नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ८, अंक ४४)
मौसमी सारांश:
- गत साताको साप्ताहिक कुल वर्षाको तथ्याङ्क अनुसार एक-दुई केन्द्रमा छिटपुट वर्षा मापन भएको छ। देशको पूर्वी तराईका केही स्थान तथा अन्य एक-दुई स्थान बाहेकका अधिकांश भू-भागहरुमा २५ डि.से. भन्दा कम अधिकतम तापक्रम मापन गरिएको छ। प्रदेश नं-१ को सुनसरी जिल्लामा रहेको चतरा केन्द्रमा सबैभन्दा बढी २७.२ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। तराईको एक-दुई स्थान बाहेक अधिकांश भू-भागहरुमा १२ डि.से. भन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ भने पश्चिमी क्षेत्रको उच्च पहाडी तथा हिमाली जिल्लाको धेरैजसो स्थानमा शुन्य डि.से. भन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ। कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा केन्द्रमा सबैभन्दा कम -३.५ डि.से. तापक्रम मापन भएको छ।
- यो साता पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहने संभावना छ।
- हिमाली र पहाडी भू-भागमा साताको शुरू र अन्त्यमा आंशिक बदली देखि सामान्य बदली र मध्यमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ।
- साताको शुरू र अन्त्यमा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको संभावना छ।
- तराई भू-भागमा बिहानी र रातीपख हुस्सु/कुहिरो लाग्ने संभावना छ।
- लुम्बिनी र सुदूर-पश्चिम प्रदेशका तराई भू-भागका साथै कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा साताको शुरू र मध्यमा तीब्र गतिको हावा चल्ने संभावना छ।
- देशको अधिकांश भू-भागहरूमा अधिकतम तापक्रम तथा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना छ।
कृषि सारांश
- तराई, भित्री मधेश र पहाडका बेँसीहरु (७०० मिटरसम्म) का लागि सिफारिस गरिएका हर्दिनाथ-१, चैते-२, चैते-४, चैते-५ र चैते-६ धानका जातहरु मध्ये उपलब्ध जातको बीउ १.५ के.जी. प्रति कठ्ठा वा २.२५ के.जी. प्रति रोपनीका दरले व्यवस्था गर्नुहोस्। धानको ब्याड राख्नु अघि सौर्य उपचार विधिबाट माटोको उपचार गर्नुहोस्। साथै राईस ट्रान्सप्लान्टरबाट चैते धान रोप्नका लागि सीड बेड राख्नुहोस्।
- अहिलेको समयमा धानको बेर्ना उत्पादन गर्न चाहिने तापक्रम अझै पुगी नसकेको हुनाले अंकुरण नहुँदा सम्म बीउ राखिएको फ्रेम/ट्रे लाई राति प्लास्टिकले छोप्ने तथा बिहान घाम आएपछि हटाउने गर्नुहोस्।
- बदलिँदो मौसमको कारण देशका विभिन्न स्थानहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग देखापर्न थालेको हुँदा व्यवस्थापनको लागि ढुसीनाशक विषादी टिल्ट १ एम.एल. वा नाटिभो ०.५ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार २-३ पटक प्रयोग गर्नुहोस्।
- मकैमा अमेरिकी फौजी कीराको प्रकोप ज्यादा भएमा इमामेक्टिन बेन्जोएट ५% एस.जी., ०.४ ग्राम वा स्पिनोस्याड ४५% एस.सी., ०.३ मिलिलिटर वा स्पाइनेटोराम ११.७ % एस.सी., ०.५ मिलिलिटर प्रति लिटर पानीको दरले बोट भिज्नेगरि ७ दिनको फरकमा २-३ पटक छर्नुहोस्। एउटै विषादी निरन्तर प्रयोग नगरि आलोपालो गरि प्रयोग गर्नुहोस् तथा घोगा लागिसकेपछि विषादी प्रयोग नगर्नुहोस्।
- ३०-४०% कोसाहरु पहेँलो रंगको भएपछि मौसमको अवस्था हेरी तोरीबालीको कटानी गरी खलिहान/खलोमा जम्मा गरि ५-६ दिनसम्म सुकाई, चुटि, केलाई सफा गर्नुहोस्। त्यसपछि दानामा ८-१०% सम्म चिस्यानको मात्रा भएपछि सुख्खा ठाँउमा भण्डारण गर्नुहोस्।
- लसुन, सिमी तथा बकुल्लामा सिन्दुरे रोगको प्रकोप देखिएमा रोगी पातहरु हटाएर प्रोपिकोनाजोल २५% ई.सी. वा टेबुकोनाजोल र ट्राइफ्लोक्सिस्ट्रोबिन ७५% डब्लु.जी., १ ग्राम प्रति लिटर पानीको दरले सम्पूर्ण पातहरु भिज्नेगरि १०-१२ दिनको फरकमा २-३ पटक सम्म छर्केर उपचार गर्नुहोस्।
- गोलभेंडामा लाग्ने गवारो कीरा व्यवस्थापनको लागी व्याक्टेरियाजन्य विषादी (बी.टी.), ३ ग्राम प्रति लिटर पानीको दरले अथवा क्लोरानट्रानिलिप्रोल १८.५ इ.सि. ०.४ एम.एल. प्रति लिटर पानीको दरले साँझको समयमा बोट भिज्नेगरि स्प्रे गर्नुहोस्।
- यो समयमा पन्छीहरुमा बर्डफ्लूको उच्च जोखिम रहेकोले फार्ममा जैविक सुरक्षा अपनाउनुहोस्। फार्ममा एकैपटक धेरै कुखुरामा श्वासप्रश्वास सम्बन्धि रोगको लक्षण देखापरेमा, मृत्युदर बढी भएमा वा बर्डफ्लू रोगको शंका लागेमा विशेष सतर्कता अपनाई नजिकैको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क राख्नुहोस्।
- वातावरण परिवर्तनसँगै प्रजनन् समयमा कमजोर शारीरिक अवस्थाका कारण कार्प जातका माउमाछामा वाह्य परजीवी आर्गुलस (माछाको जुम्रा) को प्रकोप देखिएमा ड्युराक्लिन ०.३ ग्राम प्रति के.जी. दानाको दरले तीन दिनसम्म लगातार दिएपछि एक दिन छोडी पुन: दुई दिनसम्म लगातार दिनुहोस्।
- तराईका जिल्लाहरुमा कमन कार्प माछाको प्रजनन् समय भएको हुँदा हप्ता दिनको अन्तरमा तयार माउ छनौट गरी काकाबनयुक्त प्रजनन् पोखरीमा सेट राख्नुहोस्। अण्डाबाट निस्केको ह्याचलिङलाई प्रति दिन प्रति एक लाख नाभि थैली सुकेपछि शारीरिक तौलको १५-२०% धुलो दाना र थप ४ वटा उसिनेको अन्डाको रानोको झोल बनाई खुवाउनुहोस्।
- लामो समय देखि पानी नपरेको हुनाले खरबारी, डालेघाँस लगाएको नर्सरी, बेर्ना सारेको बारी तथा गोठ वरिपरी आगो लाग्नबाट बचाउन २-३ मिटर चौडाईमा घाँसपात पतिंगर हटाई अग्नि नियन्त्रण रेखा बनाउनुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।