कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-९, अंक ७)

मौसमी सारांश:

  • गत साता वर्षा मापन भएका केन्द्रहरु मध्ये सबैभन्दा बढी गण्डकी प्रदेशको लम्जुङ जिल्लामा रहेको खुदिबजार केन्द्रमा १४९.९ मि.मि. वर्षा मापन भएको छ। तराईका धेरै स्थानमा ३५ डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ।लुम्बिनी प्रदेशको बाँके जिल्लामा रहेको नेपालगन्ज क्षेत्रीय कार्यालय केन्द्रमा सबैभन्दा बढी ४०.४ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम २.४ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • साताको शुरुमा देशभरी तथा अन्त्यमा सुदूर पश्चिम र कर्णाली प्रदेशहरुमा पश्चिमी वायको प्रभाव रहनेछ।
  • हिमाली भू-भागमासाताको अधिकांश दिनहरुमा आंशिक देखि सामान्य बदली रहि साताको शुरुमा केही स्थानहरुमा तथा साताको अन्त्यमाकर्णाली र सुदूरपश्चिमका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ।
  • पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि साताको शुरुमा केही स्थानहरुमा र साताको मध्य तथा अन्त्यमा लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशहरुका एक वा दुईस्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षाको संभावना छ।
  • देशका तराईका भू-भागहरुमा साताको शुरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षाको संभावना रहने
  • देशको अधिकांश भू-भागहरूमा अधिकतम तापक्रममा तथा न्यूनतम तापक्रममा हल्का वृद्दी हुने

मनसुन सिजन २०८० (जेठ १८-असोज १३) को हावापानी आँकलन

  • आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा कम वर्षा हुने संभावना ३५% देखि ५५% रहेको छ। तथापि कोशी प्रदेशका मध्य तथा उत्तर-पूर्वी भू-भाग, वागमती प्रदेशका दक्षिण पूर्वी भू-भाग र मधेश प्रदेशका अधिकांश भू-भागमा सरदर वर्षा हुने संभावना ३५% देखि ४५% रहेको छ। अधिकतम तापक्रम देशभर सरदर भन्दा बढी हुने संभावना ३५% देखि ५५% रहेको छ। त्यसैगरी न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदर भन्दा बढी हुने संभावना ३५% देखि ४५% रहेको छ। धेरैजसो भू-भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने संभावना ३५% देखि ४५% रहेको छ भने सुदूरपश्चिम प्रदेशका मध्य भू-भाग, कर्णाली प्रदेशका मध्य पश्चिमी भू-भाग, गण्डकी र वागमती प्रदेशका उत्तरी भू-भाग, लुम्बिनी प्रदेशको पूर्वी तथा पश्चिमी भ-भाग र मधेश प्रदेशका पूर्वी भू-भागमा सरदर हुने संभावना ३५% देखि ४५% रहेको छ।

 

 

कृषि सारांश

  • वर्षे धानबालीवाट राम्रो उत्पादन लिन र आफुले लगाउन चाहेको ठाँउ अनुसारको लागि सिफारिस गरीएका धानका उन्नत जातहरुको ब्याड राख्नुहोस्।
  • कोदो बालीवाट राम्रो उत्पादन लिन आफुले लगाउने ठाँउ अनुसारको लागि सिफारिस गरीएका कोदोका जातहरुको छनौट गरी ब्याड राख्नुहोस्।
  • लिचीमा फल फुट्ने समस्या हुने ठाँउहरुमा वोरेक्स वा वोरिक एसिड २ ग्राम प्रति लिटर पानीमा घोलेर २-३ पटक छर्कनुहोस्।
  • स्याउको बोक्रा खुइलिने रोगको व्यवस्थापनको लागि हिउँदको समय, जेठ तथा साउनमा पुरैबोट भिज्नेगरि १% को बोर्डो मिश्रण छर्कनुहोस्।रोगी हाँगा, काँटछाँट गर्दा बनेका घाउ बोटको काण्डमा बोर्डोपेष्ट बनाई लगाउनुहोस्।
  • खनेको प्याजको बोटलाई २-३ दिन छाँयामा फिँजाएर मात्र टुप्पा काटी गाना अलग गर्नुहोस्।  रोग लागेर बिग्रेको गानालाई हटाई केहि दिन सुकाएर प्याजको साईज अनुसार छुट्याएर भण्डारण गर्नुहोस्। साधारण अवस्थामा प्याजलाई खुला हावा लाग्ने बाँसको वा अन्य -याकमा भण्डारण गर्नुहोस्।
  • मध्य पहाडमा माघमा लगाईएको परिपक्क आलुबाली मौसमको अवस्था हेरी खन्नुहोस्।खनेको आलुलाई लामो समयसम्म खेतबारीमा थुपारेर नराख्नुहोस्। स्थानीय रुपमा घरमा नै भण्डारण गरेको आलुलाई आलुको पुतलीबाट हुने क्षति कम गर्न बोझोको धुलो २ ग्राम प्रति के.जी. आलुका दरले प्रयोग गर्नुहोस्।
  • फर्सी समुहको तरकारीमा लाग्ने गम निस्कने डढुवा रोगको ब्यबस्थापनको लागि मेन्कोजेब वा क्लोरोथालोनिलयुक्त बिषादी २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण बोट भिज्नेगरि ८-१० दिनको फरकमा २-३ पटकसम्म छर्केर उपचार गर्नुहोस्। 
  • भिण्डीमा फड्के कीराको प्रकोप देखिएमा फिप्रोनील ८० डब्लु.पी; ५ ग्राम १६ लिटर पानीमा वा इमिडाक्लोप्रिड १७.८ एस.एल. १ एम.एल.; २ लिटर पानीमा घोलेर छर्कनुहोस्।
  • देशका अधिकांश स्थानहरुमा लम्पी स्किन रोग फैलिरहेको हुँदा छालामा गिर्खाहरु देखिएका पशुहरुलाई ढुवानी नगर्नुहोस्। साथै, यस्ता लक्षण देखिएका पशुहरुलाई अन्य स्वस्थ पशुहरुभन्दा अलग्गै राखी लक्षण अनुसारको उपचारको लागि पशु स्वास्थ्य प्राविधिकहरुसँग सम्पर्क गरी खोप लगाउनुहोस्।
  • कुखुराहरुलाई गर्मीको तनाबबाट जोगाउन दिउँसोको समयमा दाना नदिने तथा पिउने पानीमा ग्लुकोज वा भेली प्रयोग गर्नुका साथै पानीका भाडाहरु थप संख्यामा राख्नुहोस् र स्वच्छ चिसो पानी मात्र प्रयोग गर्नुहोस्।
  • माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न बादल लागेको दिन र भोलिपल्ट विहानीपख प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको वायुयन्त्र प्रयोग गर्नुहोस्।
  • माछाको जुम्रा (आर्ग्युलस) को उपचारको लागि आईभरमेक्टीन १ एम.एल. प्रति २० के.जी. माछाको दरले दानामा राखेर लागतार ५ दिनसम्म खुवाउनुका साथै माछाको घनत्व कम गर्ने, पोखरी भित्र ठाँउ-ठाँउमा बाँस गाड्ने र उक्त बाँसलाई ३ दिनको अन्तरमा झिकेर सुकाउने र पोखरीको भित्री डिलमा उम्रेका झारपात सफा राख्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।