नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक ३७)
मौसमी सारांश:
- ७४ वटा मौसम केन्द्रहरुमा मापन गरिएको साप्ताहिक कुल वर्षाको तथ्याङ्क अनुसार कुनैपनि केन्द्रमा वर्षा मापन भएको छैन। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य अधिकांश भू-भागहरुमा २० डि.से. भन्दा बढी मापन गरिएको छ। प्रदेश नं-१ को सुनसरी जिल्लामा रहेको चतारा केन्द्रमा सबैभन्दा बढी २८.६ डि.से. तापक्रम मापन गरिएको छ। तराईको अधिकांश भू-भागहरुमा १५ डि.से. भन्दा कम तापक्रम मापन गरिएको छ भने पश्चिमी क्षेत्रको तराईको भू-भागहरुमा १०.० डि.से. भन्दा कम र उच्च पहाडी भू-भागको धेरै स्थानहरुमा शुन्य डि.से. भन्दा कम तापक्रम मापन गरिएको छ। कर्णाली प्रदेशको जुम्ला जिल्लामा रहेको जुम्ला एयरपोर्ट केन्द्रमा सबैभन्दा कम -५.५ डि.से. तापक्रम मापन भएको छ।
- गत साता तराईका बिभिन्न स्थानहरुमा बिहानी पख हुस्सु/कुहिरो देखा परेको थियो।
- देशका धेरै भू-भागमा साताको सुरुवातमा सामान्य बदलीको संभावना छ।
- हिमाली भू-भागमा साताको शुरू र मध्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपात को संभावना छ।
- प्रदेश नं-१, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साताको सुरुवातमा हल्का वर्षाको संभावना छ।
- प्रदेश नं-१, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका तराई भूभाग लगायत मधेश प्रदेशमा साताको सुरुवातमा हल्का वर्षाको संभावना छ।
- देशभर अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने संभावना छ। तराई भू-भागमा साताभर बिहानीपख हुस्सु/कुहिरो लाग्ने संभावना छ।
कृषि सारांश
- जल तथा मौसम विज्ञान विभागले जारी गरेको हिउँद अवधिको हावापानीको आँकलन अनुसार आगामी फागुन १६ सम्म देशका अधिकांश ठाउँहरुमा सरदार भन्दा कम वर्षा हुने र अधिकतम तापक्रम सरदर भन्दा बढी हुने संभावना रहेको हुँदा हिउँदे बाली तथा फलफुलहरुमा सिंचाईको व्यवस्थापन कार्यलाई विशेष ध्यान दिनुहोस्। यसका लागि प्लास्टिक पोखरीहरुमा पानी जम्मा गरी सिंचाईका नवीनतम प्रविधिहरु जस्तै: थोपा सिंचाई, स्प्रिन्क्लर ईत्यादी प्रयोग गर्नुहोस्।
- गहुँ छरेको २०-३० दिनभित्र (मुकुट जरा पलाउने अवस्था) गहुँको जरा भिज्नेगरि पहिलो सिँचाई पश्चात नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस मात्रा अनुसार टपड्रेस गर्नुहोस्।
- गहुँ रोपेको ३०-४० दिनभित्र सल्फोसल्फरन ७५% डब्लु.पी. २ ग्राम प्रति रोपनी वा १.३ ग्राम प्रति कट्ठा ४२ एम.एल. सरफेक्टेन्टमा मिसाई २५ लिटर पानीमा एक रोपनीको लागि वा १७ लिटर पानीमा एक कठ्ठाको लागि माटोमा चिस्यान भएको अवस्थामा फ्लेट फेन नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
- मध्यपहाड तथा उच्चपहाडमा २५-३० दिन भएको तोरीबालीमा चिस्यान कायम गरी ४.४ के.जी. युरिया प्रति रोपनीका दरले टपड्रेस गर्नुहोस्।
- तोरीबालीमा लाही कीराको व्यवस्थापनको लागि १ भाग गाईको गहुँत र ४ भाग पानी मिसाएर रातभरि राखेर लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस्। प्रकोप ज्यादा भएमा फ्लोनिकामिड २५% डब्ल्यु.जी. ०.३ ग्राम वा डाईमेथोएट ३०% ई.सी. १.५ एम.एल. प्रति लिटर पानीको दरले छर्कनुहोस्।
- भक्तपुर, काभ्रे लगायतका मध्य पहाडी जिल्लाहरूमा भदौमा लगाई अहिले हार्भेष्ट भइरहेको आलुको दानामा दादे रोग देखिएको भए उक्त स्थानहरुको आलुका दानाहरूलाई बीउको रूपमा छनोट नगर्नुहोस्। रोग देखापरेको खेतबारीमा अर्को बाली लगाउनु पुर्व माटोको निर्मलीकरण गरी स्वस्थ बीउ मात्र प्रयोग गर्नुहोस्।
- पतझड फलफूलको बगैँचा व्यवस्थापनको लागि एक घन मिटर साइजको खाडल खनी करिब एक महिना सुकाउनुहोस्। सो खाडलमा सुकेका पातपतिंगर तथा झारपात राखी जलाउनुहोस्। यसो गर्नाले खाडलमा भएका किटाणुहरु तथा कीराका फुल नष्ट हुन्छन्।
- प्याजको जरा कुहिने रोग व्यवस्थापनको लागि वेभिष्टिन २ ग्राम प्रति लिटर पानीका दरले वा ५% नेकुबो नामक ढुसीनासक १४ दिनको फरकमा ३ देखि ४ चोटी सम्म सम्पूर्ण जरा भिज्ने गरि ड्रेन्चिङ गर्नुहोस् ।
- व्यवसायिक रुपमा उखु खेती गरिने तराई क्षेत्रका ठाँउहरुमा खेर गएको उखुको टुप्पाबाट साइलेज बनाई जाडोयाममा पशु वस्तुलाई आहाराको रुपमा प्रयोग गर्नुहोस्।
- जाडो मौसममा कुखुराका चल्लाहरु ब्रुडिङ् गर्नुपर्ने भए खोरमा स्वच्छ हावा खेल्न सक्ने गरी माथी तर्फ १०-१२ ईन्च जति खुल्ला राखी पर्दा लगाउनुहोस्।
- यस समयमा जाडो छल्नका निम्ति घुमन्ते चराहरु नेपाल आउने भएकोले आफ्ना व्यवसायिक कुखुरा खोर वरपर यस्ता चराहरुलाई बस्न नदिनुहोस्। यी चराहरुले एभिएन इन्फ्लुएन्जा जस्ता रोगहरु सार्न सक्ने भएकोले चराहरुको सम्पर्क वा विष्टाबाट आफ्ना कुखुराहरुलाई जोगाउनको लागि फार्ममा जैविक सुरक्षाका उपायहरु अपनाउनुहोस्।
- कमन कार्प जातका माछाले पोखरीमा प्राकृतिक रुपमा प्रजनन गर्ने हुँदा भाले र पोथी लाई छुट्टा-छुट्टै पोखरीमा राखी हुर्काउनुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।