कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-९, अंक २)

मौसमी सारांश:

  • वर्षा मापन भएका केन्द्रहरु मध्ये सबैभन्दा बढी गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको लेते केन्द्रमा २१.९ मि.मि. वर्षा मापन भएको छ। तराईका अधिकांश स्थानमा ३०.० डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पुर्ब) जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ४१.१ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ०.७ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • आगामी साताभर पश्चिमी वायुको उल्लेखनिय प्रभाव रहनुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहनेछ।
  • साताको शुरूमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको संभावना छ।
  • साताको मध्यमा देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्त्यमा एक-दुई स्थानमा हल्का बर्षाको संभावना छ।
  • सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराई भू-भागमा साताको शुरूमा तथा मधेश प्रदेशमा साताको मध्यमा हावाहुरीको संभावना छ।
  • देशको अधिकांश भू-भागको अधिकतम तापक्रम र न्यूनतम तापक्रममाउल्लेखनिय परिवर्तन नहुने देखिन्छ।

कृषि सारांश

  • चैते धानमा गवारो कीराको व्यवस्थापन गर्न फिप्रोनिल अथवा क्लोरपाईरिफस ४% जी. १० के.जी. प्रति हेक्टरको दरले पानी नपरेको समयमा साँझपख छर्नुहोस्।
  • वर्षायाममा मध्यपहाडी क्षेत्रमा लगाईने मकैको सिफारिस जातहरु मनकामना-१, मनकामना-३, मनकामना-४, मनकामना-५, मनकामना-६, पोषिलो मकै-१, खुमल पहेंलो, सितला, देउती, खुमल हाइब्रिड-२ (बर्णशंकर मकै) आदि तथा छिटो पाक्ने मकैका जातहरु अरुण-३, अरुण-४, अरुण-६ र उच्च पहाडी क्षेत्रका लागि गणेश-१, गणेश-२ छर्नुहोस्।
  • साताको शुरुमा (आईतबारसम्म) पश्चिमी वायुको प्रभावले थोरै स्थानमा हल्का वर्षाको संभावना रहेकोले पाकेको मुसुरोबाली तथा गहुँबाली नकाट्नुहोस्, काटिसकेको बालीलाई उचित व्यवस्थापन गर्नुहोस्। सोमबारपछि मौसमको अवस्था हेरी भित्र्याउनुहोस्।
  • गहुँबाली काट्ने कार्यमा लागत न्यूनीकरण तथा समयको बचत गर्न उपलब्ध मेशिनहरु- कम्बाईन हार्वेस्टर,रीपर,ब्रस कटर आदी प्रयोग गर्नुहोस्।साथै,थ्रेशिंगको बेला हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउनुहोस्।
  • कम्बाईन हार्भेष्टरले गहुँ काट्दा खेतमा छोडेको छ्वाली जलाउँदा खेत र वातावरणमा प्रतिकुल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने हुँदा बेलर मेसिन अथवा अन्य विधिहरु बाट छ्वाली जम्मा गर्नुहोस्।
  • पहाडका लागि सिफारिस गरिएका भटमासका उन्नत जातहरु (तरकारी भटमास १, लुम्ले १, सेती र रेन्सम) लगाउनुहोस्।
  • मुंग लगाउनु हुने कृषकहरुले कल्याण, प्रतिक्षा र प्रतिज्ञा मध्ये उपलब्ध जातको बीउलाई राइजोबियम जीवाणुले उपचार गरी १-१.५ के.जी. बीउ प्रति कट्ठाका दरले छर्नुहोस्।
  • आँपको फल कुहाउने औँसालाई फल गुच्चा आकारको भएको अवस्थादेखि भाले झिँगा आकर्षण गर्न फेरोमेन ट्र्या राख्नुहोस्।
  • काँक्रो, फर्सी समुहको लहरे बालीमा रातो खपटे कीराले विहान बेलुका नोक्सानी पुर्याउने भएकोले सम्भव भएसम्म टिपेर नष्ट गर्नुहोस्। कीराको प्रकोप धेरै भएमा साँझपख साईपरमेथ्रिन (१०% ई.सी.) २ एम.एल.प्रति लिटर पानीमा मिसाएर माटो बोट भिज्ने गरि छर्कनुहोस्।
  • केराउ/सिमीको कोसामा लाग्ने गवारो कीरा व्यवस्थापनको लागी मालाथियन 50% ई.सि. वा रोगर ३०% ई.सी. २.५ एम.एल. प्रति लिटर पानीमा मिसाएर र प्रकोप ज्यादा भएमा क्लोरानट्रानिलिप्रोल (18.5% SC) वास्पिनोसाड (45% SC) एम.एल. प्रति लिटर पानीमा मिसाएर साँझपख छर्कनुहोस्। एउटै बिषादी निरन्तर प्रयोग नगरेर आलोपालो गरी प्रयोग गर्नुहोस्।
  • भण्टाको डाँठ तथा फलको गबारो व्यवस्थापनको लागी गवारोको कारण ओईलएको मुन्टा, पात तथा फल टिपी करीव १ फुट गहिरो खाडलमा पुर्ने वा जलाउने गर्नुहोस्। क्लोरानट्रानिलिप्रोल (कोराजेन) १८.५ एस.सी., ०.२ एम.एल. प्रति लिटर पानीमा मिसाई साँझपख पानी नपरेको समयमा छर्कनुहोस्।
  • कुखुराहरुलाई गर्मीको तनाबबाट जोगाउन दिउँसोको समयमा दाना नदिने तथा पिउने पानीमा ग्लुकोज वा भेली प्रयोग गर्नुका साथै पानीका भाडाहरु थप संख्यामा राख्नुहोस् र स्वच्छ चिसो पानी मात्र प्रयोग गर्नुहोस्।
  • प्रजननयोग्य माउमाछालाई कुल तौलको १-२ प्रतिशतका दरले २८-३० प्रतिशत प्रोटिन रहेको दाना दिनहुँ नियमित समयमा दिनुहोस् र माउमाछा भएको पोखरीमा पानी बदल्दा बोरिंगको पानी प्रयोग गर्नुहोस्। साथै विकसित अन्डालाई पर्याप्त पोषण पुर्याउन हप्ता दिनको अन्तरमा भिटामिन सी.०.५ के.जी. र भिटामिन ई २५०० एम.जी., प्रति के.जी. माछाको दरले दानामा मिसाई खुवाउनुहोस्।
  • तराईका जिल्लाहरुमा ग्रास कार्प जातका माछाका ह्याचलिङ्ग तथा मध्यपहाडका जिल्लाहरुमा कमन कार्प जातका भुरा बिक्री वितरण शुरु भईसकेको हुँदा मत्स्यपालन गर्ने कृषकहरुले नजिकैको सरकारी/नीजि ह्याचरीहरुमा सम्पर्क गर्नुहोस्। 
    • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।