कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक २२)

मौसमी सारांश:

  • गत साता देशका केही केन्द्रहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ। वर्षा मापन भएका केन्द्रहरु मध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित दार्चुला नयाँ केन्द्रमा ३०१.५ मि.मि. वर्षा मापन भएको छ। तराईका अधिकांश भू-भागहरुमा ३० डि.से. र गण्डकी प्रदेशको नवलपुर जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ३६ डि.से. तापक्रम मापन गरिएको छ। तराईका केही भू-भागहरुमा २५ डि.से. भन्दा बढी तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ९ डि.से. तापक्रम मापन भएको छ।
  • देशका अधिकांश भू-भागमा साताको शुरू र अन्त्यमा सामान्य देखि पूर्ण बदली तथा साताको मध्यमा आंशिक देखि सामान्य बदलीको संभावना रहेको छ।
  • साताको शुरुमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहनुका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको संभावना रहेको छ।
  • साताको मध्य र अन्तमा देशका पहाडी भू-भागका केही स्थानहरुमा र तराई भू-भागका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहनुका साथै साताको मध्यमा मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।
  • गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भागमा साताको शुरुमा अधिकतम तथा न्यूनतम तापक्रम केही घट्ने र साताको मध्य तथा अन्त्यमा उल्लेखनिय परिवर्तन नहुने संभावना छ।
  • प्रदेश नं-१, मधेश प्रदेश र बागमती प्रदेशमा साताभरि नै अधिकतम तथा न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने संभावना छ।

कृषि सारांश:

  • आगामी साताको शुरुमा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भागहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम र थोरै स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको संभावना रहेकोले खेत, बारी र बगैँचामा पानी निकासको उचित प्रवन्ध गर्नुहोस्।
  • धानखेतमा पतेरो कीराले धेरै नोक्सानी गर्ने भएकोले नियमीत अनुगमन गर्नुहोस्।
  • धानखेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गर्नुहोस्। गबारो कीराले पातको टुप्पोको तल्लो भागमा अण्डा पार्ने भएकोले अवलोकन गरी नष्ट गर्नुहोस्।
  • धानबालीमा मरुवा रोग व्यवस्थापनको लागि नाइट्रोजनयुक्त मल जस्तै-युरिया मात्र बढी प्रयोग नगरी फोस्फोरस र पोटास पनि सिफारिस मात्रामा प्रयोग गर्नुहोस्। यो रोग पातहरुमा देखिएमा कासु-बी २ एम.एल. वा वीम १ ग्राम वा हेक्जाकोनाजोल २ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा बोटको सम्पूर्ण पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
  • तराई तथा भित्री मधेशको लागि हिउँदे मकैका सिफारिस जातहरु- मनकामना-१, अरुण -३, अरुण -४, अरुण -६, रामपुर हाइब्रिड -२, रामपुर हाइब्रिड -४, रामपुर हाइब्रिड-६, खुमल हाइब्रिड मकै-२ र पोसिलो मकै-२ मध्येबाट बीउको व्यवस्था गर्नुहोस्।
  • मध्य पहाड देखि उच्च पहाडको लागि सिफारिस गरिएका तोरीको जात; लुम्ले-१, मध्य पहाडको लागि प्रगति र सुर्खेत स्थानिय तोरी -३, बेंसीको लागि उन्नति र प्रिती, तराई र भित्री मधेशको लागि विकास, प्रगति, उन्नति, प्रिती, मोरङ् तोरी-२, सुर्खेत स्थानिय तोरी-३ तथा नवलपुर स्थानिय-४ मध्येबाट बीउको व्यवस्था गर्नुहोस्।
  • तराई, भित्री-मधेश तथा बेँशीको लागि खुमल उपहार, खुमल उज्वल, खुमल लक्ष्मी, खुमल रातो २, आईपिवाई ८, कुफ्रि सिन्दुरी, डेजिरे, कार्डिनल, एम.एस. ४२.३ मध्ये उपलब्ध आलुका जातहरूको गुणस्तरीय बीउ आवश्यक मात्रामा (८० देखि १०० के.जी. प्रति कठ्ठा) कोल्ड स्टोरबाट झिकी ओभानो ठाँउमा फिँजाएर टुसाउन दिनुहोस्।
  • मध्यपहाडी क्षेत्रमा ड्याङ उठाएर चालिस दिने, मिनो अर्ली र प्युठाने रातो जातको मूला तथा बेमौसमी बकुल्ला सिमी लगाउनुहोस्।
  • हरियो लसुन उत्पादनको लागी लसुनको बीउ (पोटी) रोप्नुहोस्।
  • काउली, बन्दा र रायो बालीहरुको नर्सरी राख्नुहोस्। ब्याड राख्ने जग्गाको माटोको उपचार गर्नुपरेमा बेभिष्टीन ६ ग्राम प्रति लिटर पानीमा मिसाई बीउ राख्नु ३-४ दिन अगाडी छर्कनुहोस्। नर्सरी राख्दा १ वित्ता (१५-२० से.मी.) अग्लो व्याड बनाई ४ अँगुलको फरकमा लाइन कोरेर पातलो गरी बीउ राखी हल्का माटोले पुरेपछी छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन प्लाष्टिकको छापो राख्नुहोस्।
  • बोरोन (सुक्ष्म खाद्यतत्व) को कमीले काउली बालीमा खैरो धब्बा आउन नदिन बोरेक्स १ के.जी. प्रति रोपनीको दरले जग्गा तयारी गर्दा नै प्रयोग गर्नुहोस्।
  • यस अघि खोरेत रोग विरुध्दको खोप नलगाएका तीन महिना भन्दा बढि उमेरका पशुहरुलाई असोज १५ गतेसम्म पहिलो मात्रा खोप लागाउनुहोस्। हाल विभिन्न जिल्लाहरुमा यो खोप लागाउने कर्यक्रम पशु सेवा विज्ञ केन्द्र वा स्थानीय पालिकाका पशु सेवा शाखाहरुले नि:शुल्क रुपमा पनि सञ्चालन गरिरहेका छन, यसबारे थप जानकारीका लागि आ-आफ्ना पालिकामा सम्पर्क गर्नुहोस्।
  • पशुहरुलाई जुका, नाम्ले माटेको लागी औषधि खुवाएको ४-६ महिना भन्दा बढी समय भईसकेको भए एकपटक गोबर/जुत्तो जाँच गराउनुहोस् र आवश्यक भएमा जुकाको पहिचान गरेर मात्र औषधिहरु (जस्तै- गोलो जुकाको लागी अल्बेन्डाजोल १०-१२ एम.जी. प्रति के.जी. शारिरक तौल, र नाम्ले-माटेको लागि अक्सिकोल्जानाईड १५-२० एम.जी. प्रति के.जी. शारिरिक तौल) प्रयोग गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखी ४ बजेसम्म फोन गर्नुहोस्।