नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक ३५)
मौसमी सारांश:
- गत साता देशको कुनै पनि स्थानमा वर्षा मापन भएको छैन। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य अधिकांश भू-भागहरुमा २५.0 डि.से. भन्दा बढी तथा तराईका १/२ भू-भागमा ३०.0 डि.से. भन्दा बढी तापक्रम मापन गरिएको छ। प्रदेश १ को सुनसरी जिल्लामा रहेको चतरा केन्द्रमा सबैभन्दा बढी ३१.२ डि.से. तापक्रम मापन गरिएको छ।
- तराईको अधिकांश भू-भागहरुमा १५.० डि.से. भन्दा कम तापक्रम मापन गरिएको छ भने पश्चिमि क्षेत्रको उच्च पहाडी भू-भागको धेरै स्थानहरुमा ०.० डि.से. भन्दा कम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -५.६ डि.से. तापक्रम मापन भएको छ।
- साताको शुरूमा प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। साताको मध्य र अन्त्यमा आंशिक बदली रहने छ। बाँकी प्रदेशहरूमा साता भरि नै मौसम सामान्यतया सफा रहने छ ।
- साताको सुरुमा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको संभावना रहेको छ ।
- देशभर अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहेको छ।
- बिहानीपख हुस्सु/कुहिरो लाग्ने संभावना रहेको छ।
कृषि सारांशः
- गहुँ खेतीको लागत न्यूनीकरणका लागि जिरो टिलेज तथा मिनिमम टिलेज जस्ता संरक्षित कृषि प्रविधि अपनाउनुहोस्। यसरी मेसिन प्रयोग गर्दा माटोको चिस्यान, बीउ छर्ने गहिराई तथा मल र बीउ झर्ने पाइप जाम हुनसक्ने कुरालाई विशेष ध्यान दिनुहोस्।
- गहुँ छरेको २०-३० दिनभित्र [मुकुट जरा (crown root initiation)पलाउने अवस्था] गहुँको जरा भिज्नेगरि पहिलो सिँचाई पश्चात नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस मात्रा अनुसार टपड्रेस गर्नुहोस्।
- तोरीबालीमा लाही कीराको व्यवस्थापनको लागि १ भाग गाईको गहुँत र ४ भाग पानी मिसाएर रातभरि राखेर लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस्।प्रकोप ज्यादा भएमा फ्लोनिकामिड २५% डब्ल्यु.जी. ०.३ ग्राम वा डाईमेथोएट ३०% ई.सी. १.५ एम.एल. प्रति लिटर पानीको दरले छर्कनुहोस्।
- तराई तथा भित्री मधेशको लागि सिफारिस गरिएका चनाका जातहरु- अवरोधी, तारा, कालीका, कोसेली, सीता, राधा, धनुष मध्ये उपलब्ध जातको गणुस्तरिय बीउको समयमा नै व्यवस्था गरि १.७ के.जी. प्रति कठ्ठा बीउको दरले हारदेखि हारको दूरी २५ सेन्टिमीटरमा उपचार गरिएको बीउ छर्नुहोस्।
- आलुबालीको पछौटे डढुवा रोगको नियमित अनुगमन गर्नुहोस्। प्रकोप बढी भएमा एक्रोब्याट (डाइमेथोर्फ ५०% डब्ल्यु.पी.) वा सेक्टिन (फेनामेडोन १०% + मेन्कोजेब ५०% डब्ल्यु.जी.) १.५ ग्राम प्रति लिटर पानीमा मिसाइ बोटको सम्पुर्ण भाग भिज्नेगरी छर्कनुहोस्।
- काउली समूहको तरकारी बालीहरुमा बन्दाको पुतली र इट्टा बुट्टे पुतली लाग्न सक्ने भएकोले नियमित अनुगमन गरि उचित व्यवस्थापनका विधिहरु अपनाउनुहोस्। प्रकोप बढी भएमा स्पिनोस्याड ४५% एस.सी., ०.३ एम.एल. प्रति लिटरका दरले पानीमा मिसाई कीरा लागेको ठाँउमा भिज्नेगरि साँझपख छर्कनुहोस्।
- काउली समूहका बालीमा लाग्ने गाँठे रोग व्यवस्थापनका लागि फ्लुआजिनाम विषादीको धुलो २-३ ग्राम प्रति लिटर पानीमा घोली बोट वरिपरि ड्रेन्चिङ गर्नुहोस्।
- तरकारी बाली काट्ने र फलहरु टिप्ने अवस्थामा रोग तथा कीराहरु लागेमा यिनीहरुबाट आर्थिक क्षती थोरै हुने भएकोले बिषादी प्रयोग नगर्नुहोस्। यो अवस्थामा विषादी प्रयोग गरेमा बिषादीको अवशेष बालीमा रहन गई मानव स्वास्थ्य तथा वातावरणमा नकारात्मक असर पुग्दछ।
- प्याजको जरा कुहिने रोग ब्यबस्थापनको लागि वेभिष्टिन २ ग्राम प्रति लिटर पानीका दरले वा ५% नेकुबो नामक ढुसीनासक १४ दिनको फरकमा ३ देखि ४ चोटी सम्म सम्पूर्ण जरा भिज्ने गरि ड्रेन्चिङ गर्नुहोस् ।
- ढुसी लागेको परालमा हुने माइकोटक्सिन (ढुसी) को कारणले विशेषगरी गाई र भैँसीमा डेगनाला रोग देखा पर्न सक्ने भएकोले पराल खुवाउँदा राम्ररी सुकाई ओभानो पारेर खुवाउनुहोस्।
- लेयर्स, ब्रोईलर कुखुरा तथा टर्कीहरुमा ईन्फेक्सस् कोराईजा र यो जस्तै लक्षण (नाकबाट सेतो, बाक्लो सिंगान फाल्ने, अनुहार वरपर सुन्निने, आँखाको तल्लो भाग सुन्निने र पहेँलो चिज जम्मा हुने, आँखा बन्द हुने) हरु देखापरेमा जैविक सुरक्षाका उपायहरु अपनाई दक्ष प्राविधिकको सल्लाहमा एन्टिबायोटिक औषधिहरु प्रयोग गर्नुहोस्।
- माछामा इ.यु.एस. रोगको लक्षण देखिएमा सिफालेक्सिन ८० एम.जी. प्रति के.जी. माछालाई १५ दिनसम्म दानामा मिसाई खुवाउनुहोस् साथै कोर्सोलिन टि.एच. ले दुई साताको अन्तरालमा ९०० एम.एल. प्रति हेक्टर जलाशयका दरले कम्तिमा एक मिटर पानी गहिराई कायम गरि पोखरीको उपचार गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।