कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-९, अंक ५)

मौसमी सारांश:

  • पहाडी भू-भागमा साताको मध्य र अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको संभावना छ।
  • हिमाली भू-भागहरुको थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको संभावना छ।
  • देशको धेरै भू-भागहरुको अधिकतम तापक्रम तथा न्यूनतम तापक्रममा बढ्ने संभावना छ।

मनसुन सिजन २०८० (जेठ १८-असोज १३) को हावापानी आँकलन

  • आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा कम वर्षा हुने संभावना ३५% देखि ५५% रहेको छ। तथापि कोशी प्रदेशका मध्य तथा उत्तर-पूर्वी भू-भाग, वागमती प्रदेशका दक्षिण पूर्वी भू-भाग र मधेश प्रदेशका अधिकांश भू-भागमा सरदर वर्षा हुने संभावना ३५% देखि ४५% रहेको छ। अधिकतम तापक्रम देशभर सरदर भन्दा बढी हुने संभावना ३५% देखि ५५% रहेको छ। त्यसैगरी न्यूनतम तापक्रम केही स्थानमा सरदर र केही स्थानमा सरदर भन्दा बढी हुने संभावना ३५% देखि ४५% रहेको छ। धेरैजसो भू-भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने संभावना ३५% देखि ४५% रहेको छ भने सुदूरपश्चिम प्रदेशका मध्य भू-भाग, कर्णाली प्रदेशका मध्य पश्चिमी भू-भाग, गण्डकी र वागमती प्रदेशका उत्तरी भू-भाग, लुम्बिनी प्रदेशको पूर्वी तथा पश्चिमी भ-भाग र मधेश प्रदेशका पूर्वी भू-भागमा सरदर हुने संभावना ३५% देखि ४५% रहेको छ।

 

कृषि सारांश

  • तराईका अधिकांश स्थानहरुमा गत वर्षको प्रि-मनसुनमा भएको वर्षाको तुलनामा यस वर्षको प्रि-मनसुनको हालको अवधि सम्म भएको वर्षा सरदर भन्दा कम भएको र आगामी सातामा समेत वर्षाको सम्भावना न्यून रहेकोले चैते धान, मकै, उखु, फलफूल (आँप, लिची आदी)तथा तरकारी बालीमा चिस्यानको नियमित अनुगमन गरी आवश्यकता अनुसार सिंचाईको व्यवस्था गर्नुहोस्।
  • वर्षे धानबालीवाट राम्रो उत्पादन लिन र आफुले लगाउन चाहेको ठाँउ अनुसारको लागि सिफारिस गरिएका धानका उन्नत जातहरुको बीउ भरपर्दो श्रोतबाट समयमा नै व्यवस्था गर्नुहोस्।
  • चैते धानमा पतेरो कीरा लाग्ने समय भएकोले नियमीत अनुगमन गर्नुहोस्। प्रकोप ज्यादा भएमा मालाथियन ५०% ई.सी. वा साइपरमेथ्रीन २५% ई.सी., २.० एम.एल. प्रति लिटर पानीका दरले बोट राम्ररि भिज्नेगरि साँझको समयमा छर्नुहोस्।
  • चैते धानमा गवारो कीराको व्यवस्थापन गर्न फिप्रोनिल अथवा क्लोरपाईरिफस ४% जी. १० के.जी. प्रति हेक्टरको दरले पानी नपरेको समयमा साँझपख छर्नुहोस्।
  • कोदो बालीवाट राम्रो उत्पादन लिन आफुले लगाउने ठाँउ अनुसारको लागि सिफारिस गरिएका कोदोका जातहरुको छनौट गरि ब्याड राख्नुहोस्।
  • पहाडका लागि सिफारिस गरिएका भटमासका उन्नत जातहरु (तरकारी भटमास १, लुम्ले १, सेती र रेन्सम) लगाउनुहोस्।
  • मध्य पहाडमा माघमा लगाईएको परिपक्क आलुबाली मौसमको अवस्था हेरी खन्नुहोस्। खनेको आलुलाइ अँध्यारो, सुख्खा र चिसो ठाँउ (१०-१५ डिग्री सेल्सियस तापक्रम) मा काठका बाकस, प्लाष्टिकका क्रेट वा -याकमा फिंजाएर ३ तहसम्म मिलाएर राख्नुहोस्।
  • काँक्रो, फर्सी समुहको लहरेबालीमा रातो खपटे कीराले विहान बेलुका नोक्सानी पुर्याउने भएकोले सम्भव भएसम्म टिपेर नष्ट गर्नुहोस्। कीराको प्रकोप धेरै भएमा साँझपख साईपरमेथ्रिन (१०% ई.सी.) २ एम.एल.प्रति लिटर पानीमा मिसाएर माटो बोट भिज्नेगरि छर्कनुहोस्।
  • कुखुराहरुलाई गर्मीको तनाबबाट जोगाउन दिउँसोको समयमा दाना नदिने तथा पिउने पानीमा ग्लुकोज वा भेली प्रयोग गर्नुका साथै पानीका भाडाहरु थप संख्यामा राख्नुहोस् र स्वच्छ चिसो पानी मात्र प्रयोग गर्नुहोस्।
  • यो समयमा माछाका हुर्कौला अवस्थाका भुराहरुलाई सेतो थोप्ले रोग (ईक)को संक्रमण जोखिम हुन सक्ने भएको हुँदा परिजिवीबाट संक्रमितहुर्कौलाहरुलाई रोग निवारणको लागि संयुक्त विधिबाटअर्थात कोह्रसोलिन टि.एच. ०.००३ एम.एल., प्रति लिटर पानीका दरले र ढिके नुन १५० एम.जी., प्रति लिटर पानीका दरलेआलोपालो गरि प्रत्येक दुई घण्टाको अन्तरालमा१२ घण्टासम्म रेस्वेको उपचार गर्नुहोस्।साथै, ट्रिनिडाजोल ३० एम.जी., प्रति के.जी. माछाको तौलको दरले दिनमा एकपटक पहिलो दानामा मिसाएर सात दिनसम्म खुवाउनुहोस्।
  • तराईका जिल्लाहरुमा टिलापिया माछाको प्रजनन समय भएको हुँदा एक लिंगीय टिलापिया उत्पादक ह्याचरी कृषकहरूले आवश्यक टिलापिया ब्रुड (२००-३०० ग्राम) छनौट गरेर प्रजनन पोखरीमा हापामा सेटिंग गरि प्रति वर्ग मिटर तीन माछाका दरले स्टक गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा (आज) सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।