![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ८, अंक ४६)
मौसमी सारांश:
- गत साता वर्षा मापन भएका केन्द्रहरु मध्ये सबैभन्दा बढी प्रदेश नं-१ को ताप्लेजुङ जिल्लामा रहेको ताप्लेजुङ केन्द्रमा १२.१ मि.मि. वर्षा मापन भएको छ। तराईका एक-दुई स्थानमा ३० डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पुर्ब) जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ३२.२ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। पश्चिमी क्षेत्रको उच्च पहाडी तथा हिमाली जिल्लाको केही स्थानमा शुन्य डि.से. भन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको जोमसोम केन्द्रमा सबैभन्दा कम -१.८ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
- यो साता पश्चिमी वायुको सामान्य प्रभाव रहनेछ।
- पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही एक वा दुई स्थानमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षाको संभावना रहेको छ।
- हिमाली भू-भागमा साताको अधिकांश दिनहरुमा आंशिक देखि सामान्य बदली रहने तथा प्रदेश नं-१, बागमती प्रदेश र गण्डकी प्रदेशमा साताको शुरु तथा मध्यमा थोरै स्थानहरूमा र साताको अन्त्त्यतिर एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साताको शुरुमा एक-दुई स्थानमा तथा साताको मध्य तथा अन्त्यमा थोरै स्थानहरुमा हल्का हिमपातको संभावना छ।
- देशका तराईका भू-भागहरुमा मौसममा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।
- देशको अधिकांश भू-भागहरूमा अधिकतम तथा न्यूनतम तापक्रममा हल्का वृद्धि हुनेछ।
कृषि सारांश
- लामो समयदेखि देशका अधिकांश स्थानहरुमा वर्षा नभएको तथा आगामी सातामा पनि वर्षाको संभावना न्यून देखिएकोले बालीनालीमा चिस्यानको अवस्था अनुगमन गरी सिंचाईको व्यवस्थापन गर्नुहोस्।
- तराई, भित्री मधेश र पहाडका बेँसीहरु (७०० मिटरसम्म) का लागि सिफारिस गरिएका हर्दिनाथ-१, चैते-२, चैते-४, चैते-५ र चैते-६ धानका जातहरु मध्ये उपलब्ध जातको बीउ १.५ के.जी. प्रति कठ्ठा वा २.२५ के.जी. प्रति रोपनीका दरले ब्याड राख्नुहोस्। साथै राईस ट्रान्सप्लान्टरबाट चैते धान रोप्नका लागि सीड बेड राख्नुहोस्।
- देशका विभिन्न स्थानहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग देखापरेको हुँदा व्यवस्थापनको लागि ढुसीनाशक विषादी टिल्ट १ एम.एल. वा नाटिभो ०.५ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार २-३ पटक प्रयोग गर्नुहोस्।
- तापक्रम बढ्न शुरु भएसँगै सुन्तलाजात फलफूलको डाँठमा प्वाल पार्ने गवारो, पात खन्ने कीरा, पुतलीको लार्भा र कत्ले कीराको प्रकोप बढ्न सक्ने भएकोले बगैँचा निरीक्षण गरी कत्ले कीरा व्यवस्थापनको लागि खनिज तेल १० एम.एल. प्रति लिटर र गवारो तथा पात खन्ने कीराको व्यवस्थापनको लागि स्पिनोस्याड ४५% एस.सी., ०.३ एम.एल. प्रति लिटर पानीमा राखी छर्कनुहोस्।
- लसुन तथा प्याजमा थ्रिप्स कीराको प्रकोप ज्यादा भएमा डाइमेथोएट ३०% ई.सी., २ एम.एल. प्रति लिटर पानीमा मिसाई बेलुकीपख थ्रिप्स लागेको ठाउँमा भिज्नेगरी छर्कनुहोस्।
- लसुन, प्याज, सिमी तथा बकुल्लामा सिन्दुरे रोगको प्रकोप देखिएमा रोगी पातहरु हटाएर प्रोपिकोनाजोल २५% ई.सी. वा टेबुकोनाजोल र ट्राइफ्लोक्सिस्ट्रोबिन ७५% डब्लु.जी., १ ग्राम प्रति लिटर पानीको दरले सम्पूर्ण पातहरु भिज्नेगरि १०-१२ दिनको फरकमा २-३ पटक सम्म छर्केर उपचार गर्नुहोस्।
- खोरेत र चरचरे विरुद्द खोप लगाउने समय भएकोले नजिकैको प्राबिधिकसँग सम्पर्क गरि पशुवस्तुलाई समयमै खोप लगाउनुहोस्।
- यो समयमा पन्छीहरुमा बर्डफ्लूको उच्च जोखिम रहेकोले फार्ममा जैविक सुरक्षा अपनाउनुहोस्। फार्ममा एकैपटक धेरै कुखुरामा श्वासप्रश्वास सम्बन्धि रोगको लक्षण देखापरेमा, मृत्युदर बढी भएमा वा बर्डफ्लू रोगको शंका लागेमा विशेष सतर्कता अपनाई नजिकैको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क राख्नुहोस्।
- यो समयमा रेन्बो ट्राउट माछाको भुराहरुमा फनफने रोग देखा पर्न सक्ने हुँदा रोग व्यवस्थापनको लागि ह्याचरी र भुरा हुर्काउने पोखरीमा आउने पानी श्रोतको फिल्टर ट्याङ्कीमा तीन ईन्च पानी बराबर ३० वाटको पराबैजनी बल्ब डुबाई, भुरा ह्याचरी र इनडोर नर्सिंग रेश्वेमा भुरा हुर्काउने अवधिभर पानीलाई निर्मलीकरण गरेर पठाउनुहोस्। यस पराबैजनी बल्बलाई नांगो आँखाले हेर्न नमिल्ने र मानवीय क्षती हुनसक्ने हुँदा सो निर्मलीकरण ट्याङ्कीमा बल्ब बलेको समयमा ढकनीले अनिवार्य रुपमा छोप्नुका साथै वरिपरी अनावश्यक आवत-जावत/गतिबिधि रोक्नुहोस्।
- लामो समय देखि पानी नपरेको हुनाले खरबारी, डालेघाँस लगाएको नर्सरी, बेर्ना सारेको बारी तथा गोठ वरिपरी आगो लाग्नबाट बचाउन २-३ मिटर चौडाईमा घाँसपात पतिंगर हटाई अग्नि नियन्त्रण रेखा बनाउनुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।