![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक ५२)
मौसमी सारांश:
- साताको शुरु र अन्त्यमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहने तर मध्यमा पश्चिमी वायुको सामान्य प्रभाव रहनेछ।
- साताको मध्यमा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको संभावना छ।
- देशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको संभावना छ।
- देशको अधिकांश भू-भागको अधिकतम तापक्रम र न्यूनतम तापक्रम हल्का बढ्ने संभावना छ।
- देशको तराई भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
कृषि सारांश
- पाकेको गहुँबाली तथा मुसुरोबाली मौसमको अवस्था हेरि भित्र्याउनुहोस्।कम्बाईन हार्भेष्टरले गहुँ काट्दा खेतमा छोडेको छ्वाली जलाउँदा खेत र वातावरणमा प्रतिकुल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने हुँदा बेलर मेसिन अथवा अन्य विधिहरु बाट छ्वाली जम्मा गर्नुहोस्।
- चैते धानमा गवारो कीराको व्यवस्थापन गर्न फिप्रोनिल अथवा क्लोरपाईरिफस ४% जी. १० के.जी. प्रति हेक्टरको दरले पानी नपरेको समयमा साँझपख छर्कनुहोस्।
- मुंग लगाउनु हुने कृषकहरुले कल्याण, प्रतिक्षा र प्रतिज्ञा मध्ये उपलब्ध जातको बीउलाई राइजोबियम जीवाणुले उपचार गरी १-१.५ के.जी. बीउ प्रति कट्ठाका दरले छर्नुहोस्।
- फलफूल बालीको फलफुट्नेसमस्या कम गर्न केराउगेडे अवस्थाको फल भएपछि प्लानोफिक्सवा प्लान्टोप्लेक्स १ एम.एल. प्रति लिटर पानीमा घोली पात र फल भिज्नेगरि छर्नुहोस्।
- सुन्तलाजातको फलफूल बालीहरुमा पात खन्ने कीराको नोक्सानी कम गर्न ४ भाग पानीमा गाईको गहुँत वा निमको पातको झोल १ भाग मिसाई ५ दिनको फरकमा ३ पटक छर्कनुहोस्। साथै व्यवसायिक खेती गर्ने कृषकहरुले डाइमेथोएट ३०% ई.सी., १.५ एम.एल. प्रति लिटर पानीमा घोलेर ७ दिनको फरकमा ३ पटक छर्कनुहोस्।
- सुन्तलाजात फलफुल बगैँचामा सुक्ष्म खाद्यतत्वको व्यवस्थापनका लागि पालुवा आइरहेको बेला र दाना लागिसकेपछि २ पटक मल्टिप्लेक्स २.५ ग्राम प्रति लिटर पानीको दरले पात भिज्नेगरि छर्नुहोस्।
- अनारमा लाग्ने पुतलीको कारणले फल झर्ने र कुहिने समस्या हुने हुँदा फूल फुलेदेखि फल तयार हुने बेलासम्म यस समस्याको समाधानका लागि नीमजन्यविषादी ०.३ ई.सी., ५ एम.एल. प्रतिलिटर पानीमा घोली १५ दिनको फरकमा ४ पटकसम्म छर्नुहोस्।प्रकोप अधिक देखिएमा बगैँचाहरुमा साईपरमेथ्रिन (१०% ई.सी.) २एम. एल. प्रति लिटर पानीमा घोली १५ दिनको फरकमा ३ पटकसम्म छर्कनुहोस्।
- भण्टाको डाँठ तथा फलको गबारो व्यवस्थापनको लागी गवारोको कारण ओईलएको मुन्टा, पात तथा फल टिपी करीव १ फुट गहिरो खाडलमा पुर्ने वा जलाउने गर्नुहोस्। क्लोरानट्रानिलिप्रोल (कोराजेन) १८.५ एस.सी., ०.२ एम.एल. प्रति लिटर पानीमा मिसाई साँझपख पानी नपरेको समयमा छर्कनुहोस्।
- प्याजको शीते ढुसी रोगको प्रकोप व्यवस्थापनको लागि रोगग्रस्त पातहरु हटाई मेन्कोजेववा मेटाल्याक्जिल विषादी २ ग्राम प्रति लिटर पानीको झोलले पातहरु भिज्नेगरि हप्तादिनको फरकमा २-४ पटकसम्म छर्कनुहोस्।
- उखुबालीमा टुसा पसाउने गवारोको प्रकोप कम गर्न उखु रोपेको ४५ र ६० दिनमा ३ ईन्च जति माटो चढाएर हल्का सिँचाई गरि थायोडीकार्प २ ग्राम प्रतिलिटर पानीको दरले प्रति हेक्टर ८००-१००० लिटर घोल साँझपख छर्नुहोस्।
- हाल सुदूरपश्चिम प्रदेशका बाख्राहरुमा रेबिज रोग देखापरेको हुनाले पशुवस्तुमा रेबिज रोगको शंका लागेमा नजिकैको पशु सेवा कार्यालय वा प्राविधिकहरुसँग सम्पर्क गरी आवश्यक सल्लाह लिनुहोस्।
- खुल्लारुपमा पालिएका हाँस, कुखुराहरुलाई जूकाको औषधी खुवाएको तीन महिना भन्दा बढी भएको भए अल्बेन्डाजोल १० एम.जी. प्रति के.जी. शारीरिक तौलको दरले एक मात्रा खुवाउनुहोस्।
- यस समयमा नर्सिङ्ग पोखरीमा ब्याक स्विमर कीराले माछा भुरामा क्षति पुर्याउने हुँदा १.५ कठ्ठा भुरा हुर्काउने पोखरीमा ८ लिटर डिजेल, २ लिटर डढेको मोबिल र ५०० ग्राम सरफ मिसाई बनेको घोललाई हावा नचलेको बेला बिहानीपख चारै कुनामा पर्नेगरि छर्कनुहोस्। तत्पश्चात ४-५ घण्टा सो पानीको सतहलाई नचलाउनुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।