कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक २५)

मौसमी सारांश:

  • गत साता देशभर बर्षा भएको छ भने धेरैजसो केन्द्रहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ। गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा सबैभन्दा बढी ३७७.३ मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य अधिकांश भू-भागहरुमा 2५ डि.से. भन्दा बढी साथै गण्डकी प्रदेशको नवलपुर जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ३५.६ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ६.४ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • देशका अधिकांश भु-भागमा साताको सुरुमा सामान्य देखि पूर्ण बदली तथा साताको मध्य र अन्त्यमा आंशिक देखि सामान्य बदलीको संभावना छ।
  • साताको शुरूमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी देखि धेरै भारी वर्षा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना छ।
  • साताको मध्यमा र अन्त्यमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहनुका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना छ।
  • साताको सुरु र मध्यमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका अधिकांश स्थानहरुमा अधिकतम तापक्रम केही घट्ने र साताको अन्त्यमा उल्लेखनिय परिवर्तन नहुने संभावना छ। देशका अधिकांश भु-भागमा न्यूनतम तापक्रम केही घट्ने संभावना छ।

कृषि सारांश:

  • धानखेत तथा बगैँचामा पानी निकासको उचित व्यवस्था गर्नुहोस्।
  • पाकिसकेको धानबालीलाई मौसम सफा भई पानी पर्न रोकिएको ३-४ दिनपछि मात्र काट्न शुरु गर्नुहोस्।
  • यसअघि धान काटेर भिजेको भए बाला छिटो सुकाउन नल (पराल) बाट छुट्याउनुहोस्। चुटिसकेको धानलाई हावा आउने ठाउँमा फिजाई पंखाको सहयोगले हावा दिई बेला-बेलामा धानलाई चलाई छिटो सुकाउने वा धान सुकाउने मेशिनको प्रयोग गर्ने व्यवस्था मिलाउनुहोस्।
  • धानको दानामा दुध पसिसकेपछिको अवस्थापछि विषादी प्रयोग नगर्नुहोस्।
  • धानबालीमा बाला पसाएपछि दुध भरिने अवस्थामा पतेरो कीराको प्रकोप देखिने हुँदा नोक्सानी कम गर्नको लागी खेतभित्र तथा वरपरको झारपात गोडमेल गरी पतेरोको बैकल्पिक आश्रय नष्ट गर्ने; प्रकाश पासोको प्रयोग गरि बयस्क कीरालाइ मार्ने तथा डर्टी ट्रयापको प्रयोग गर्नुहोस्।
  • उच्चपहाडको लागि सिफारिस गरिएका गहुँका जातहरु- पासाङ्ल्हामु, डब्लु.के. १२०४, डाँफे, स्वर्गद्वारी, मुनाल, च्याखुरा, हिमगंगा र भेरीगंगा मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ ६ के.जी. प्रति रोपनीको दरले बीउको व्यवस्था गर्नुहोस्।
  • तराईमा बिँयाबाट आलु खेती गर्नको लागि टि.पि.एस.-१ र टि.पि.एस.-२ जातको आलुको बिँया ३.५ ग्राम प्रति कठ्ठाको दरले व्यवस्था गर्नुहोस्।
  • भित्री-मधेश, खोँच तथा बेँशीको लागि खुमल उपहार, खुमल उज्वल, खुमल लक्ष्मी, खुमल रातो २, आईपिवाई ८, कुफ्रि सिन्दुरी, डेजिरे, कार्डिनल, एम.एस. ४२.३ मध्ये उपलब्ध आलुका जातहरूको गुणस्तरीय बीउ व्यवस्था गर्नुहोस्।
  • बोरोन (सुक्ष्म खाद्यतत्व) को कमीले काउली बालीमा खैरो धब्बा आउन नदिन बोरेक्स १ के.जी. प्रति रोपनीको दरले जग्गा तयारी गर्दा नै प्रयोग गर्नुहोस्।
  • चाडवाडको बेला मासुको लागि काटिने खसि, बोका, राँगा आदिको शरिरभित्र पानीको फोका जस्तो अंङ्गहरु भेटिएमा, त्यस्ता फोकाहरु कुकुर, बिरालो आदिलाई नखुवाउनुहोस्। यस्ता फोकाहरु फित्ते जुकाका सिस्टहरु हुन सक्ने र कुकुर, बिरालो आदिले खाएमा ती पशुहरुले जुकाको जिवन चक्र पूरा गर्न महत्वपुर्ण भुमिका खेली यस्ता जुकाहरु मानिसमा पनि सार्न सक्ने हुनाले यस्ता पानी फोकाहरुलाई आगोमा जलाई नष्ट गर्नुहोस्।
  • बाख्राको मोओलाको लागी ५% पोभीडन आयोडिन वा १% कपर सल्फेट वा २% बोरिक एसिडको झोल वा १% पोटासको घोलले मुख सफा गर्नुहोस्। मोओलाको भाइरस घाउ, चोटपटक लागेको वा काटेको ठाँउबाट मानिसमा सरी त्यस्तै प्रकारको घाउ खटिरा आउन सक्छ।
  • साताको शुरूमा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी देखि धेरै भारी वर्षा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना तथा साताको मध्य र अन्त्यमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेकोले माछा बगेर जान नदिन माछापोखरीको निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाउनुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।