कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-९, अंक ८)

मौसमी सारांश:

  • गत साता वर्षा मापन भएका केन्द्रहरु मध्ये सबैभन्दा बढी मधेश प्रदेशको महोत्तरी जिल्लामा रहेको जलेश्वर केन्द्रमा ८८.७ मि.मि. वर्षा मापन भएको छ। तराईका केही स्थानमा ३५ डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ।मधेश प्रदेशको रौतहट जिल्लामा रहेको गौर केन्द्रमा सबैभन्दा बढी ३८.७ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ३.३ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरु साथै कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरु तथा लुम्बिनी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग्/हावाहुरी सहित हल्का वर्षाको संभावना छ।
  • साताको अधिकांश दिनहरुमा आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु रकोशी,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना छ।
  • देशका तराईका भू-भागहरुमा आंशिक बदली देखि सामान्यतया मौसम सफारहने यद्धपि साताको अन्त्यमा कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग्/हावाहुरी सहित हल्का वर्षाको संभावना साथै लुम्बिनी र मधेशप्रदेशमा हावाहुरीको संभावना छ।
  • देशको धेरै भू-भागहरुको अधिकतम तापक्रम तथा न्यूनतम तापक्रम बढ्ने संभावना छ।

मनसुन सिजन २०८० (जेठ १८-असोज १३) को हावापानी आँकलन

  • आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा कम वर्षा हुने संभावना ३५% देखि ५५% रहेको छ। तथापि कोशी प्रदेशका मध्य तथा उत्तर-पूर्वी भू-भाग, वागमती प्रदेशका दक्षिण पूर्वी भू-भाग र मधेश प्रदेशका अधिकांश भू-भागमा सरदर वर्षा हुने संभावना ३५% देखि ४५% रहेको छ। अधिकतम तापक्रम देशभर सरदर भन्दा बढी हुने संभावना ३५% देखि ५५% रहेको छ। त्यसैगरी न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदर भन्दा बढी हुने संभावना ३५% देखि ४५% रहेको छ। धेरैजसो भू-भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने संभावना ३५% देखि ४५% रहेको छ भने सुदूरपश्चिम प्रदेशका मध्य भू-भाग, कर्णाली प्रदेशका मध्य पश्चिमी भू-भाग, गण्डकी र वागमती प्रदेशका उत्तरी भू-भाग, लुम्बिनी प्रदेशको पूर्वी तथा पश्चिमी भ-भाग र मधेश प्रदेशका पूर्वी भू-भागमा सरदर हुने संभावना ३५% देखि ४५% रहेको छ।

कृषि सारांश

  • देशको धेरै भू-भागहरुको अधिकतम तापक्रम तथा न्यूनतम तापक्रम बढ्ने तथा पानी पर्ने सम्भावना कम रहेकाले मकै, फलफुल तथा तरकारी लगायतका बालीमा माटोको चिस्यानको नियमित अनुगमन गरी सिंचाई व्यवस्थापन कार्य गर्नुहोस्।
  • वर्षे धानबालीवाट राम्रो उत्पादन लिन र आफुले लगाउन चाहेको ठाँउ अनुसारको लागि सिफारिस गरीएका धानका उन्नत जातहरुको ब्याड राख्नुहोस्।
  • सिंचाई र पानीको निकास राम्रो भएको खेतमा सुख्खा तथा हिले छरुवा धान खेती गरी धानखेतीको लागत खर्च घटाउनुहोस्।
  • कोदो बालीवाट राम्रो उत्पादन लिन आफुले लगाउने ठाँउ अनुसारको लागि सिफारिस गरीएका कोदोका जातहरुको छनौट गरी ब्याड राख्नुहोस्।
  • स्थानीय रुपमा घरमा नै भण्डारण गरेको आलुलाई आलुको पुतलीबाट हुने क्षति कम गर्न बोझोको धुलो २ ग्राम प्रति के.जी. आलुका दरले प्रयोग गर्नुहोस्।
  • फर्सी समुहको तरकारीमा लाग्ने गम निस्कने डढुवा रोगको ब्यबस्थापनको लागि मेन्कोजेब वा क्लोरोथालोनिलयुक्त बिषादी २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण बोट भिज्नेगरि ८-१० दिनको फरकमा २-३ पटकसम्म छर्केर उपचार गर्नुहोस्। 
  • देशका अधिकांश स्थानहरुमा लम्पी स्किन रोग फैलिरहेको हुँदा छालामा गिर्खाहरु देखिएका पशुहरुलाई ढुवानी नगर्नुहोस्। लक्षण देखिएका पशुहरुलाई अन्य स्वस्थ पशुहरुभन्दा अलग्गै राखी लक्षण अनुसारको उपचार गर्नुहोस्।रोगी पशुहरुको सम्पर्कमा आएपछि स्वस्थ पशुहरुको सम्पर्कमा नजानुहोस्। गोठहरुमा जैविक सुरक्षाका उपायहरु अवलम्वन गर्नुहोस्।
  • कुखुराहरुलाई गर्मीको तनाबबाट जोगाउन दिउँसोको समयमा दाना नदिने तथा पिउने पानीमा ग्लुकोज वा भेली प्रयोग गर्नुका साथै पानीका भाडाहरु थप संख्यामा राख्नुहोस् र स्वच्छ चिसो पानी मात्र प्रयोग गर्नुहोस्।
  • तराईका जिल्लाहरुमा एक लिंगीय टिलापिया र ग्रास कार्प माछाको भुरा उपलब्ध भएको हुँदा नजिकैको मत्स्य ह्याचरीमा सम्पर्क गर्नुहोस्। 
  • यो समयमा माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको वायुयन्त्रको प्रयोग गर्नुहोस्।
  • यस समयमा नर्सिङ्ग पोखरीमा ब्याक स्विमर कीराको प्रकोप व्यवस्थापन गर्न १.५ कठ्ठा भुरा हुर्काउने पोखरीमा ८ लिटर डिजेल, २ लिटर डढेको मोबिल र ५०० ग्राम सरफ मिसाई बनेको घोललाई हावा नचलेको बेला बिहानीपख चारै कुनामा पर्नेगरी छर्कनुहोस्। तत्पश्चात ४-५ घण्टा सो पानीको सतहलाई नचलाउनुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।