कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक २७)

 

मौसमी सारांश:

  • गत साता देशभर बर्षा भएको छ भने अधिकांश केन्द्रहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ। लुम्बिनी प्रदेशको बाँके जिल्लामा रहेको नेपालगंज एयरपोर्ट केन्द्रमा सबैभन्दा बढी ४१०.2 मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य अधिकांश भू-भागहरुमा 2० डि.से. भन्दा बढी साथै मधेश प्रदेशको सिराहा जिल्लामा रहेको सिराहा केन्द्रमा सबैभन्दा बढी ३३.९ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ६.६ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • साताको शूरु र अन्त्यतिर प्रदेश नं-१, मधेश प्रदेश लगायत थोरै पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेता पनि बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहने संभावना छ।
  • साताको शुरु र अन्त्यतिर प्रदेश नं-१, मधेश प्रदेश लगायत थोरै पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ।
  • आगामी साता घाम लागेसँगै देशको धेरै स्थानहरुको दिउँसोको अधिकतम तापक्रममा केही बृद्धि हुने र रातीको न्यूनतम तापक्रम केही घट्ने संभावना छ।
  • यस वर्षको मनसुन आगामी सातामा पश्चिम नेपालबाट क्रमश: बाहिरिने संभावना छ।

कृषि सारांश:

  • धानको बीउ छनोटको लागि बोट नढलेका, एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।
  • धान काट्ने कार्यमा लाग्ने खर्च र समय बचत गर्न उपलब्ध मेसिनहरु प्रयोग गर्नुहोस्।
  • धानबालीमा खैरो फड्के कीराको प्रकोप देखिएमा इमिडाक्लोपिड १७.८ एस.सी. ४-८ एम.एल. वा थायोमिथोक्जाम २५% एस.जी. ३.२-५ ग्राम प्रति १६ लिटर पानीमा मिसाएर बोटको तल्लो भागमा पर्नेगरि छर्कनुहोस्।
  • उच्चपहाडको लागि सिफारिस गरिएका गहुँका जातहरु- सुर्मा, तिला, कौटिला, पासाङ्ल्हामु, डब्लु.के. १२०४, डाँफे, स्वर्गद्वारी, मुनाल, च्याखुरा, हिमगंगा र भेरीगंगा मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ ६.० के.जी. प्रति रोपनीको दरले लगाउनुहोस्।
  • गहुँवालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न पहाडमा कार्तिक १ देखि २५ गते भित्र र तराईमा मंसिर १ देखि २५ गते भित्र गहुँ छरिसक्नुहोस्।
  • तराई र भित्री मधेशको लागि सिफारिस गरिएका तोरीको जातहरुको बीउ व्यवस्था गर्नुहोस्।
  • स्याउ टिपिसकेपछि पनि बोटमा कत्ले कीराको प्रकोप रहिरहने हुँदा यसको व्यवस्थापनको लागि खनिज तेल (सर्वो) १० देखी १५ एम.एल. प्रति लिटर पानीमा मिसाई कीरा लागेको स्थानमा भिज्नेगरि सात दिनको अन्तरालमा तीनपटक छर्कनुहोस्।
  • तराईमा बिँयाबाट आलु खेती गर्नको लागि टि.पि.एस.-१ र टि.पि.एस.-२ जातको आलुको बिँया ३.५ ग्राम प्रति कठ्ठाको दरले नर्सरी राख्नुहोस्।
  • भित्री-मधेश, खोँच तथा बेँशीको लागि खुमल उपहार, खुमल उज्वल, खुमल लक्ष्मी, खुमल रातो २, आईपिवाई ८, कुफ्रि सिन्दुरी, डेजिरे, कार्डिनल, एम.एस. ४२.३ मध्ये उपलब्ध आलुका जातहरूको गुणस्तरीय बीउ रोप्नुहोस्।
  • गोलभेडाको अगौटे डढुवा रोग ब्यवस्थापनको लागि मेन्कोजेवयुक्त विषादी २ ग्राम प्रतिलिटर पानीको दरले ८-१० दिनको फरकमा २-३ पटकसम्म सम्पूर्ण पातहरु भिज्नेगरि छर्कनुहोस्।
  • आगामी साता न्यूनतम तापक्रम घटेसँगै रातीको समयमा चिसो बढ्दै जाने हुँदा स-साना पशुवस्तुहरु लाई रातीको समयमा बाहिर खुल्ला नछोड्नुहोस्। दिउँसोको समयमा बाहिर खुल्लारुपमा राखिए पनि रातको समयमा राख्नको लागि खोर-गोठ तयार पार्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।