताको शुरु र अन्त्यमा थोरै स्थानहरुमा तथा मध्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको संभावना छ।
- गण्डकी प्रदेशको हिमाली भू-भागमा साताको शुरू र अन्त्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपात तथा मध्यमा थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको संभावना छ।
- कोशी र बागमती प्रदेशको हिमाली भू-भागमा साताको शुरु र मध्यमा एक-दुई स्थानमा हल्का हिमपात तथा अन्त्यमा थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपात छ।
- सातामा तराई भू-भागका थोरै स्थानहरूमा हल्का हुस्सु/हल्का कुहिरो लाग्ने तर उक्त हुस्सु/कुहिरो मध्यान्हसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने संभावना छ।
- देशका अधिकांश स्थानहरूमा उच्चतम तापक्रम तथा न्यूनतम तापक्रम हल्का बढ्ने संभावना छ।
कृषि सारांश
- देशका पहाडी भागहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग देखापरेको हुनाले ब्यबस्थापनको लागि ढुसीनासक बिषादी टिल्ट १ एम.एल. वा नाटिभो ०.५ ग्राम प्रति लिटर पानीको दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार २-३ पटकसम्म पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
- तराई, भित्री मधेश र पहाडका बेँसीहरु (७०० मिटरसम्म) का लागि सिफारिस गरिएका चैते धानका हर्दिनाथ-१, चैते-२, चैते-४, चैते-५ र चैते-६ जातहरु मध्ये उपलब्ध जातका बीउ १.५ के.जी. प्रति कठ्ठा वा २.२५ के.जी. प्रति रोपनीका दरले ब्याड राख्नुहोस्।
- वसन्ते मकैका सिफारिस जातहरु अरुण-३, अरुण-४, अरुण-६, रामपुर हाईब्रिड-८ र रामपुर हाईब्रिड-१० रोप्नुहोस्।
- लसुन र प्याजको, प्याजी डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरि रोगी पातहरु हटाई खाल्डो खनेर पुर्नुहोस्। रोगको अवस्था हेरि ७ दिनको फरकमा साफ वा क्लोरोथालोनिल जस्ता बिषादीहरु २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरु भिज्नेगरि ३-४ पटकसम्म छर्केर उपचार गर्नुहोस्।
- यस साता तराईका जिल्लाहरुमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने हुनाले गोलभेँडा तथा आलुबालीमा पछौटे डढुवा रोगको व्यवस्थापनका लागि फेनामिडोन १०% + मेन्कोजेब ५०% डब्लु.जी. वा डाइमेथोमोर्फ ५०% डब्लु.पी. १.५ ग्राम प्रतिलिटर पानीमा मिसाएर बोटको सम्पुर्ण भाग भिज्नेगरी अपरान्हपछि छर्कनुहोस्।
- तराई, भित्री मधेश तथा बेँसीमा परिपक्व भईसकेको आलुबाली मौसमको अवस्था हेरी खन्नुहोस्।
- हाल काठमाडौं लगायत नेपालका केही स्थानहरुका सुंगुर/बंगुरहरुमा अफ्रिकन स्वाईन फिभर भाईरसको संक्रमण पुष्टि भएको अवस्थामा जैविक सुरक्षामा विशेष ध्यान दिनुहोस्।
- तराईका जिल्लाहरुमा कमन कार्प माछाको प्रजनन् समय भएको हुँदा हप्ता दिनको अन्तरमा तयार माउ छनौट गरी काकाबनयुक्त प्रजनन् पोखरीमा सेट राख्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।