कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ९, अंक ४४)

मौसमी सारांश:

  • गत साता देशको अधिकांश केन्द्रहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा रहेको दिपायल केन्द्रमा ११.३ मि.मि. वर्षा मापन भएको छ। कोशी प्रदेशको तराईको अधिकांश र मधेश प्रदेशको तराईका धेरै स्थानहरुमा तथा अरु प्रदेशका केही स्थानहरुमा २० डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने गण्डकी प्रदेशको तनँहु जिल्लामा रहेको दमौली केन्द्रमा सबैभन्दा बढी २२.६ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। हिमाली क्षेत्रका केही स्थानहरुमा शुन्य डि.से. भन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -१०.२ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • साताको शुरू तथा अन्त्यमा पश्चिमी वायुको आंशिक प्रभाव तथा मध्यमा साधारण प्रभाव रहने संभावना छ। 
  • साताको शुरू तथा अन्त्यमा देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात तथा  मध्यमा थोरै स्थानहरूमा हल्का वर्षा/हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
  • साताको शुरू र अन्त्यमा देशका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको संभावना रहेको छ।
  • साताको मध्यमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा फाटफुट बर्षाका साथै देशका पहाडी भू-भागका  थोरै स्थानहरूमा फाटफुट देखि हल्का वर्षाको संभावना रहेको छ।
  • साताको शुरू र अन्त्यमा तराई भू-भागका धेरै स्थानहरूमा तथा साताको मध्यमा  तराई भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हुस्सु/कुहिरो लाग्ने तर उक्त हुस्सु/कुहिरो मध्यान्हसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने संभावना रहेको छ। 
  • आगामी साता औसतको तुलनामा कम वर्षा तथा हिमपात हुने संभावना रहेको छ।
  • देशका धेरै स्थानहरूमा उच्चतम तापक्रम औसत भन्दा कम हुने तथा न्यूनतम तापक्रम औसत भन्दा धेरै हुने संभावना रहेको छ।

कृषि सारांश

 

  • देशका विभिन्न भागमा परेको पानीले गहुँबालीमा सिन्दूरे रोग लाग्न सक्ने संभावना भएकोले गहुँबालीको नियमीत अनुगमन गर्नुहोस्। प्रकोप देखिएमा नजिकैको कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्नुहोस्।
  • तराई, भित्री मधेश र पहाडका बेँसीहरु (७०० मिटरसम्म) का लागि सिफारिस गरिएका चैते धानका हर्दिनाथ-१, चैते-२, चैते-४, चैते-५ र चैते-६ जातहरु मध्ये उपलब्ध जातका बीउ १.५ के.जी. प्रति कठ्ठा वा २.२५ के.जी. प्रति रोपनीका दरले व्यवस्था गर्नुहोस्।
  • लसुन र प्याजको, प्याजी डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरि रोगी पातहरु हटाई खाल्डो खनेर पुर्नुहोस्। रोगको अवस्था हेरि ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता बिषादीहरु २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरु भिज्नेगरि ३-४ पटकसम्म छर्केर उपचार गर्नुहोस्। 
  • आगामी साता तराईका जिल्लाहरुमा बिहानीपख कुहिरो लाग्ने हुनाले गोलभेँडा तथा आलुबालीमा पछौटे डढुवा रोगको अनुगमन गर्नुहोस्। प्रकोप देखापरेमा फेनामिडोन १०% + मेन्कोजेब ५०% डब्लु.जी. वा डाइमेथोमोर्फ ५०% डब्लु.पी. १.५ ग्राम प्रतिलिटर पानीमा मिसाएर बोटको सम्पुर्ण भाग भिज्नेगरी अपरान्हपछि छर्कनुहोस्।
  • आलुबालीमा भाईरस रोगको नियमित अनुगमन गर्नुहोस्। पात दोब्रिएका, टाटेपाटे देखिएका, पहेँलिएका र स्वस्थ बोटभन्दा फरक देखिएका भाइरस संक्रमित बोटहरु उखेलेर नष्ट गर्नुहोस्। आलुबालीको पात बटारिने भाईरस रोग बीउ आलु वा लाही कीराबाट सर्ने हुनाले रोगमुक्त बीउ आलु मात्र रोप्नुहोस्।
  • हिउँदको समयमा पशुवस्तुलाई हरियो घाँस र पोषणतत्वको कमी हुने र उत्पादन तथा उत्पादकत्वमा पनि कमी आउने भएकोले उक्त समयमा उग्राउने पशुहरु जस्तै-गाई, भैँसी, भेडा बाख्राहरुलाई युरिया मिश्रित पराल (४% युरिया) वा युरिया मोलासिस मिनिरल ब्लक ३०० ग्राम प्रति दिनका दरले चाट्न दिनुहोस्।
  • तराई भू-भागमा साताका अधिकांश दिनहरूमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने संभावना रहेकोले माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न बादल लागेको दिन र भोलिपल्ट बिहानीपख प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको एरेटरको प्रयोग गर्नुहोस्। साथै बादल लागेको समयमा दाना दिन बन्द गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।
  • कृषि-मौसम सल्लाह बुलेटिन नेपाल टेलिभिजनको NTV NEWS Channel बाट प्रत्येक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने गर्दछ। यसको पुन: प्रसारण आईतबार बिहान ७ बजेको समाचारपछि पनि हेर्न सकिन्छ।
  • कृषि-मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट प्रत्येक शनिबार बेलुका ६:२५ देखि ६:३५ बजेसम्म प्रसारण हुने गर्दछ।