नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक ३०)
मौसमी सारांश:
- गत साता देशको थोरै स्थानहरुमा वर्षा मापन भएको छ भने अधिकांश केन्द्रहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा सबैभन्दा बढी ५.५ मि.मि वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य अधिकांश भू-भागहरुमा 2५.0 डि.से. भन्दा बढी साथै मधेश प्रदेशको सिराहा जिल्लामा रहेको सिराहा केन्द्रमा सबैभन्दा बढी ३३ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको जोमसोम केन्द्रमा सबैभन्दा कम -१.१ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
- हिमाली भू-भागहरूमा साताको शुरु र अन्त्यमा आंशिक देखि मौसम सामान्यतया सफा रही मध्यमा आंशिक देखि सामान्य बदली रहने संभावना छ। साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानहरुमा हल्का वर्षा/हिमपातको संभावना छ। पहाडी तथा तराई भूभागहरूमा वर्षाको संभावना न्यून छ।
- देशका पहाडी भू-भागमा साताको शुरु र अन्त्यमा आंशिक बदली रही मध्यमा आंशिक देखि सामान्य बदली रहने संभावना छ। साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानहरुमा छिटपुट देखि हल्का वर्षाको संभावना रहेको छ।
- देशको तराई भ-भागमा साताभरी नै आंशिक देखि मौसम सामान्यतया सफा रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको संभावना रहेको छ।
- अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने संभावना छ।
कृषि सारांश:
- धानको बीउ छनोटको लागि बोट नढलेका, एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।
- गहुँवालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न पहाडमा कार्तिक १ देखि २५ गते (नोभेम्बर १०) भित्र गहुँ छरिसक्नुहोस्।
- तराई र भित्री मधेशको लागि सिफारिस गरिएका तोरीको जातहरु: विकास, प्रगति, उन्नति, प्रिती, मोरङ् तोरी-२, सुर्खेत स्थानिय तोरी -३ तथा नवलपुर स्थानिय-४ मध्ये उपलब्ध जातको बीउ उपचार गरी लगाउनुहोस्।
- पहाडको लागि सिफारिस मुसुरोका जातहरु: शिशिर, सिमल, शिखर, शितल, महेश्वर भारती, सगुन, खजुरा मुसुरो ३ मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ २ के.जी. प्रति रोपनीका दरले हारदेखि हारको दूरी २५ सेन्टिमिटर कायम गरी लगाउनुहोस्। बीउ रोप्नु अघि शुरुमा ढुसीनाशक बिषादी-बेभिष्टिन २ ग्राम प्रति के.जी. बीउको दरले र त्यसपछि राईजोवियम जीवाणुले उपचार गर्नुहोस्।
- सुन्तलाको बगैचामा चिस्यान कायम राखी राख्न पराल, काठको धुलो र सुख्खा पातहरुको प्रयोग गर्नुहोस्।
- आगामी साताको मौसम आलुबालीको पछौटे डढुवा रोगको लागि अनुकूल रहेकोले नियमित अनुगमन गर्नुहोस्। डढुवा रोगको शुरूको अवस्थामा मेन्कोजेब ७५% डब्ल्यु.पी. २ ग्राम प्रति लिटर पानीमा मिसाई बोटको सम्पुर्ण भाग भिज्नेगरी छर्कनुहोस्। प्रकोप बढी भएमा एक्रोब्याट (डाइमेथोर्फ ५०% डब्ल्यु.पी.) वा सेक्टिन (फेनामेडोन १०% + मेन्कोजेब ५०% डब्ल्यु.जी.) १.५ ग्राम प्रतिलिटर पानीमा मिसाइ बोटको सम्पुर्ण भाग भिज्नेगरी छर्कनुहोस्।
- गोलभेँडा तथा लहरे बालीमा भाइरस रोगको लक्षण देखिएमा रोगग्रस्त सबै बोटहरु उखेलेर नष्ट गर्नुहोस्। प्रकोप ज्यादा भएमा एसिटामाइप्रिड २०% एस.पि., ०.५ ग्राम प्रति लिटर पानीमा घोलेर पातको पछाडिको भाग भिज्नेगरि स्प्रे गर्नुहोस्।
- तापक्रम कम हुँदै जादाँ लाही कीराको प्रकोप बढ्दै जाने हुनाले यसको व्यवस्थापनका फ्लोनिकामिड ५० डब्लु.जी., १ ग्राम ३ लिटर पानीको दरले प्रयोग गर्नुहोस्।
- लेयर्स, ब्रोईलर कुखुरा तथा टर्कीहरुमा ईन्फेक्सस् कोराईजा र यो जस्तै लक्षण (नाकबाट सेतो, बाक्लो सिंगान फाल्ने, अनुहार वरपर सुन्निने, आँखाको तल्लो भाग सुन्निने र पहेँलो चिज जम्मा हुने, आँखा बन्द हुने) हरु देखापरेमा जैविक सुरक्षाका उपायहरु अपनाई दक्ष प्राविधिकको सल्लाहमा एन्टिबायोटिक औषधिहरु प्रयोग गर्नुहोस्।
- पंगास जातको माछाले चिसो मौसम सहन नसक्ने हुँदा बिक्रीयोग्य साईजको माछालाई अलग्गै छुट्टाई अन्य माछालाई करिब २-२.५ मिटर गहिरो पोखरीमा स्टकिंग गर्नका लागि आवश्यक तयारी गर्नुहोस्।
- तराईमा कार्प तथा पंगास माछाका भुराहरुमा अंकुशे जुका (लर्निया) को समस्या देखिएमा बिहान दाना दिनुअघि एरेटर चलाई डाइफ्लुबेन्जुरोन ३० माइक्रोग्राम प्रति लिटर पानीका दरले १० दिनसम्म पोखरीको उपचार गर्नुहोस्।
- माछामा लाग्ने आर्ग्युलस (माछाको जुम्रा) को उपचारको लागि आईभरमेक्टीन १ एम.एल. प्रति २० के.जी. माछाको दरले दानामा राखेर लागतार ५ दिनसम्म खुवाउनुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।