कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-९, अंक ३)

मौसमी सारांश:

  • साताभर नै पश्चिमी वायूको प्रभाव रहनुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहनेछ।
  • साताभरी नै देशभर आंशिक देखि सामान्य बदली रहनेछ।
  • हिमाली भू-भागहरुको केहि स्थानहरुमा हल्का वर्षा/हिमपातको संभावना छ।
  • पहाडी भू-भागका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का बर्षाको संभावना छ। साथै, एक-दुई स्थानमा मध्यम वर्षाको समेत संभावना छ।
  • सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराई भू-भागहरु तथा मधेश प्रदेशका एक-दुई स्थानमा हावाहुरीको समेत संभावना छ।
  • देशको अधिकांश भू-भागहरुको अधिकतम तापक्रम केहि घट्ने तथा न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने देखिन्छ।

कृषि सारांश

  • खरबारी, डालेघाँस लगाएको नर्सरी, बेर्ना सारेको बारी तथा गोठ वरिपरी आगो लाग्नबाट बचाउन २-३ मिटर चौडाईमा घाँसपात पतिंगर हटाई अग्निनियन्त्रण रेखा बनाउनुहोस्।
  • चैते धानमा गवारो कीराको व्यवस्थापन गर्न फिप्रोनिल अथवा क्लोरपाईरिफस ४% जी. १० के.जी. प्रति हेक्टरको दरले पानी नपरेको समयमा साँझपख छर्नुहोस्।
  • वर्षायाममा मध्यपहाडी क्षेत्रमा लगाईने मकैको सिफारिस जातहरु मनकामना-१, मनकामना-३, मनकामना-४, मनकामना-५, मनकामना-६, पोषिलो मकै-१, खुमल पहेंलो, सितला, देउती, खुमल हाइब्रिड-२ (बर्णशंकर मकै) आदि तथा छिटो पाक्ने मकैका जातहरु अरुण-३, अरुण-४, अरुण-६ र उच्च पहाडी क्षेत्रका लागि गणेश-१, गणेश-२ छर्नुहोस्।
  • गहुँबाली काट्ने कार्यमा लागत न्यूनीकरण तथा समयको बचत गर्न उपलब्ध मेशिनहरु- कम्बाईन हार्वेस्टर,रीपर,ब्रस कटर आदी प्रयोग गर्नुहोस्।साथै,थ्रेशिंगको बेला हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउनुहोस्।
  • कम्बाईन हार्भेष्टरले गहुँ काट्दा खेतमा छोडेको छ्वाली जलाउँदा खेत र वातावरणमा प्रतिकुल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने हुँदा बेलर मेसिन अथवा अन्य विधिहरु बाट छ्वाली जम्मा गर्नुहोस्।
  • पहाडका लागि सिफारिस गरिएका भटमासका उन्नत जातहरु (तरकारी भटमास १, लुम्ले १, सेती र रेन्सम) लगाउनुहोस्।
  • मुंग लगाउनु हुने कृषकहरुले कल्याण, प्रतिक्षा र प्रतिज्ञा मध्ये उपलब्ध जातको बीउलाई राइजोबियम जीवाणुले उपचार गरी १-१.५ के.जी. बीउ प्रति कट्ठाका दरले छर्नुहोस्।
  • आँपकोफल कुहाउने औँसालाई फल गुच्चा आकारको भएको अवस्था देखि भाले झिँगा आकर्षण गर्न फेरोमेन ट्र्याप राख्नुहोस्।
  • काँक्रो, फर्सी समुहको लहरेबालीमा रातो खपटे कीराले विहान बेलुका नोक्सानी पुर्याउने भएकोले सम्भव भएसम्म टिपेर नष्ट गर्नुहोस्। कीराको प्रकोप धेरै भएमा साँझपख साईपरमेथ्रिन (१०% ई.सी.) २ एम.एल.प्रति लिटर पानीमा मिसाएर माटो बोट भिज्नेगरि छर्कनुहोस्।
  • केराउ/सिमीको कोसामा लाग्ने गवारो कीरा व्यवस्थापनको लागी मालाथियन 50% ई.सि. वा रोगर ३०% ई.सी., २.५ एम.एल. प्रति लिटर पानीमा मिसाएर र प्रकोप ज्यादा भएमा क्लोरानट्रानिलिप्रोल (18.5% SC) वास्पिनोसाड (45% SC) १एम.एल. प्रति लिटर पानीमा मिसाएर साँझपख छर्कनुहोस्। एउटै बिषादी निरन्तर प्रयोग नगरेर आलोपालो गरी प्रयोग गर्नुहोस्।
  • भण्टाको डाँठ तथा फलको गबारो व्यवस्थापनको लागी गवारोको कारण ओईलएको मुन्टा, पात तथा फल टिपी करीव १ फुट गहिरो खाडलमा पुर्ने वा जलाउने गर्नुहोस्। क्लोरानट्रानिलिप्रोल (कोराजेन) १८.५ एस.सी., ०.२ एम.एल. प्रति लिटर पानीमा मिसाई साँझपख पानी नपरेको समयमा छर्कनुहोस्।
  • कुखुराहरुलाई गर्मीको तनाबबाट जोगाउन दिउँसोको समयमा दाना नदिने तथा पिउने पानीमा ग्लुकोज वा भेली प्रयोग गर्नुका साथै पानीका भाडाहरु थप संख्यामा राख्नुहोस् र स्वच्छ चिसो पानी मात्र प्रयोग गर्नुहोस्।
  • तराईका जिल्लाहरुमा टिलापिया माछाको प्रजनन समय भएको हुँदा एक लिंगीय टिलापिया उत्पादक ह्याचरी कृषकहरूले आवश्यक टिलापिया ब्रुड (२००-३०० ग्राम) छनौट गरेर प्रजनन पोखरीमा हापामा सेटिंग गरि प्रति वर्ग मिटर तीन माछाका दरले स्टक गर्नुहोस्। प्रत्येक ५ दिनमा पोथी माउको मुखबाट अण्डा सङ्कलन गरि ह्याचिंग जारमा कोरल्न राख्नुहोस्। औसत २७-२९ डिग्री सेल्सियस पानी तापक्रममा करिब ७०-९० घन्टामा अण्डावाट भुरा निस्कन थाल्छ। औसत ९९ % एक लिंगीय टिलापिया भुरा उत्पादन गर्न नाभी थैली सुकेपछि पौडिन शुरु गरेका भुरा प्रति वर्ग मिटर ६००० गोटाका दरले नर्सिंग हापामा स्टक गरि लागातर २१ दिनसम्म ६० मिलीग्राम एम.टि. हर्मोन प्रति किलोग्राम दानामा मिसाई खुवाउनुहोस्।
  • तराईका जिल्लाहरुमा ग्रास कार्प जातका माछाका ह्याचलिङ्ग तथा मध्यपहाडका जिल्लाहरुमा कमन कार्प जातका भुरा बिक्री वितरण शुरु भईसकेको हुँदा मत्स्यपालन गर्ने कृषकहरुले नजिकैको सरकारी/नीजि ह्याचरीहरुमा सम्पर्क गर्नुहोस्। 
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।