नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक ४९)
मौसमी सारांश:
- गत साता वर्षा मापन भएका केन्द्रहरु मध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको मार्तडी केन्द्रमा ४९.४ मि.मि. वर्षा मापन भएको छ। तराईका अधिकांश स्थानमा 30 डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पुर्ब) जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ३४.६ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको जोमसोम केन्द्रमा सबैभन्दा कम -२.१ डि.से. न्यूनतम तापक्रम मापन भएको छ। यो साता पश्चिमी वायुको सामान्य प्रभाव रहनेछ।
- यो साताको मौसममा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहने छ।
- साताभर देशको हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही साताको शुरु तथा मध्यतिर केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ।
- साताभर देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही साताको शुरु तथा मध्यतिर केहि स्थानहरुमा र साताको अन्त्यतिर थोरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको संभावना छ।
- साताभर देशको तराईका भू-भागमा आंशिक देखि सामान्य बदली रही साताको शुरु र मध्यतिर थोरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षाको संभावना छ।
- देशको अधिकांश भू-भागहरूमा दिउसोको अधिकतम तापक्रममा हल्का गिरावट आउनुको साथै रातीको न्यूनतम तापक्रममा हल्का वृद्दी हुने संभावना छ।
कृषि सारांश
- तयार भैसकेका चैते धानको बेर्ना रोप्नुहोस्।
- वसन्ते मकैका लागि उपयुक्त जातहरु अरुण-३, अरुण-४, अरुण-६, रामपुर हाईब्रिड-८ र रामपुर हाईब्रिड-१० मध्ये भरपर्दो श्रोतबाट उपलब्ध जातहरुको बीउ लगाउनुहोस्।
- गहुँबालीमा सिन्दुरे रोग व्यवस्थापनको लागि ढुसीनाशक विषादी टिल्ट १ एम.एल. वा नाटिभो ०.५ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार २-३ पटक प्रयोग गर्नुहोस्।
- आँपको कोयामा लाग्ने घुनको प्रकोप हुने बगैँचाहरुमा नीमजन्य बिषादी ५ एम.एल. अथवा फ्लूबेनडीयामाइड ३९.३५% एस.सी. ०.३५ एम.एल. प्रति लिटर पानीमा घोलेर फल केराउ/लप्सी दाना जत्रो भएपछि बोटको हाँगाहरु र हाँगाको कापमा १० दिनको फरकमा २-३ पटक साँझपख छर्कनुहोस्।
- मध्यपहाडमा बीउको लागि लगाइएको आलुबालीमा भाईरस रोगको अनुगमन गरी पात दोब्रिएका, टाटेपाटे देखिएका, पहेँलिएका र स्वस्थ बोटभन्दा फरक देखिएका भाइरस संक्रमित बोटहरु उखेलेर नष्ट गर्नुहोस्।
- पहाडी भेगका पाखो बारीमा रातो कमिलाको प्रकोप देखिएमा निरन्तर ओसिलो रहने गरी सिंचाईको ब्यवस्था गर्नुहोस्। प्रकोप बढी भएमा क्लोरोपाईरिफोस २०% ई.सी. २ एम.एल. प्रतिलिटर पानीमा मिसाएर माटो भिज्नेगरी प्रयोग गर्नुहोस्।
- मध्य पहाडी क्षेत्रमा सिमी र बोडी लगाउन लाईन देखि लाईनको दूरी १२० से.मी. र बोटदेखि बोटको दूरी २० से.मी. फरकमा २ दानाको दरले बीउ खसाल्नुहोस्।
- प्रि-मनसुनको समयमा चट्याङ परेर पशुपन्छीमा हानी नोक्सानीका साथै मृत्यु समेत हुन सक्ने भएकोले समयमै पशु बीमा गर्नुहोस्।
- खुल्लारुपमा पालिएका हाँस, कुखुराहरुलाई जूकाको औषधी खुवाएको तीन महिना भन्दा बढी भएको भए अल्बेन्डाजोल १० एम.जी. प्रति के.जी. शारीरिक तौलको दरले एक मात्रा खुवाउनुहोस्।
- तराईका जिल्लाहरुमा कमन कार्प जातका माछाका ह्याचलिङ्ग बिक्री वितरण शुरु भईसकेको हुँदा मत्स्यपालन गर्ने कृषकहरुले नजिकैको सरकारी/नीजि ह्याचरीहरुमा सम्पर्क गर्नुहोस्।
- यो समयमा रेन्बो ट्राउट माछाको भुराहरुमा फनफने रोग देखा पर्न सक्ने हुँदा रोग व्यवस्थापनको लागि ह्याचरी र भुरा हुर्काउने पोखरीमा आउने पानी श्रोतको फिल्टर ट्याङ्कीमा तीन ईन्च पानी बराबर ३० वाटको पराबैजनी बल्ब डुबाई, भुरा ह्याचरी र इनडोर नर्सिंग रेश्वेमा भुरा हुर्काउने अवधिभर पानीलाई निर्मलीकरण गरेर पठाउनुहोस्। यस पराबैजनी बल्बलाई नांगो आँखाले हेर्न नमिल्ने र मानवीय क्षती हुनसक्ने हुँदा सो निर्मलीकरण ट्याङ्कीमा बल्ब बलेको समयमा ढकनीले अनिवार्य रुपमा छोप्नुका साथै वरिपरी अनावश्यक आवत-जावत/गतिबिधि रोक्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।