![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-९, अंक ९)
मौसमी सारांश:
- गत साता वर्षा मापन भएका केन्द्रहरु मध्ये सबैभन्दा बढी कोशी प्रदेशको धनकुटा जिल्लामा रहेको पाख्रीवास केन्द्रमा ५८.५ मि.मि. वर्षा मापन भएको छ। मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका तराईका अधिकांश स्थान तथा लुम्बिनी प्रदेशका तराईका केही स्थानमा ४० डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ४३.३ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ३.३ डि.से. न्युनतम तापक्रम मापन भएको छ।
- साताको अधिकांश दिनहरुमा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा हल्का हिमपात/वर्षाको संभावना छ।
- साताको मध्य तथा अन्त्यतिर पहाडी भु-भागमाआंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको संभावना छ।
- तराईका भू-भागहरुमा आंशिक बदली देखि सामान्यतया मौसम सफारहनेछ। यद्धपि साताको मध्य तथा अन्त्यमा कोशी प्रदेशको तराईभू-भाग र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदली रहीथोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का वर्षाको संभावनाछ।
- यस वर्षको मनसुनशुरुहुन अझै केही दिन लाग्ने देखिन्छ। तसर्थ तराई भू-भागहरूमा आगामी केहि दिनसम्म तातो हावा तथा लू को संभावना यथावत रहने देखिएकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउनुहोस्।
मनसुन सिजन २०८० (जेठ १८-असोज १३) को हावापानी आँकलन
- यस मनसुन सिजनमा देशभर सरदर भन्दा कम वर्षा हुने संभावना ३५% देखि ५५% रहेको छ। यद्यपि सरदर भन्दा कम वर्षा हुने संभावना स्थान विशेष फरक रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्वनी तथा गण्डकी प्रदेशका धेरैजसो भू-भाग र कोशी प्रदेशका दक्षिण-पूर्वी भू-भागमा सरदर भन्दा कम वर्षा हुने संभावना ४५% देखि ५५% रहेको छ। त्यसैगरी बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेश तथा अन्य प्रदेशका केही भू-भागमा सरदर भन्दा कम हुने संभावना ३५% देखि ४५% रहेको छ। अधिकतम तापक्रम देशभर सरदर भन्दा बढी हुने संभावना ३५% देखि ६५% रहेको छ। त्यसैगरी न्यूनतम तापक्रम धेरैजसोभू-भागमा सरदर भन्दा बढी हुने संभावना ३५% देखि ४५% रहेता पनि सुदूरपश्चिम प्रदेशका मध्य भू-भाग, कर्णाली प्रदेशका मध्य पश्चिमी भू-भाग, गण्डकी प्रदेशका मध्य भू-भाग, लुम्बिनी प्रदेशका मध्य दक्षिणी भू-भाग, बागमती प्रदेशका मध्य-पूर्वी भू-भाग र मधेश प्रदेशका पश्चिमी तथा मध्य भू-भागमा न्यूनतम तापक्रम सरदर हुने संभावना ३५% देखि ४५% रहेको छ।
कृषि सारांश
- देशको धेरै भू-भागहरुको अधिकतम तापक्रम तथा न्यूनतम तापक्रम बढ्ने तथा पानी पर्ने संभावना कम रहेकाले मकै, फलफुल तथा तरकारी लगायतका बालीमा माटोकोचिस्यानको नियमित अनुगमन गरी सिंचाई व्यवस्थापन कार्य गर्नुहोस्।
- यस वर्षको मनसुन सिजनमा देशभर सरदर भन्दा कम वर्षा हुने संभावना ३५% देखि ५५% रहेकोले असिंचित क्षेत्रमा धान खेती गर्नुहुने कृषकहरुले सुख्खा सहने धानका जातहरुको व्याड राख्नुहोस्।
- वर्षे धानबालीवाट राम्रो उत्पादन लिन र आफुले लगाउन चाहेको ठाँउ अनुसारको लागि सिफारिस गरिएका धानका उन्नत जातहरुको ब्याड राख्नुहोस्।
- सिंचाई र पानीको निकास राम्रो भएको खेतमा सुख्खा तथा हिले छरुवा धान खेती गरी धानखेतीको लागत खर्च घटाउनुहोस्।
- कोदो बालीवाट राम्रो उत्पादन लिन आफुले लगाउने ठाँउ अनुसारको लागि सिफारिस गरीएका कोदोका जातहरुको छनौट गरी ब्याड राख्नुहोस्।
- धेरै विहान आँप टिप्दापानीको मात्रा बढी बग्न गई फलको गुणस्तर बिग्रने हुँदा मध्य विहान र बेलुकीपख मात्र टिप्नुहोस्।
- आँपको बगैंचामा रोग तथा कीरा लागेर झरेका आँपका दानाहरुबाट विभिन्न रोग तथा कीराहरु सर्ने संभावना हुने भएकोले झरेका दानाहरुलाई टिपेर नष्ट गर्नुहोस्।
- फर्सी समुहको तरकारीमा लाग्ने गम निस्कने डढुवा रोगको ब्यबस्थापनको लागि मेन्कोजेब वा क्लोरोथालोनिलयुक्त बिषादी २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण बोट भिज्नेगरि ८-१० दिनको फरकमा २-३ पटकसम्म छर्केर उपचार गर्नुहोस्।
- देशका अधिकांश स्थानहरुमा लम्पी स्किन रोग फैलिरहेको हुँदा छालामा गिर्खाहरु देखिएका पशुहरुलाई ढुवानी नगर्नुहोस्। लक्षण देखिएका पशुहरुलाई अन्य स्वस्थ पशुहरुभन्दा अलग्गै राखी लक्षण अनुसारको उपचार गर्नुहोस्। रोगी पशुहरुको सम्पर्कमा आएपछि स्वस्थ पशुहरुको सम्पर्कमा नजानुहोस्। गोठहरुमा जैविक सुरक्षाका उपायहरु अवलम्वन गर्नुहोस्।
- गाईको तुलनामा भैँसीमा गर्मीको तनाव बढी हुने भएकोले भैँसीलाई दिउँसोको समयमा चिसो पानीले नुहाइदिनुहोस् वा आहाल खेल्ने व्यवस्था गर्नुहोस्।
- कुखुराहरुलाई गर्मीको तनाबबाट जोगाउन दिउँसोको समयमा दाना नदिने तथा पिउने पानीमा ग्लुकोज वा भेली प्रयोग गर्नुका साथै पानीका भाडाहरु थप संख्यामा राख्नुहोस् र स्वच्छ चिसो पानी मात्र प्रयोग गर्नुहोस्।
- गर्मी बढेसँगै माछापोखरीको पानीको तापक्रम पनि बढ्ने र बिहानीपख अक्सिजन कमी हुन सक्ने भएको हुँदा मत्स्यपालन (भुरा, माउ, खानेमाछा) पोखरीहरुमा पानीको गहिराई न्यूनतम १.५ मिटर कायम राख्नुहोस्। साथै बढ्दो तापक्रम तनाबले गर्दा माछाले दाना नखाई खेर जाने भएकोले दाना खाए-नखाएको यकिन गरेर मात्र आवश्यकता अनुसार दाना दिनुहोस्। प्रति हेक्टर जलाशयमा विहानीपख (४-६ बजेसम्म) ०.७५ के.भि.ए. क्षमताको वायुयन्त्रको प्रयोग गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा (आज) सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।