नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ९, अंक ४६)
मौसमी सारांश:
- गत साता सबैभन्दा बढी लुम्बिनी प्रदेशको रोल्पा जिल्लामा रहेको लिबाङ केन्द्रमा ३.० मि.मि. वर्षा मापन भएको छ। कोशी प्रदेशको तराईका अधिकांश तथा अन्य प्रदेशको तराईका केही स्थानहरुमा २५ डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा रहेको बाग्लुङ केन्द्रमा सबैभन्दा बढी २७.५ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। हिमाली क्षेत्रका केही स्थानहरुमा शुन्य डि.से. भन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -६.१ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
- साताको शुरूमा पश्चिमी वायुको आंशिक प्रभाव तथा मध्य तथा अन्त्यमा साधारण प्रभाव रहने संभावना छ।
- कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साताको मध्य र अन्त्यमा केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपातको संभावना रहेको छ।
- कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साताको मध्य र अन्त्यमा थोरै स्थानमा हल्का देखि मध्यम वर्षा/हिमपातको संभावना रहेको छ।
- साताको अन्त्यमा पश्चिम तराईका केही स्थानहरुमा तथा मध्य र पूर्वी तराईका थोरै भू-भागमा फाटफुट देखि हल्का बर्षा संभावना रहेको छ।
- कोशी र बागमती प्रदेशको हिमाली भू-भागमा साताको शुरु र मध्यमा एक-दुई स्थानमा हल्का हिमपात तथा अन्त्यमा थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/हिमपातको संभावना छ।
- सातामा तराई भू-भागका थोरै स्थानहरूमा हल्का हुस्सु/हल्का कुहिरो लाग्ने तर उक्त हुस्सु/कुहिरो मध्यान्हसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने संभावना छ।
- यस सातामा औसतको तुलनामा वढी वर्षा तथा हिमपात हुने संभावना छ।
- देशका धेरै स्थानहरूमा उच्चतम तापक्रम साताको साताको मध्य र अन्त्यमा हल्का घट्ने तथा न्यूनतम तापक्रम साताको मध्यमा हल्का बढ्ने संभावना छ।
कृषि सारांश
- तराई, भित्री मधेश र पहाडका बेँसीहरु (७०० मिटरसम्म) का लागि सिफारिस गरिएका चैते धानका हर्दिनाथ-१, चैते-२, चैते-४, चैते-५ र चैते-६ जातहरु मध्ये उपलब्ध जातका बीउ १.५ के.जी. प्रति कठ्ठा वा २.२५ के.जी. प्रति रोपनीका दरले ब्याड राख्नुहोस्।
- वसन्ते मकैका लागि उपयुक्त जातहरु अरुण-३, अरुण-४, अरुण-६, रामपुर हाईब्रिड-८ र रामपुर हाईब्रिड-१० मध्ये भरपर्दो श्रोतबाट उपलब्ध जातहरुको बीउ व्यवस्था गर्नुहोस्।
- देशका पहाडी भागहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग देखापरेको हुनाले ब्यबस्थापनको लागि ढुसीनासक बिषादी टिल्ट १ एम.एल. वा नाटिभो ०.५ ग्राम प्रति लिटर पानीको दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार २-३ पटकसम्म पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
- लसुन र प्याजको, प्याजी डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरि रोगी पातहरु हटाई खाल्डो खनेर पुर्नुहोस्। रोगको अवस्था हेरि ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता बिषादीहरु २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरु भिज्नेगरि ३-४ पटकसम्म छर्केर उपचार गर्नुहोस्।
- यस साता तराईका जिल्लाहरुमा बिहानीपख कुहिरो लाग्ने हुनाले गोलभेँडा तथा आलुबालीमा पछौटे डढुवा रोगको व्यवस्थापनका लागि फेनामिडोन १०% + मेन्कोजेब ५०% डब्लु.जी. वा डाइमेथोमोर्फ ५०% डब्लु.पी. १.५ ग्राम प्रतिलिटर पानीमा मिसाएर बोटको सम्पुर्ण भाग भिज्नेगरी अपरान्हपछि छर्कनुहोस्।
- तराई, भित्री मधेश तथा बेँसीमा परिपक्व भईसकेको आलुबाली मौसमको अवस्था हेरी खन्नुहोस्।
- हाल काठमाडौं लगायत नेपालका केही स्थानहरुका सुंगुर/बंगुरहरुमा अफ्रिकन स्वाईन फिभर भाईरसको संक्रमण पुष्टि भएको अवस्थामा जैविक सुरक्षामा विशेष ध्यान दिनुहोस्।
- तराईका जिल्लाहरुमा कमन कार्प माछाको प्रजनन् समय भएको हुँदा हप्ता दिनको अन्तरमा तयार माउ छनौट गरी काकाबनयुक्त प्रजनन् पोखरीमा सेट राख्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।
- कृषि-मौसम सल्लाह बुलेटिन नेपाल टेलिभिजनको NTV NEWS Channel बाट प्रत्येक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने गर्दछ। यसको पुन: प्रसारण आईतबार बिहान ७ बजेको समाचारपछि पनि हेर्न सकिन्छ।
- कृषि-मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट प्रत्येक शनिबार बेलुका ६:२५ देखि ६:३५ बजेसम्म प्रसारण हुने गर्दछ।