कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक ३४)

मौसमी सारांश:

  • गत साता देशको कुनै पनि स्थानमा वर्षा मापन भएको छैन। तराईका १/२ भू-भागमा ३०.० डि.से. भन्दा बढी तापक्रम मापन गरिएको छ भने प्रदेश १ को सुनसरी जिल्लामा रहेको चतरा केन्द्रमा सबैभन्दा बढी ३१.६ डि.से. तापक्रम मापन गरिएको छ। पश्चिमि क्षेत्रको उच्च पहाडी भू-भागको धेरै स्थानहरुमा ०.० डि.से. भन्दा कम तापक्रम मापन गरिएको छ र कर्णाली प्रदेशको जुम्ला जिल्लामा रहेको जुम्ला एयरपोर्ट केन्द्रमा सबैभन्दा कम -३.१ डि.से. तापक्रम मापन भएको छ।
  • हिमाली र पहाडी भू-भागमा साताको शुरुमा आंशिक बदली रहि साताको मध्य र अन्त्यमा मौसम सामान्यतया सफा रहने छ।तराई भू-भागमा साताभर मौसम सामान्यतया सफा रहने छ।
  • साताको शुरूमा प्रदेश १, बागमती प्रदेश, र  गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको संभावना रहेको छ ।
  • देशभर अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने छ। तराई भू-भागमा साताभर बिहानीपख हुस्सु/कुहिरो लाग्ने संभावना रहेको छ।

 

कृषि सारांशः

  • गहुँवालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न तराईमा मंसिर १ देखि २५ गते (डिसेम्बर १०) भित्र गहुँ छरिसक्नुहोस्।
  • गहुँ खेतीको लागत न्यूनीकरणका लागि जिरो टिलेज तथा मिनिमम टिलेज जस्ता संरक्षित कृषि प्रविधि अपनाउनुहोस्। यसरी मेसिन प्रयोग गर्दा माटोको चिस्यान, बीउ छर्ने गहिराई तथा मल र बीउ झर्ने पाइप जाम हुनसक्ने कुरालाई विशेष ध्यान दिनुहोस्।
  • गहुँ छरेको २०-३० दिनभित्र [मुकुट जरा (crown root initiation) पलाउने अवस्था] गहुँको जरा भिज्नेगरि पहिलो सिँचाई पश्चात नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस मात्रा अनुसूची-३ अनुसार टपड्रेस गर्नुहोस्।
  • तराई तथा भित्री मधेशको लागि सिफारिस मुसुरोका जात सिन्दुर, सिम्रिक, शिशिर, सिमल, शिखर, शितल, खजुरा १, खजुरा मुसुरो २, खजुरा मुसुरो ३, खजुरा मुसुरो ४ मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ १.३ के.जी. प्रति कठ्ठा बीउको दरले हारदेखि हारको दूरी २५ सेन्टिमीटरमा लगाउनहुोस्।
  • सुख्खायाम शुरु भएकोले माटोमा चिस्यान कायम राख्न फलफूलको बोट वरिपरि स्याउला, घासपात वा कालो प्लाष्टिकको छापो राख्नुहोस्। सिँचाई सुविधा भएका फलफूल बगैँचामा सिँचाई व्यवस्थापन गर्नुहोस्।
  • तराईमा लगाइएको बीउ आलुलाई रगिंग गर्नुहोस्। रगिंग गर्दा भाइरस लागेका, रोगी, बेजातका र कमजोर र मसिना विरुवाहरु (दाना लागिसकेका भए उक्त दानाहरु समेत) उखेलेर हटाउनुहोस्।
  • काउली समूहको तरकारी बालीहरुमा बन्दाको पुतली र इट्टा बुट्टे पुतली लाग्न सक्ने भएकोले नियमित अनुगमन गरि उचित व्यवस्थापनका विधिहरु अपनाउनुहोस्। प्रकोप बढी भएमा स्पिनोस्याड ४५% एस.सी., ०.३ एम.एल. प्रति लिटरका दरले पानीमा मिसाई कीरा लागेको ठाँउमा भिज्नेगरि साँझपख छर्कनुहोस्।
  • काउली समूहका बालीमा लाग्ने गाँठे रोग व्यवस्थापनका लागि फ्लुआजिनाम विषादीको धुलो २-३ ग्राम प्रति लिटर पानीमा घोली बोट वरिपरि ड्रेन्चिङ गर्नुहोस्।
  • तरकारी बाली काट्ने र फलहरु टिप्ने अवस्थामा रोग तथा कीराहरु लागेमा यिनीहरुबाट आर्थिक क्षती थोरै हुने भएकोले बिषादी प्रयोग नगर्नुहोस्। यो अवस्थामा विषादी प्रयोग गरेमा बिषादीको अवशेष बालीमा रहन गई मानव स्वास्थ्य तथा वातावरणमा नकारात्मक असर पुग्दछ।
  • धान काटेपछिको ओसिलो खेतमा, शंखे कीराको प्रकोप भएको ठाँउमा र पानी जमेको वा सिमसार क्षेत्रमा पशुवस्तुहरु चराउँदा नाम्ले/माटे रोग लाग्न सक्ने भएकोले यी ठाँउहरुमा पशुवस्तु चराउन नलैजानुहोस्। पशुहरुमा नाम्लेको परजिवी देखिएमा अक्सिक्लोजनाइड १० एम.जी. प्रति के.जी. शारीरिक तौल अनुसार एकपटक खान दिनुहोस्।
  • ढुसी लागेको परालमा हुने माइकोटक्सिन (ढुसी) को कारणले विशेषगरी गाई र भैँसीमा डेगनाला रोग देखा पर्न सक्ने भएकोले पराल खुवाउँदा राम्ररी सुकाई  ओभानो पारेर खुवाउनुहोस्।
  • लेयर्स, ब्रोईलर कुखुरा तथा टर्कीहरुमा ईन्फेक्सस् कोराईजा र यो जस्तै लक्षण (नाकबाट सेतो, बाक्लो सिंगान फाल्ने, अनुहार वरपर सुन्निने, आँखाको तल्लो भाग सुन्निने र पहेँलो चिज जम्मा हुने, आँखा बन्द हुने) हरु देखापरेमा जैविक सुरक्षाका उपायहरु अपनाई दक्ष प्राविधिकको सल्लाहमा एन्टिबायोटिक औषधिहरु प्रयोग गर्नुहोस्।
  • पंगास जातको माछाले चिसो मौसम सहन नसक्ने हुँदा बिक्रीयोग्य साईजको माछालाई अलग्गै छुट्टाई अन्य माछालाई करिब २-.५ मिटर गहिरो पोखरीमा स्टकिंग गर्नका लागि आवश्यक तयारी गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।