कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक ३६)

 

मौसमी सारांश:

  • ७३ वटा मौसम केन्द्रहरुमा मापन गरिएको साप्ताहिक कुल वर्षाको तथ्याङ्क अनुसार गत साता देशको १/२ स्थानमा छिटफुट वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य अधिकांश भू-भागहरुमा २५.0 डि.से. भन्दा बढी तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेश को नवलपरासी पूर्व जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी २८.२ डि.से. तापक्रम मापन गरिएको छ। तराईको अधिकांश भू-भागहरुमा १५.० डि.से. भन्दा कम तापक्रम मापन गरिएको छ भने पश्चिमि क्षेत्रको उच्च पहाडी भू-भागको धेरै स्थानहरुमा ०.० डि.से. भन्दा कम तापक्रम मापन गरिएको छ। कर्णाली प्रदेशको जुम्ला जिल्लामा रहेको जुम्ला एयरपोर्ट केन्द्रमा सबैभन्दा कम -५.१ डि.से. तापक्रम मापन भएको छ।
  • गत साता तराईका बिभिन्न स्थानहरुमा बिहानी पख हुस्सु/कुहिरो देखा परेको थियो।
  • हिमाली र पहाडी भू-भागमा साताको शुरु र मध्यमा आंशिक बदली रही साताको मध्य र अन्त्यमा मौसम सामान्यतया सफा रहने छ।तराई भू-भागमा साताभर मौसम सामान्यतया सफा रहने छ।
  • साताको शुरू र मध्यमा प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको संभावना रहेको छ।
  • देशभर अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने छ। तराई भू-भागमा साताभर बिहानीपख हुस्सु/कुहिरो लाग्ने संभावना रहेको छ।

 

कृषि सारांश:

  • जल तथा मौसम विज्ञान विभागले जारी गरेको हिउँद अवधिको हावापानीको आँकलन अनुसार आगामी फागुन १६ सम्म देशका अधिकांश ठाउँहरुमा सरदार भन्दा कम वर्षा हुने र अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना रहेको हुँदा हिउँदे बाली तथा फलफुलहरुमा सिंचाईको व्यवस्थापन कार्यलाई विशेष ध्यान दिनुहोस्। यसका लागि प्लास्टिक पोखरीहरुमा पानी जम्मा गरी सिंचाईका नवीनतम प्रविधिहरु जस्तै: थोपा सिंचाई, स्प्रिन्क्लर ईत्यादी प्रयोग गर्नुहोस्।
  • गहुँ छरेको २०-३० दिनभित्र [मुकुट जरा (crown root initiation)पलाउने अवस्था] गहुँको जरा भिज्नेगरि पहिलो सिँचाई पश्चात नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस मात्रा अनुसार टपड्रेस गर्नुहोस्।
  • गहुँ रोपेको ३०-४० दिनभित्र सल्फोसल्फरन ७५% डब्लु.पी. २ ग्राम प्रति रोपनी वा १.३ ग्राम प्रति कट्ठा ४२ एम.एल. सरफेक्टेन्टमा मिसाई २५ लिटर पानीमा एक रोपनीको लागि वा १७ लिटर पानीमा एक कठ्ठाको लागि माटोमा चिस्यान भएको अवस्थामा फ्लेट फेन नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
  • तोरीबालीमा लाही कीराको व्यवस्थापनको लागि १ भाग गाईको गहुँत र ४ भाग पानी मिसाएर रातभरि राखेर लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस्।प्रकोप ज्यादा भएमा फ्लोनिकामिड २५% डब्ल्यु.जी. ०.३ ग्राम वा डाईमेथोएट ३०% ई.सी. १.५ एम.एल. प्रति लिटर पानीको दरले छर्कनुहोस्।
  • भक्तपुर, काभ्रे लगायतका मध्य पहाडी जिल्लाहरूमा भदौमा लगाई अहिले हार्भेष्ट भइरहेको आलुको दानामा दादे रोग देखिएमा आलुका दानाहरूलाई बीउको रूपमा छनोट नगर्नुहोस्। रोग देखा परेमा आलु लगाउनु पुर्व माटोको निर्मलीकरण गरी स्वस्थ बीउ मात्र प्रयोग गर्नुहोस्।
  • काउली समूहको तरकारी बालीहरुमा बन्दाको पुतली र इट्टा बुट्टे पुतली लाग्न सक्ने भएकोले नियमित अनुगमन गरि उचित व्यवस्थापनका विधिहरु अपनाउनुहोस्। प्रकोप बढी भएमा स्पिनोस्याड ४५% एस.सी., ०.३ एम.एल. प्रति लिटरका दरले पानीमा मिसाई कीरा लागेको ठाँउमा भिज्नेगरि साँझपख छर्कनुहोस्।
  • काउली समूहका बालीमा लाग्ने गाँठे रोग व्यवस्थापनका लागि फ्लुआजिनाम विषादीको धुलो २-३ ग्राम प्रति लिटर पानीमा घोली बोट वरिपरि ड्रेन्चिङ गर्नुहोस्।
  • प्याजको जरा कुहिने रोग ब्यबस्थापनको लागि वेभिष्टिन २ ग्राम प्रति लिटर पानीका दरले वा ५% नेकुबो नामक ढुसीनासक १४ दिनको फरकमा ३ देखि ४ चोटी सम्म सम्पूर्ण जरा भिज्ने गरि ड्रेन्चिङ गर्नुहोस् ।
  • यस समयमा जाडो छल्नका निम्ति घुमन्ते चराहरु नेपाल आउने भएकोले आफ्ना व्यवसायिक कुखुरा खोर वरपर यस्ता चराहरुलाई बस्न नदिनुहोस्। यी चराहरुले एभिएन इन्फ्लुएन्जा जस्ता रोगहरु सार्न सक्ने भएकोले चराहरुको सम्पर्क वा विष्टाबाट आफ्ना कुखुराहरुलाई जोगाउनको लागि फार्ममा जैविक सुरक्षाका उपायहरु अपनाउनु होस्।  
  • माछामा इ.यु.एस. रोगको लक्षण देखिएमा सिफालेक्सिन ८० एम.जी. प्रति के.जी. माछालाई १५ दिनसम्म दानामा मिसाई खुवाउनुहोस् साथै कोर्सोलिन टि.एच. ले दुई साताको अन्तरालमा ९०० एम.एल. प्रति हेक्टर जलाशयका दरले कम्तिमा एक मिटर पानी गहिराई कायम गरि पोखरीको उपचार गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

    

 

         चित्र: स्प्रिन्क्लर सिंचाई                चित्र: प्लास्टिक पोखरीहरुमा पानी जम्मा               चित्र: थोपा सिंचाई