कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक ३२)

 

मौसमी सारांश:

  • गत साता देशको थोरै भू-भागहरुमा बर्षा मापन भएको छ भने गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको लेते केन्द्रमा सबैभन्दा बढी ११.५ मि.मि. वर्षा मापन भएको छ। तराईका केही भू-भागहरुमा अधिकतम तापक्रम ३० डि.से. भन्दा बढी मापन गरिएको छ भने गण्डकी प्रदेश को नवलपुर जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ३१.1 डि.से. मापन गरिएको छ। उच्च पहाडी भू-भागको धेरै स्थानहरुमा न्यूनतम तापक्रम शुन्य डि.से. भन्दा कम मापन गरिएको छ भने गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -३.७ डि.से. मापन भएको छ।
  • हिमाली भू-भागहरूमा साताभरी नै आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। पूर्वी हिमाली भू-भागको एक-दुई स्थानमा साताभरी नै हल्का वर्षा/हिमपातको संभावना रहेको छ।मध्य र पश्चिमी हिमाली भू-भागहरूमा साताको शुरू र मध्यमा मात्र एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको संभावना रहेको छ।
  • देशका पहाडी भू-भागमा साताभरी नै आंशिक देखि मौसम सामान्यतया सफा रही साताको शुरूमा प्रदेश नं-१ को एक-दुई स्थानमा छिटपुट/हल्का वर्षाको संभावना रहेको छ।
  • देशको तराई भू-भागमा साताभरी नै मौसम सामान्यतया सफा रही बिहान क्षणिक हुस्सु/कुहिरोको लाग्ने संभावना रहेको छ।
  • देशको धेरैजसो स्थानहरुको अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने संभावना छ।

कृषि सारांश:

  • धानको बीउ छनोटको लागि बोट नढलेका, एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।
  • कम्बाईन हार्भेष्टरले धान काट्दा खेतमा छोडेको पराल जलाउदा खेत र वातावरणमा प्रतिकुल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने हुँदा बेलर मेसिन अथवा अन्य विधिहरु बाट पराल जम्मा गर्नुहोस्। साथै यस्ता खेतमा टर्बो सिडर प्रयोग गरी गहुँ छरी लागत खर्च घटाउनुहोस्।
  • गहुँवालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न तराईमा मंसिर १ देखि २५ गते (डिसेम्बर १०) भित्र गहुँ छरिसक्नुहोस्।
  • तराई तथा भित्री मधेशको लागि सिफारिस मुसुरोका जात सिन्दुर, सिम्रिक, शिशिर, सिमल, शिखर, शितल, खजुरा १, खजुरा मुसुरो २, खजुरा मुसुरो ३, खजुरा मुसुरो ४ मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ १.३ के.जी. प्रति कठ्ठा बीउको दरले हारदेखि हारको दूरी २५ सेन्टिमीटरमा लगाउनहुोस्।
  • मध्य पहाडको बारी जग्गामा भदौमा लगाइएको बीउ आलुलाई रगिंग गर्नुहोस्। रगिंग गर्दा भाइरस लागेका, रोगी, बेजातका र कमजोर र मसिना विरुवाहरु (दाना लागिसकेका भए उक्त दानाहरु समेत) उखेलेर हटाउनुहोस्।
  • काउली समूहका बालीमा लाग्ने गाँठे रोग व्यवस्थापनका लागि फ्लुआजिनाम विषादीको धुलो २-३ ग्राम प्रति लिटर पानीमा घोली बोट वरिपरि ड्रेन्चिङ गर्नुहोस्।
  • रेड क्रियोल जातको प्याजको बीउ नर्सरीमा राखी छापो लगाउनुहोस्। साथै बीउ राम्रोसँग उमार्नको लागि रोप्नुअघि १२ घन्टा जति पानीमा बीउ भिजाउनुहोस्।
  • तापक्रम कम हुँदै जादाँ लाही कीराको प्रकोप बढ्दै जाने हुनाले यसको व्यवस्थापनका लागि फ्लोनिकामिड ५० डब्लु.जी., १ ग्राम ३ लिटर पानीको दरले प्रयोग गर्नुहोस्।
  • लेयर्स, ब्रोईलर कुखुरा तथा टर्कीहरुमा ईन्फेक्सस् कोराईजा र यो जस्तै लक्षण (नाकबाट सेतो, बाक्लो सिंगान फाल्ने, अनुहार वरपर सुन्निने, आँखाको तल्लो भाग सुन्निने र पहेँलो चिज जम्मा हुने, आँखा बन्द हुने) हरु देखापरेमा जैविक सुरक्षाका उपायहरु अपनाई दक्ष प्राविधिकको सल्लाहमा एन्टिबायोटिक औषधिहरु प्रयोग गर्नुहोस्।
  • पंगास जातको माछाले चिसो मौसम सहन नसक्ने हुँदा बिक्रीयोग्य साईजको माछालाई अलग्गै छुट्टाई अन्य माछालाई करिब २-.५ मिटर गहिरो पोखरीमा स्टकिंग गर्नका लागि आवश्यक तयारी गर्नुहोस्।
  • आगामी साता वातावारणीय तापक्रम बदलाबबाट माछालाई हुनसक्ने तनाव कम गर्न प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको वायुयन्त्रको प्रयोग गर्नुहोस् साथै दैनिक दिने दानामा दिन बिराई भिटामीन सी ०.५ ग्राम प्रति के.जी. दरले थप गरि दिनुहोस्।
  • माछामा इ.यु.एस. लक्षण देखिएमा संक्रमित पोखरीमा सिफालेक्सिन ८० एम.जी. प्रति के.जी. माछालाई १५ दिनसम्म दानामा मिसाई खुवाउनुहोस् साथै कोर्सोलिन टि.एच. ले दुई साताको अन्तरालमा ९०० एम.एल. प्रति हेक्टर जलाशयका दरले कम्तिमा एक मिटर पानी गहिराई कायम गरि पोखरीको उपचार गर्नुहोस्।
  • माछामा लाग्ने आर्ग्युलस (माछाको जुम्रा) को उपचारको लागि आईभरमेक्टीन १ एम.एल. प्रति २० के.जी. माछाको दरले दानामा राखेर लागतार ५ दिनसम्म खुवाउनुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।