कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक ४८)

मौसमी सारांश:

  • गत साता वर्षा मापन भएका केन्द्रहरु मध्ये सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको पोखरा एयरपोर्ट केन्द्रमा ६०.७ मि.मि. वर्षा मापन भएको छ। तराईका अधिकांश स्थानमा 30 डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पुर्ब) जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ३२.८ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको जोमसोम केन्द्रमा सबैभन्दा कम -१.४ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • यो साता पश्चिमी वायुको सामान्य प्रभाव रहने छ।
  • हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही साताको मध्य र अन्त्यमा थोरै स्थान र साताको सुरुवातमा एक-दुई स्थानमा हल्का हिमपातको संभावना छ।
  • पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही साताको मध्य र अन्त्यमा थोरै स्थान र साताको सुरुवातमा एक-दुई स्थानमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षाको संभावना छ।
  • तराईका भू-भागहरुमा मौसममा आंशिक बदली देखि सामान्यतया सफा रहने छ।
  • देशको अधिकांश भू-भागहरूमा अधिकतम तथा न्यूनतम तापक्रममा हल्का वृद्धि हुनेछ।

कृषि सारांश

  • तयार भैसकेका चैते धानको बेर्ना रोप्नुहोस्।
  • वसन्ते मकैका लागि उपयुक्त जातहरु अरुण-३, अरुण-४, अरुण-६, रामपुर हाईब्रिड-८ र रामपुर हाईब्रिड-१० मध्ये भरपर्दो श्रोतबाट उपलब्ध जातहरुको बीउ लगाउनुहोस्।
  • देशका विभिन्न स्थानहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग देखापरेको हुँदा व्यवस्थापनको लागि ढुसीनाशक विषादी टिल्ट १ एम.एल. वा नाटिभो ०.५ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार २-३ पटक प्रयोग गर्नुहोस्।  
  • यो समयमा फूल फुल्ने फलफुलहरुजस्तै-कागती, लिची, आँप बालीहरुमा मौरी तथा अन्य कीराहरुले गुणस्तरीय फल उत्पादनको लागि पराग-सेचन प्रक्रिया गर्ने भएकोले यिनीहरुको भ्रमणलाई प्रोत्साहन गर्न बिषादी नछर्कनुहोस्।
  • आँपको बगैंचामा मधुवा लाग्ने समय भएकोले यसको नियमित अनुगमन गर्नुहोस्। यो कीराको प्रकोप अत्याधिक देखिएमा डाइमेथोएट ३०% ई.सी., १.५ एम.एल. प्रति लिटर पानीमा मिसाई बेलुकीपख छर्कनुहोस्।
  • पहाडी भेगका पाखो बारीमा रातो कमिलाको प्रकोप देखिएमा निरन्तर ओसिलो रहने गरी सिंचाईको ब्यवस्था गर्नुहोस्। प्रकोप बढी भएमा क्लोरोपाईरिफोस् २०% ई.सी. २ एम.एल. प्रतिलिटर पानीमा मिसाएर माटो भिज्नेगरी प्रयोग गर्नुहोस्।
  • मध्य पहाडी क्षेत्रमा सिमी र बोडी लगाउन लाईन देखि लाईनको दूरी १२० से.मी. र बोटदेखि बोटको दूरी २० से.मी. फरकमा २ दानाको दरले बीउ खसाल्नुहोस्।
  • खुल्लारुपमा पालिएका हाँस, कुखुराहरुलाई जूकाको औषधी खुवाएको तीन महिना भन्दा बढी भए अल्बेन्डाजोल १० एम.जी. प्रति के.जी. शारीरिक तौलको दरले एक मात्रा खुवाउनुहोस्। तत्पश्चात रानीखेत रोग विरुद्धको खोप लगाएको तीन महिना भन्दा बढी भएमा एन.डी. क्लोन खोप खुवाउनुहोस्। खोप दिने पानीमा २ ग्रामप्रति लिटर पानीका दरले चिल्लो रहित दुधको धुलो घोली आधा घण्टासम्म राखि  आवश्यक खोपको मात्रा घोली खान दिनुहोस्।
  • तराईका जिल्लाहरुमा कमन कार्प जातका माछाका ह्याचलिङ्ग बिक्री वितरण शुरु भईसकेको हुँदा मत्स्यपालन गर्ने कृषकहरुले नजिकैको सरकारी/नीजि ह्याचरीहरुमा सम्पर्क गर्नुहोस्। 
  • यो समयमा रेन्बो ट्राउट माछाको भुराहरुमा फनफने रोग देखा पर्न सक्ने हुँदारोग व्यवस्थापनको लागिह्याचरी र भुरा हुर्काउने पोखरीमा आउने पानी श्रोतको फिल्टर ट्याङ्कीमा तीन ईन्च पानी बराबर ३० वाटको पराबैजनी बल्ब डुबाई, भुरा ह्याचरी र इनडोर नर्सिंग रेश्वेमा भुराहुर्काउने अवधिभरपानीलाई निर्मलीकरण गरेर पठाउनुहोस्। यस पराबैजनी बल्बलाई नांगो आँखाले हेर्न नमिल्ने र मानवीय क्षती हुनसक्ने हुँदासो निर्मलीकरण ट्याङ्कीमा बल्बबलेको समयमा ढकनीले अनिवार्य रुपमा छोप्नुका साथै वरिपरी अनावश्यकआवत-जावत/गतिबिधि रोक्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।