![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-९, अंक १०)
मौसमी सारांश:
- गत साता वर्षा मापन भएका केन्द्रहरु मध्ये सबैभन्दा बढी गण्डकी प्रदेशको लम्जुङ जिल्लामा रहेको खुदिबजार केन्द्रमा ३८६.१ मि.मि. वर्षा मापन भएको छ। लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा तथा मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका तराईका केही स्थानमा ४० डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ४२.५ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ७.५ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
- साताको अधिकांश दिनहरुमा हिमाली भु-भागमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का हिमपात/वर्षाको संभावना छ।
- साताको अधिकांश दिनहरुमा पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशको धेरै स्थानहरु, बागमती र गण्डकी प्रदेशको केही र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन /चट्याङ्ग् सहित हल्का देखि मध्यम वर्षाको संभावना छ।साथै साताको मध्य र अन्त्यमा कोशी प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरुमा र बागमती प्रदेशमा एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना छ।
- साताको अधिकांश दिनहरुमा कोशी प्रदेशको तराईका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी तराईका भू-भागहरुमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ। यद्धपि साताको मध्य तथा अन्त्यमा मध्य र पश्चिमी तराईमा थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग्/हावाहुरी सहित हल्का वर्षाको संभावना छ।
- यस वर्षको मनसुन जुन १४ तारिखमा कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भू-भाग, बागमती प्रदेशको अधिकांश भू-भाग र गण्डकी प्रदेशको पूर्वी भू-भागसम्म आगमन भैसकेकोले पूर्वी र मध्य तराईका भू-भागहरुमा तातो हावा तथा लू को संभावना देखिन्न। तर पश्चिमी तराईका भू-भागहरूमा साताको सुरुमा तातो हावा तथा लू को संभावना यथावत रहने देखिन्छ।
- यस मनसुन सिजनमा देशभर सरदर भन्दा कम वर्षा हुने संभावना छ। यद्यपि सरदर भन्दा कम वर्षा हुने संभावना स्थान विशेष फरक रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्विनी तथा गण्डकी प्रदेशका धेरैजसो भू-भाग र कोशी प्रदेशका दक्षिण-पूर्वी भू-भागमा सरदर भन्दा कम वर्षा हुने संभावना रहेको छ।
कृषि सारांश
- यस वर्षको मनसुन सिजनमा देशभर सरदर भन्दा कम वर्षा हुने संभावना रहेकोले असिंचित क्षेत्रमा धान खेती गर्नुहुने कृषकहरुले सुख्खा सहने धानका जातहरुको व्याड राख्नुहोस्।
- वर्षे धानबालीवाट राम्रो उत्पादन लिन र आफुले लगाउन चाहेको ठाँउ अनुसारको लागि सिफारिस गरिएका धानका उन्नत जातहरुको ब्याड राख्नुहोस्।
- मध्यपहाडका बेँशी क्षेत्रमा २१-२५ दिन भैसकेको धानको बेर्ना प्रति रोपो २-३ वटाको दरले रोप्न सुरू गर्नुहोस्।
- धानबालीमा झारपात ब्यवस्थापनको लागी ब्यूटाक्लोर २ के.जी प्रति रोपनी वा ०.६ के.जी प्रति कट्ठाको दरले धानरोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा छर्नुहोस्।
- कोदो बालीवाट राम्रो उत्पादन लिन आफुले लगाउने ठाँउ अनुसारको लागि सिफारिस गरीएका कोदोका जातहरुको छनौट गरी ब्याड राख्नुहोस्।
- धेरै विहान आँप टिप्दापानीको मात्रा बढी बग्न गई फलको गुणस्तर बिग्रने हुँदा मध्य विहान र बेलुकीपख मात्र टिप्नुहोस्।
- आँपको बगैंचामा रोग तथा कीरा लागेर झरेका आँपका दानाहरुबाट विभिन्न रोग तथा कीराहरु सर्ने संभावना हुने भएकोले झरेका दानाहरुलाई टिपेर नष्ट गर्नुहोस्।
- तरकारी बालीका ट्नेरफलहरु टिप्ने अवस्थामा रोग तथा कीराहरु लागेमा यिनीहरुबाट आर्थिक क्षती थोरै हुने भएकोले बिषादी प्रयोग नगर्नुहोस्।यो अवस्थामा विषादी प्रयोग गरेमा बिषादीको अवशेष बालीमा रहन गई मानवस्वास्थ्य तथा वातावरणमा नकारात्मक असर पुग्दछ।
- भिँडीको फल तथा डाँठमा लाग्ने गवारोको नियमित अनुगमन गर्नुहोस्। कीराको प्रकोप धेरै भएमा क्लोरनट्रानीलीप्रोल वा स्पिनोसाड १ एम.एल. प्रति ३ लिटर पानीमा मिसाएर छर्कनुहोस्। एउटै बिषादी निरन्तर प्रयोग नगरेर आलोपालो गरी प्रयोग गर्नुहोस्।
- फर्सी समुहको तरकारीमा लाग्ने गम निस्कने डढुवा रोगको ब्यबस्थापनको लागि मेन्कोजेब वा क्लोरोथालोनिलयुक्त बिषादी २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण बोट भिज्नेगरि ८-१० दिनको फरकमा २-३ पटकसम्म छर्केर उपचार गर्नुहोस्।
- उखुबालीमा प्लासी गवारोलेक्षती पुर्याउने भएकोले नियमित अनुगमनगरी ब्यवस्थापनका उपायहरु अपनाउनुहोस्।
- देशका अधिकांश स्थानहरुमा लम्पी स्किन रोग फैलिरहेको हुँदा छालामा गिर्खाहरु देखिएका पशुहरुलाई ढुवानी नगर्नुहोस्। लक्षण देखिएका पशुहरुलाई अन्य स्वस्थ पशुहरुभन्दा अलग्गै राखी लक्षण अनुसारको उपचार गर्नुहोस्। रोगी पशुहरुको सम्पर्कमा आएपछि स्वस्थ पशुहरुको सम्पर्कमा नजानुहोस्। गोठहरुमा जैविक सुरक्षाका उपायहरु अवलम्वन गर्नुहोस्।
- गाईको तुलनामा भैँसीमा गर्मीको तनाव बढी हुने भएकोले भैँसीलाई दिउँसोको समयमा चिसो पानीले नुहाइदिनुहोस् वा आहाल खेल्ने व्यवस्था गर्नुहोस्।
- कुखुराहरुलाई गर्मीको तनाबबाट जोगाउन दिउँसोको समयमा दाना नदिने तथा पिउने पानीमा ग्लुकोज वा भेली प्रयोग गर्नुका साथै पानीका भाडाहरु थप संख्यामा राख्नुहोस् र स्वच्छ चिसो पानी मात्र प्रयोग गर्नुहोस्।
- गर्मीको समयमा माछापोखरीको पानीको तापक्रम पनि बढ्ने र बिहानीपख अक्सिजन कमी हुन सक्ने भएको हुँदा मत्स्यपालन पोखरीहरुमा पानीको गहिराई न्यूनतम १.५ मिटर कायम राख्नुहोस्। साथै बढ्दो तापक्रम तनाबले गर्दा माछाले दाना नखाई खेर जाने भएकोले दाना खाए-नखाएको यकिन गरेर मात्र आवश्यकता अनुसार दाना दिनुहोस्। प्रति हेक्टर जलाशयमा विहानीपख (४-६ बजेसम्म) ०.७५ के.भि.ए. क्षमताको वायुयन्त्रको प्रयोग गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।