![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-९, अंक १२)
मौसमी सारांश:
- गत साता सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा ४६७.८ मि.मि. वर्षा मापन भएको छ। कोशी प्रदेश बाहेकका प्रदेशका तराईका केही स्थानहरुमा ३५ डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ । लुम्बिनी प्रदेशको बाँके जिल्लामा रहेको नेपालगन्ज क्षेत्रीय कार्यालय केन्द्रमा सबैभन्दा बढी ३७.६ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको जोमसोम केन्द्रमा सबैभन्दा कम ११ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
- साताको अधिकांश दिनहरुमा हिमाली भु-भागमा आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षाको संभावना छ।
- साताको अधिकांश दिनहरुमा पहाडी तथा तराईका भु-भागमा आंशिक देखि सामान्य बदली रही साताको सुरुवातमा धेरै स्थानहरूमा र साताको मध्य तथा अन्त्यमा केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना छ। साथै साताको शुरुमा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन /चट्याङ्ग सहित भारी वर्षाको पनि संभावना छ।
- देशको धेरै स्थानमा साताको सुरुमा आधिकतम तापक्रम हल्का घट्ने संभावना छ।
कृषि सारांश
- साताको सुरुमा धेरै स्थानहरूमा र साताको मध्य तथा अन्त्यमा केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेकोले विभिन्न बालीनालीमा आवश्यकता अनुसार पानी निकासको व्यवस्था गर्नुहोस्। साथै, चैते धानबाली मौसमको अवस्था हेरी भित्र्याउनुहोस्।
- मध्यपहाडका बेँशी क्षेत्रमा २१-२५ दिन भैसकेको धानको बेर्ना प्रति रोपो २-३ वटाको दरले रोप्नुहोस्।
- धानबालीमा झारपात ब्यवस्थापनको लागी ब्यूटाक्लोर १ के.जी. प्रति रोपनी वा ०.६ के.जी. प्रति कट्ठाको दरले धानरोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा छर्नुहोस्।
- कोदो बालीवाट राम्रो उत्पादन लिन आफुले लगाउने ठाँउ अनुसारको लागि सिफारिस गरिएका कोदोका जातहरुको छनौट गरी ब्याड राख्नुहोस्।
- आँप, लिची, भुइकटहर, रुखकटहर, अनार, अम्बा, कागती, सुन्तला, मौसम, एभोकाडो, अलैँची र कफी आदि सार्ने उपयुक्त समय भएकोले भरपर्दो नर्सरीवाट सिफारिस जातका कलमी बेर्ना सिफारिस दूरीको फरकमा सार्नुहोस्।
- आँपको रुटस्टक तयारी अवस्थामा छ भने इपिकोटायल ग्राफ्टिङ्ग शुरु गर्नुहोस्।
- आँपको हाँगा सुकाउने गबारोले क्षति पुर्याई सुकेका हाँगाहरु काँटछाँट गरि नष्ट गर्नुहोस् । फल टिपिसकेपछि इमिडाक्लोप्रिड १७.८ एस.एल. ०.५ एम.एल. प्रतिलिटर पानीमा मिसाएर प्रत्येक १५ दिनको अन्तरमा ४-५ पटक काण्ड तथा हाँगाहरु राम्ररी भिज्नेगरि छर्कनुहोस्।
- आँपको बगैंचामा रोग तथा कीरा लागेर झरेका आँपका दानाहरुबाट विभिन्न रोग तथा कीराहरु सर्ने संभावना हुने भएकोले झरेका दानाहरुलाई टिपेर नष्ट गर्नुहोस्।
- देशका अधिकांश स्थानहरुमा लम्पी स्किन रोग फैलिरहेको हुँदा छालामा गिर्खाहरु देखिएका पशुहरुलाई ढुवानी नगर्नुहोस्। लक्षण देखिएका पशुहरुलाई अन्य स्वस्थ पशुहरुभन्दा अलग्गै राखी लक्षण अनुसारको उपचार गर्नुहोस्। रोगी पशुहरुको सम्पर्कमा आएपछि स्वस्थ पशुहरुको सम्पर्कमा नजानुहोस्। गोठहरुमा जैविक सुरक्षाका उपायहरु अवलम्वन गर्नुहोस्।
- माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। धमिलो पानी मिसिन गएमा परजीवि लाग्ने संभावना भएकोले ३% नुनपानीले बाथ गराउनुहोस्। साथै, निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई माछा बगेर जान नदिनुहोस्।
- वर्षातको समयमा माछापोखरीको पानीको पि.एच. लाई सन्तुलन राख्न समय-समयमा मापन गर्नुहोस्। पानीको पि.एच. ६.५ भन्दा कम भएमा चून १५ के.जी.. प्रति कठ्ठाको दरले प्रयोग गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।