कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-९, अंक ६)

मौसमी सारांश:

  • गत साता वर्षा मापन भएका केन्द्रहरु मध्ये सबैभन्दा बढी कोशी प्रदेशको धनकुटा जिल्लामा रहेको धनकुटा केन्द्रमा १२०.८ मि.मि. वर्षा मापन भएको छ। तराईका अधिकांश स्थानमा ३५ डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरीएको छ। गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पुर्ब) जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ४०.३ डि.से. अधिकतम तापक्रम मापन गरीएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम १.७ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा साताको शुरू र अन्त्यमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना छ।
  • लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साताको अन्त्यमा हल्का देखि मध्यम वर्षाको संभावना छ।
  • हिमाली भू-भागहरुको थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको संभावना छ।
  • देशको पश्चिमी तराई भू-भागहरुको अधिकतम तापक्रम तथा न्यूनतम तापक्रम बढ्ने संभावना छ भने अन्य स्थानहरूको भने अधिकतम तापक्रम तथा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना छ।

मनसुन सिजन २०८० (जेठ १८-असोज १३) को हावापानी आँकलन

  • आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा कम वर्षा हुने संभावना ३५% देखि ५५% रहेको छ। तथापि कोशी प्रदेशका मध्य तथा उत्तर-पूर्वी भू-भाग, वागमती प्रदेशका दक्षिण पूर्वी भू-भाग र मधेश प्रदेशका अधिकांश भू-भागमा सरदर वर्षा हुने संभावना ३५% देखि ४५% रहेको छ। अधिकतम तापक्रम देशभर सरदर भन्दा बढी हुने संभावना ३५% देखि ५५% रहेको छ। त्यसैगरी न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदर भन्दा बढी हुने संभावना ३५% देखि ४५% रहेको छ। धेरैजसो भू-भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने संभावना ३५% देखि ४५% रहेको छ भने सुदूरपश्चिम प्रदेशका मध्य भू-भाग, कर्णाली प्रदेशका मध्य पश्चिमी भू-भाग, गण्डकी र वागमती प्रदेशका उत्तरी भू-भाग, लुम्बिनी प्रदेशको पूर्वी तथा पश्चिमी भ-भाग र मधेश प्रदेशका पूर्वी भू-भागमा सरदर हुने संभावना ३५% देखि ४५% रहेको छ।

 

कृषि सारांश

  • वर्षे धानबालीवाट राम्रो उत्पादन लिन र आफुले लगाउन चाहेको ठाँउ अनुसारको लागि सिफारिस गरीएका धानका उन्नत जातहरुको ब्याड राख्नुहोस्
  • चैते धानमा पतेरो कीरा लाग्ने समय भएकोले नियमीत अनुगमन गर्नुहोस्। प्रकोप ज्यादा भएमा साइपरमेथ्रीन २५% ई.सी., २.० एम.एल. प्रति लिटर पानीका दरले बोट राम्ररि भिज्नेगरी साँझको समयमा छर्नुहोस्।
  • कोदो बालीवाट राम्रो उत्पादन लिन आफुले लगाउने ठाँउ अनुसारको लागि सिफारिस गरीएका कोदोका जातहरुको छनौट गरी ब्याड राख्नुहोस्।
  • पहाडका लागि सिफारिस गरीएका भटमासका उन्नत जातहरु (तरकारी भटमास १, लुम्ले १, सेती र रेन्सम) लगाउनुहोस्।
  • सुन्तला जात तथा लेकाली फलफूल बालीका नर्सरीहरुमा कलमी गरेको भाग भन्दा तलबाट आएका चोर हाँगाहरु अनिवार्य रुपमा हटाउनुहोस्।
  • मध्य पहाडमा माघमा लगाईएको परिपक्क आलुबाली मौसमको अवस्था हेरी खन्नुहोस्।खनेको आलुलाई लामो समयसम्म खेतबारीमा थुपारेर नराख्नुहोस्। स्थानीय रुपमा घरमा नै भण्डारण गरेको आलुलाई आलुको पुतलीबाट हुने क्षति कम गर्न बोझोको धुलो २ ग्राम प्रति के.जी. आलुका दरले प्रयोग गर्नुहोस्।
  • फर्सी समुहको तरकारीमा लाग्ने गम् निस्किने डढुवा रोगको ब्यबस्थापनको लागि मेन्कोजेब  वा  क्लोरोथालोनिलयुक्त बिषादी २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण बोट भिज्नेगरि ८ देखि १० दिनको फरकमा २-३ पटकसम्म छर्केर उपचार गर्नुहोस्। 
  • जुटबालीमा लाग्ने झुसिल कीराको प्रकोप व्यवस्थापनको लागि बाली लगाएको ५-७ हप्तापछि १५-२० दिनको फरकमा क्लोरपाईरीफस १६% ई.सी. २.५ एम.एल. प्रतिलिटर पानीमा स्टिकर मिसाई साँझपख प्रकोप हेरि ३-४ पटकसम्म छर्नुहोस्।
  • हाल देशका अधिकांश स्थानहरुमा लम्पी स्किन रोग फैलिरहेको हुँदा छालामा गिर्खाहरु देखिएका पशुहरुलाई ढुवानी नगर्नुहोस्। साथै, यस्ता लक्षण देखिएका पशुहरुलाई अन्य स्वस्थ पशुहरुभन्दा अलग्गै राखी लक्षण अनुसारको उपचारको लागि पशु स्वास्थ्य प्राविधिकहरुसँग सम्पर्क गरी खोप लगाउनुहोस्।
  • कुखुराहरुलाई गर्मीको तनाबबाट जोगाउन दिउँसोको समयमा दाना नदिने तथा पिउने पानीमा ग्लुकोज वा भेली प्रयोग गर्नुका साथै पानीका भाडाहरु थप संख्यामा राख्नुहोस् र स्वच्छ चिसो पानी मात्र प्रयोग गर्नुहोस्।
  • माछाको जुम्रा (आर्ग्युलस) को उपचारको लागि आईभरमेक्टीन १ एम.एल. प्रति २० के.जी. माछाको दरले दानामा राखेर लागतार ५ दिनसम्म खुवाउनुका साथै माछाको घनत्व कम गर्ने, पोखरी भित्र ठाँउ-ठाँउमा बाँस गाड्ने र उक्त बाँसलाई ३ दिनको अन्तरमा झिकेर सुकाउनेर पोखरीको भित्री डिलमा उम्रेका झारपात सफा राख्नुहोस्।
  • यो समयमा माछाका हुर्कौला अवस्थाका भुराहरुलाई सेतो थोप्ले रोग (ईक)को संक्रमण जोखिम हुन सक्ने भएको हुँदा परिजिवीबाट संक्रमितहुर्कौलाहरुलाई रोग निवारणको लागि संयुक्त विधिबाटअर्थात कोह्रसोलिन टि.एच. ०.००३ एम.एल., प्रति लिटर पानीका दरले र ढिके नुन १५० एम.जी., प्रति लिटर पानीका दरलेआलोपालो गरी प्रत्येक दुई घण्टाको अन्तरालमा१२ घण्टासम्म रेस्वेको उपचार गर्नुहोस्।साथै, ट्रिनिडाजोल ३० एम.जी., प्रति के.जी. माछाको तौलको दरले दिनमा एकपटक पहिलो दानामा मिसाएर सात दिनसम्म खुवाउनुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।