नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ९, अंक ४५)
मौसमी सारांश:
- गत साता सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको डडेलधुरा जिल्लामा रहेको डडेलधुरा केन्द्रमा १६.४ मि.मि. वर्षा मापन भएको छ। कोशी प्रदेशको तराई तथा मधेश प्रदेशको केही स्थान बाहेक तराईका अधिकांश स्थानहरुमा २० डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी २४.७ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। हिमाली क्षेत्रका केही स्थानहरुमा शुन्य डि.से. भन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -८.४ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
- साताको शुरूमा पश्चिमी वायुको आंशिक प्रभाव तथा मध्य तथा अन्त्यमा साधारण प्रभाव रहने संभावना छ।
- साताको शुरूमा कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात र मध्य तथा अन्त्यमा देशको हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपात साथै अन्त्यमा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/हिमपात संभावना छ।
- साताको मध्यमा देशका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको संभावना छ। साथै साताको अन्त्यमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा फाटफुट देखि हल्का वर्षाको संभावना रहेको छ।
- कोशी, मधेश र लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा फाटफुट बर्षाको संभावना छ।
- यस सातामा औसतको तुलनामा कम वर्षा तथा हिमपात हुने संभावना रहेको छ।
- यस सातामा तराई भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हुस्सु/हल्का कुहिरो लाग्ने तर उक्त हुस्सु/कुहिरो मध्यान्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने संभावना छ।
- देशका धेरै स्थानहरूमा उच्चतम तापक्रम साताको शुरूमा हल्का बढ्ने तथा न्यूनतम तापक्रम औसत भन्दा हल्का बढ्ने संभावना रहेको छ।
कृषि सारांश
- देशका पहाडी भागहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग देखापरेको हुनाले ब्यबस्थापनको लागि ढुसीनासक बिषादी टिल्ट १ एम.एल. वा नाटिभो ०.५ ग्राम प्रति लिटर पानीको दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार २-३ पटकसम्म पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
- तराई, भित्री मधेश र पहाडका बेँसीहरु (७०० मिटरसम्म) का लागि सिफारिस गरिएका चैते धानका हर्दिनाथ-१, चैते-२, चैते-४, चैते-५ र चैते-६ जातहरु मध्ये उपलब्ध जातका बीउ १.५ के.जी. प्रति कठ्ठा वा २.२५ के.जी. प्रति रोपनीका दरले व्यवस्था गर्नुहोस्।
- फलफूलका विरुवाहरुलाई रोगकीराहरुबाट जोगाउनका लागि बोर्डो मिश्रण, पेस्ट वा पेन्टको प्रयोग गर्नुहोस्।
- लसुन र प्याजको, प्याजी डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरि रोगी पातहरु हटाई खाल्डो खनेर पुर्नुहोस्। रोगको अवस्था हेरि ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता बिषादीहरु २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरु भिज्नेगरि ३-४ पटकसम्म छर्केर उपचार गर्नुहोस्।
- यस साता तराईका जिल्लाहरुमा बिहानीपख कुहिरो लाग्ने हुनाले गोलभेँडा तथा आलुबालीमा पछौटे डढुवा रोगको अनुगमन गर्नुहोस्। प्रकोप देखापरेमा फेनामिडोन १०% + मेन्कोजेब ५०% डब्लु.जी. वा डाइमेथोमोर्फ ५०% डब्लु.पी. १.५ ग्राम प्रतिलिटर पानीमा मिसाएर बोटको सम्पुर्ण भाग भिज्नेगरी अपरान्हपछि छर्कनुहोस्।
- तराई, भित्री मधेश तथा बेँसीमा परिपक्क भईसकेको आलुबाली मौसमको अवस्था हेरी खन्नुहोस्।
- हाल काठमाडौं लगायत नेपालका केही स्थानहरुका सुंगुर/बंगुरहरुमा अफ्रिकन स्वाईन फिभर भाईरसको संक्रमण पुष्टि भएको अवस्थामा जैविक सुरक्षामा विषेश ध्यान दिनुहोस्।
- तराई भू-भागमा साताका अधिकांश दिनहरूमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने संभावना रहेकोले माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न बादल लागेको दिन र भोलिपल्ट बिहानीपख प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको एरेटरको प्रयोग गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।