नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक ३८)
मौसमी सारांश:
- सुदुरपश्चिम प्रदेशको बैतडी जिल्लामा रहेको पाटन केन्द्रमा सबैभन्दा बढी १.२ मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य अधिकांश भू-भागहरुमा २० डि.से. भन्दा बढी मापन गरिएको छ। गण्डकी प्रदेशको नवलपरासी (पूर्वी) जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी २७.४ डि.से. तापक्रम मापन गरिएको छ। तराईको अधिकांश भू-भागहरुमा १५ डि.से. भन्दा कम तापक्रम मापन गरिएको छ भने पश्चिमी तराईको जिल्लामा भने १० डि.से. भन्दा कम र उच्च पहाडी भू-भागको धेरै स्थानहरुमा शुन्य डि.से. भन्दा कम तापक्रम मापन गरिएको छ। कर्णाली प्रदेशको जुम्ला जिल्लामा रहेको जुम्ला एयरपोर्ट केन्द्रमा सबैभन्दा कम -७.१ डि.से. तापक्रम मापन भएको छ। गत साता तराईका बिभिन्न स्थानहरुमा बिहानीपख हुस्सु/कुहिरो देखा परेको थियो।
- हिमाली भू-भागमा साताको शुरूमा सामान्य देखि पूर्ण बदलीको संभावना छ।
- पहाडी भू-भागमा साताको शुरू र मध्यमा आंशिक देखि सामान्य बदलीको संभावना छ।
- हिमाली भूभागमा साताको शुरू र मध्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपात को संभावना छ।
- प्रदेश नं-१ को पहाडी भूभागमा साताको सुरुवातमा छिटपुट वर्षाको संभावना छ।
- देशभर अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने संभावना छ। तराई भू-भागमा साताका अधिकांश दिनहरूमा बिहान र राती हुस्सु/कुहिरो लाग्ने संभावना छ।
कृषि सारांश
- गहुँ छरेको २०-३० दिनभित्र (मुकुट जरा पलाउने अवस्था) गहुँको जरा भिज्नेगरि पहिलो सिँचाई पश्चात नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस मात्रा अनुसार टपड्रेस गर्नुहोस्।
- गहुँ रोपेको ३०-४० दिनभित्र सल्फोसल्फरन ७५% डब्लु.पी. २ ग्राम प्रति रोपनी वा १.३ ग्राम प्रति कट्ठा ४२ एम.एल. सरफेक्टेन्टमा मिसाई २५ लिटर पानीमा एक रोपनीको लागि वा १७ लिटर पानीमा एक कठ्ठाको लागि माटोमा चिस्यान भएको अवस्थामा फ्लेट फेन नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
- तोरीबालीमा लाही कीराको व्यवस्थापनको लागि १ भाग गाईको गहुँत र ४ भाग पानी मिसाएर रातभरि राखेर लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस्। प्रकोप ज्यादा भएमा फ्लोनिकामिड २५% डब्ल्यु.जी. ०.३ ग्राम वा डाईमेथोएट ३०% ई.सी. १.५ एम.एल. प्रति लिटर पानीको दरले छर्कनुहोस्।
- अरहर तथा चना बालीको कोसामा लाग्ने गवारो कीरा व्यवस्थापनको लागी क्लोरानट्रानिलिप्रोल १८.५ एस.सी. ०.४ एम.एल. प्रति लिटर पानीमा मिसाई बोट भिज्नेगरि साँझको समयमा छर्कनुहोस्।
- भक्तपुर, काभ्रे लगायतका मध्य पहाडी जिल्लाहरूमा भदौमा लगाई अहिले हार्भेष्ट भइरहेको आलुको दानामा दादे रोग देखिएको भए उक्त स्थानहरुको आलुका दानाहरूलाई बीउको रूपमा छनोट नगर्नुहोस्। रोग देखापरेको खेतबारीमा अर्को बाली लगाउनु पुर्व माटोको निर्मलीकरण गरी स्वस्थ बीउ मात्र प्रयोग गर्नुहोस्।
- पतझड फलफूलको बगैँचा व्यवस्थापनको लागि एक घन मिटर साइजको खाडल खनी करिब एक महिना सुकाउनुहोस्। सो खाडलमा सुकेका पातपतिंगर तथा झारपात राखी जलाउनुहोस्। यसो गर्नाले खाडलमा भएका किटाणुहरु तथा कीराका फुल नष्ट हुन्छन्।
- प्याजको जरा कुहिने रोग व्यवस्थापनको लागि वेभिष्टिन २ ग्राम प्रति लिटर पानीका दरले वा ५% नेकुबो नामक ढुसीनासक १४ दिनको फरकमा ३ देखि ४ पटकसम्म सम्पूर्ण जरा भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
- व्यवसायिक रुपमा उखु खेती गरिने तराई क्षेत्रका ठाँउहरुमा खेर गएको उखुको टुप्पाबाट साइलेज बनाई जाडोयाममा पशु वस्तुलाई आहाराको रुपमा प्रयोग गर्नुहोस्।
- जाडो मौसममा कुखुराका चल्लाहरु ब्रुडिङ् गर्नुपर्ने भए खोरमा स्वच्छ हावा खेल्न सक्ने गरी माथी तर्फ १०-१२ ईन्च जति खुल्ला राखी पर्दा लगाउनुहोस्।
- तराई भू-भागमा साताका अधिकांश दिनहरूमा बिहान र राती हुस्सु/कुहिरो लाग्ने संभावना रहेकोले माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न बादल लागेको दिन र भोलिपल्ट बिहानीपख प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको एरेटरको प्रयोग गर्नुहोस्। साथै बादल लागेको समयमा दाना दिन बन्द गर्नुहोस्।
- कमन कार्प जातका माछाले पोखरीमा प्राकृतिक रुपमा प्रजनन गर्ने हुँदा भाले र पोथी लाई छुट्टा-छुट्टै पोखरीमा राखी हुर्काउनुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।