![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-९, अंक १४)
मौसमी सारांश:
- गत साता सबैभन्दा बढी कोशी प्रदेशको झापा जिल्लामा रहेको चन्द्रगढी एयरपोर्ट केन्द्रमा ३८७.३ मि.मि. वर्षा मापन भएको छ। मधेश, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरुमा ३५.० डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ३६.७ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम १०.५ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
- देशका धेरै भू-भागहरुमा साता भरि हल्का देखि मध्यम वर्षाको संभावना छ।
- साताको शुरूमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा थोरै स्थानहरूमा, साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको संभावना छ। कर्णाली प्रदेशका एक-दुई स्थानमा साताको मध्यमा भारी बर्षाको संभावना छ। सुदूरपश्चिम प्रदेशमा साताको सुरूमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानहरूमा भारी देखि धेरै भारी बर्षाको संभावना छ।
- साताको शुरूमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, मधेश र बागमती प्रदेशमा एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको संभावना छ। साताको मध्यमा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको संभावना छ। साताको अन्त्यमागण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना छ।
- देशका तराई भू-भागका केही स्थानहरूमा साताको मध्यमा हावा हुरीको संभावना छ।
- अधिकतम तथा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना छ।
कृषि सारांश
- साताभरि नै पानी पर्ने संभावना भएकाले मकै, भटमास,फलफूल, तरकारीलगायतका बालीहरुमा पानी निकासको उचित व्यवस्था गर्नुहोस्।
- २१-२५ दिन भैसकेको धानको बेर्ना प्रति रोपो २-३ वटाको दरले रोप्नुहोस्।धानबालीमा झारपात ब्यवस्थापनको लागी ब्यूटाक्लोर १ के.जी. प्रति रोपनी वा ०.६ के.जी. प्रति कट्ठाको दरले धानरोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा छर्नुहोस्।
- धानबालीमा झारपात व्यवस्थापनको लागि झारनाशक विषादी बिस्पाएरिबेक १० ई.सी., २५ लिटर पानीमा १२.५ मिलिलिटरको दरले मिसाएर प्रति रोपनीमा अथवा १७ लिटर पानीमा ८.३ मिलिलिटरको दरले मिसाएर प्रति कठ्ठामा धान रोपेको १५ देखि २५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लेटफेननोजलले स्प्रेगर्नुहोस्।पछि झार आएमा ४०-५० दिनभित्र एकपटक हातले गोड्नुहोस्।
- आँप, लिची, भुइकटहर, रुखकटहर, अनार, अम्बा, कागती, सुन्तला, मौसम, एभोकाडो, अलैँची र कफी आदि सार्ने उपयुक्त समय भएकोले भरपर्दो नर्सरीवाट सिफारिस जातका कलमी बेर्ना सिफारिस दूरीको फरकमा सार्नुहोस्।
- आँपको बगैंचामा रोग तथा कीरा लागेर झरेका आँपका दानाहरुबाट विभिन्न रोग तथा कीराहरु सर्ने संभावना हुने भएकोले झरेका दानाहरुलाई टिपेर नष्ट गर्नुहोस्।
- खुर्सानीको बोट ओइलाउने रोगको व्यवस्थापनको लागि पानी निकासको उचित प्रवन्ध मिलाउनुहोस्।बेर्ना सार्ने बेलामा बोट वरिपरि पानी नजम्ने गरिसार्नुहोस्।घुम्ती बाली अपनाउनुहोस्। प्रकोप बढी भएमा कपरयुक्त विषादी (जस्तै: ब्लाईटोक्स ५०%, धनुकोप) वा क्रिल्याक्सिल २ ग्राम प्रतिलिटर पानीमा मिसाई १०-१२ दिनको फरकमा २-३ पटक जरा र वरिपरिको माटो भिज्ने गरि ड्रेन्चिङ गर्नुहोस्।
- देशका अधिकांश स्थानहरुमा लम्पी स्किन रोग फैलिरहेको हुँदा छालामा गिर्खाहरु देखिएका पशुहरुलाई ढुवानी नगर्नुहोस्। लक्षण देखिएका पशुहरुलाई अन्य स्वस्थ पशुहरुभन्दा अलग्गै राखी लक्षण अनुसारको उपचार गर्नुहोस्। गोठहरुमा जैविक सुरक्षाका उपायहरु अवलम्वन गर्नुहोस्।
- वर्षातको समयमा गाई-भैँसीहरुमा देखापर्ने भ्यागुते रोगको उपचारको लागि सल्फोनामाईड, टेट्रासाइक्लिन, पेनिसिलिन, जेन्टामाइसिन, सिप्रोफ्लोक्सासिन समूहका औषधिहरु प्रभावकारी हुने गर्दछ।
- माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। धमिलो पानी मिसिन गएमा परजीवि लाग्ने संभावना भएकोले ३% नुनपानीले बाथ गराउनुहोस्।
- वर्षातको समयमा माछापोखरीको पानीको पि.एच. लाई सन्तुलन राख्न समय-समयमा मापन गर्नुहोस्। पानीको पि.एच. ६.५ भन्दा कम भएमा चून १५ के.जी.प्रति कठ्ठाको दरले प्रयोग गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।