कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-९, अंक १)

मौसमी सारांश:

  • साताको सुरु र अन्त्यमा स्थानीय वायुसगै पश्चिमी वायुको आंशिक प्रभाव रह देशभर आंशिक बदली रहनेछ।
  • साताको शुरु र अन्त्यतिर देशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको संभावना छ।
  • साताको शुरु र अन्त्यतिर देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको संभावना
  • साताभर नै तराई भू-भागहरुमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ।
  • देशको अधिकांश भू-भागको अधिकतम तापक्रम र न्यूनतम तापक्रम हल्का बढ्ने संभावना

कृषि सारांश

  • पाकेको गहुँबाली तथा मुसुरोबाली मौसमको अवस्था हेरि भित्र्याउनुहोस्।गहुँबाली काट्ने कार्यमा लागत न्यूनीकरण तथा समयको बचत गर्न उपलब्ध मेशिनहरु कम्बाईन हार्वेस्टर,रीपर,ब्रस कटर आदी प्रयोग गर्नुहोस्।साथै,ठुला थ्रेसरहरुबाट गहुँ थ्रेशिंग गर्दा विभिन्न दुर्घटना हुने संभावना हुनेहुँदा थ्रेसिंगको बेला आवश्यक सावधानी अपनाउनुहोस्। 
  • कम्बाईन हार्भेष्टरले गहुँ काट्दा खेतमा छोडेको छ्वाली जलाउँदा खेत र वातावरणमा प्रतिकुल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने हुँदा बेलर मेसिन अथवा अन्य विधिहरु बाट छ्वाली जम्मा गर्नुहोस्।
  • चैते धानमा गवारो कीराको व्यवस्थापन गर्न फिप्रोनिल अथवा क्लोरपाईरिफस ४% जी. १० के.जी. प्रति हेक्टरको दरले पानी नपरेको समयमा साँझपख छर्नुहोस्।
  • पहाडका लागि सिफारिस गरिएका भटमासका उन्नत जातहरु (तरकारी भटमास १, लुम्ले १, सेती र रेन्सम) लगाउनुहोस्।
  • मुंग लगाउनु हुने कृषकहरुले कल्याण, प्रतिक्षा र प्रतिज्ञा मध्ये उपलब्ध जातको बीउलाई राइजोबियम जीवाणुले उपचार गरी १-१.५ के.जी. बीउ प्रति कट्ठाका दरले छर्नुहोस्।
  • काँक्रो, फर्सी समुहको लहरे बालीमा रातो खपटे कीराले विहान बेलुका नोक्सानी पुर्याउने भएकोले सम्भव भएसम्म टिपेर नष्ट गर्नुहोस्। कीराको प्रकोप धेरै भएमा साँझपख साईपरमेथ्रिन (१०% ई.सी.) २ एम.एल.प्रति लिटर पानीमा मिसाएर माटो बोट भिज्ने गरि छर्कनुहोस्।
  • काँक्रो, फर्सी समुहको लहरे बालीमा शीते ढुसीको व्यवस्थापनको लागि रोगी पातहरु हटाई मेन्कोजेव युक्त विषादी २-२.५ ग्रामप्रति लिटर पानीमा मिसाई हरेक ८-१० दिनको अन्तरमा ३-४ पटक सम्पूर्ण बोट भिज्नेगरि छर्कनुहोस्। सिंचाई दिँदा स्प्रिङ्कल प्रयोग नगर्नुहोस्।
  • भण्टाको डाँठ तथा फलको गबारो व्यवस्थापनको लागी गवारोको कारण ओईलएको मुन्टा, पात तथा फल टिपी करीव १ फुट गहिरो खाडलमा पुर्ने वा जलाउने गर्नुहोस्। क्लोरानट्रानिलिप्रोल (कोराजेन) १८.५ एस.सी., ०.२ एम.एल. प्रति लिटर पानीमा मिसाई साँझपख पानी नपरेको समयमा छर्कनुहोस्।
  • उखुबालीमा टुसा पसाउने गवारोको प्रकोप कम गर्न उखु रोपेको ४५ ६० दिनमा ईन्च जति माटो चढाएर हल्का सिँचाई गरि थायोडीकार्प २ ग्राम प्रतिलिटर पानीको दरले प्रति हेक्टर ८००-१००० लिटर घोल साँझपख छर्नुहोस्।
  • हाल सुदूरपश्चिम प्रदेशका बाख्राहरुमा रेबिज रोग देखापरेको हुनाले पशुवस्तुमा रेबिज रोगको शंका लागेमा नजिकैको पशु सेवा कार्यालय वा प्राविधिकहरुसँग सम्पर्क गरी आवश्यक सल्लाह लिनुहोस्।
  • खुल्लारुपमा पालिएका हाँस, कुखुराहरुलाई जूकाको औषधी खुवाएको तीन महिना भन्दा बढी भएको भए अल्बेन्डाजोल १० एम.जी. प्रति के.जी. शारीरिक तौलको दरले एक मात्रा खुवाउनुहोस्।
  • यस समयमा नर्सिङ्ग पोखरीमा ब्याक स्विमर कीराले माछा भुरामा क्षति पुर्याउने हुँदा १.५ कठ्ठा भुरा हुर्काउने पोखरीमा ८ लिटर डिजेल, २ लिटर डढेको मोबिल र ५०० ग्राम सरफ मिसाई बनेको घोललाई हावा नचलेको बेला बिहानीपख चारै कुनामा पर्नेगरि छर्कनुहोस्। तत्पश्चात ४-५ घण्टा सो पानीको सतहलाई नचलाउनुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा (आज) सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।