![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-९, अंक १३)
मौसमी सारांश:
- गत साता वर्षा मापन भएका केन्द्रहरु मध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशको पाल्पा जिल्लामा रहेको तानसेन केन्द्रमा ५२७ मि.मि. वर्षा मापन भएको छ। तराईका सबैजसो स्थानहरुमा ३० डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ३४.१ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ भने गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम १०.८ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
- हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात/वर्षाको संभावना छ।
- पहाडी भू-भागहरूमा हल्का देखि मध्यम वर्षाको संभावना छ। सुदूरपश्चिम प्रदेशमा साताको शुरूमा, कोशी र गण्डकी प्रदेशमा साताको मध्यमा, तथा गण्डकी र बागमती प्रदेशमा साताको अन्त्यमा भारी वर्षाको संभावना छ।
- तराइका भू-भागहरूमा केही हल्का देखि मध्यम वर्षाको संभावना छ। सुदूरपश्चिम प्रदेशमा साताको शुरूमा, कोशी र गण्डकी प्रदेशमा साताको मध्यमा, तथा गण्डकी र बागमती प्रदेशमा साताको अन्त्यमा भारी वर्षाको संभावनाछ। लुम्बिनी प्रदेशमा हावाहुरीको संभावना छ।
- अधिकतम तथा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना छ।
कृषि सारांश
- साताभरि नै पानी पर्ने संभावना भएकाले मकै, भटमास, फलफूल, तरकारी लगायतका बालीहरुमा पानी निकासको उचित व्यवस्था गर्नुहोस्।साथै, चैते धानबाली मौसमको अवस्था हेरी भित्र्याउनुहोस्।
- २१-२५ दिन भैसकेको धानको बेर्ना प्रति रोपो २-३ वटाको दरले रोप्नुहोस्।धानबालीमा झारपात ब्यवस्थापनको लागी ब्यूटाक्लोर १ के.जी. प्रति रोपनी वा ०.६ के.जी. प्रति कट्ठाको दरले धानरोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा छर्नुहोस्।
- एक महिना भैसकेका कोदोबालीका बेर्ना रोप्नुहोस्।
- आँप, लिची, भुइकटहर, रुखकटहर, अनार, अम्बा, कागती, सुन्तला, मौसम, एभोकाडो, अलैँची र कफी आदि सार्ने उपयुक्त समय भएकोले भरपर्दो नर्सरीवाट सिफारिस जातका कलमी बेर्ना सिफारिस दूरीको फरकमा सार्नुहोस्।
- आँपको हाँगा सुकाउने गबारोले क्षति पुर्याई सुकेका हाँगाहरु काँटछाँट गरि नष्ट गर्नुहोस्। फल टिपिसके पछि इमिडाक्लोप्रिड १७.८ एस.एल. ०.५ एम.एल. प्रतिलिटर पानीमा मिसाएर प्रत्येक १५ दिनको अन्तरमा ४-५ पटक काण्ड तथा हाँगाहरु राम्ररी भिज्नेगरि छर्कनुहोस्।
- आँपको बगैंचामा रोग तथा कीरा लागेर झरेका आँपका दानाहरुबाट विभिन्न रोग तथा कीराहरु सर्ने संभावना हुने भएकोले झरेका दानाहरुलाई टिपेर नष्ट गर्नुहोस्।
- खुर्सानीको बोट ओइलाउने रोगको व्यवस्थापनको लागि पानी निकासको उचित प्रवन्ध मिलाउनुहोस्।रोगी बोटहरु हटाउनुहोस्।बेर्ना सार्ने बेलामा बोट वरिपरि पानी नजम्ने गरि सार्नुहोस्।घुम्ती बाली अपनाउनुहोस्। प्रकोप बढी भएमा कपरयुक्त विषादी (जस्तै: ब्लाईटोक्स ५०%, धनुकोप) वा क्रिल्याक्सिल २ ग्राम प्रतिलिटर पानीमा मिसाई १०-१२ दिनको फरकमा २-३ पटक जरा र वरिपरिको माटो भिज्ने गरि ड्रेन्चिङ गर्नुहोस्।
- देशका अधिकांश स्थानहरुमा लम्पी स्किन रोग फैलिरहेको हुँदा छालामा गिर्खाहरु देखिएका पशुहरुलाई ढुवानी नगर्नुहोस्। लक्षण देखिएका पशुहरुलाई अन्य स्वस्थ पशुहरुभन्दा अलग्गै राखी लक्षण अनुसारको उपचार गर्नुहोस्। रोगी पशुहरुको सम्पर्कमा आएपछि स्वस्थ पशुहरुको सम्पर्कमा नजानुहोस्। गोठहरुमा जैविक सुरक्षाका उपायहरु अवलम्वन गर्नुहोस्।
- माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। धमिलो पानी मिसिन गएमा परजीवि लाग्ने संभावना भएकोले ३% नुनपानीले बाथ गराउनुहोस्। साथै, निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई माछा बगेर जान नदिनुहोस्।
- वर्षातको समयमा माछापोखरीको पानीको पि.एच. लाई सन्तुलन राख्न समय-समयमा मापन गर्नुहोस्। पानीको पि.एच. ६.५ भन्दा कम भएमा चून १५ के.जी.. प्रति कठ्ठाको दरले प्रयोग गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा (आज) सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।