नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक २१)
मौसमी सारांश:
- गत साता देशभर धेरैजसो भू-भागहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ। वर्षा मापन भएका केन्द्रहरु मध्ये सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा ५०८.८ मि.मि. वर्षा मापन भएको छ। तराईका अधिकांश भू-भागहरुमा ३० डि.से. र गण्डकी प्रदेशको नवलपुर जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ३५.८ डि.से. तापक्रम मापन गरिएको छ। तराईका अधिकांश भू-भागहरुमा न्यूनतम तापक्रम २५ डि.से. भन्दा बढी मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम १०.७ डि.से. तापक्रम मापन भएको छ।
- साताको शुरूमा सामान्य बदली रहे पनि साताको मध्य र अन्त्यमा आंशिक देखि सामान्य बदली रहने संभावना छ।
- साताको शुरूमा प्रदेश नं-१, बागमती प्रदेश, र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको संभावना छ।
- लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकतम तथा न्यूनतम तापक्रम बढ्ने संभावना छ।
कृषि सारांश:
- वर्षे धानको टपड्रेसको लागि नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस युरियाको मात्रा प्रयोग गर्नुहोस्। युरिया मलको विकल्पको रुपमा नानो झोल युरिया ४ एम.एल. प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्नेगरी टपड्रेस गर्ने समयमा छर्कनुहोस्। धानमा टपड्रेस गरिसकेपछि कम्तीमा २४ घण्टासम्म खेतबाट पानी बग्न नदिनुहोस्।
- धानखेतमा पात वेरुवा कीराको नोक्सानी कम गर्न अल्फामेथ्रिन २ एम.एल. प्रति लिटर पानीको दरमा धानको पात भिज्नेगरि साँझको समयमा छर्नुहोस्।
- धानखेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गर्नुहोस्। गबारो कीराले पातको टुप्पोको तल्लो भागमा अण्डा पार्ने भएकोले अवलोकन गरी नष्ट गर्नुहोस्।
- धानबालीमा मरुवा रोग व्यवस्थापनको लागि नाइट्रोजनयुक्त मल जस्तै-युरिया मात्र बढी प्रयोग नगरी फोस्फोरस र पोटास पनि सिफारिस मात्रामा प्रयोग गर्नुहोस्। यो रोग पातहरुमा देखिएमा कासु-बी २ एम.एल. वा वीम १ ग्राम वा हेक्जाकोनाजोल २ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा बोटको सम्पूर्ण पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
- आँपको पातमा जालो बनाउने कीराको नियमित अनुगमन गर्नुहोस्। जालो देखिएमा लठ्ठी वा ब्रसको सहायताले जालो हटाउनुका साथै कीराले क्षती गरेको पातहरु नष्ट गर्नुहोस्।
- मध्यपहाडको बारी जग्गामा भदौमा रोप्नको लागि जनकदेव, डेजिरे, खुमल सेतो-१, खुमल लक्ष्मी, खुमल उज्वल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातको बीउ आलु रोप्नुहोस्।
- बेमौसमी बकुल्ला सिमी लगाउन सुरु गर्नुहोस्। यो समयमा बकुल्ला सिमी लगाउनु भएमा लाही कीराको प्रकोप कमी हुने हुँदा बढी आम्दानी लिन सकिन्छ।
- काउली, बन्दा र रायो बालीहरुको नर्सरी राख्नुहोस्। ब्याड राख्ने जग्गाको माटोको उपचार गर्नुपरेमा बेभिष्टीन ६ ग्राम प्रति लिटर पानीमा मिसाई बीउ राख्नु ३-४ दिन अगाडी छर्कनुहोस्।नर्सरी राख्दा १ वित्ता (१५-२० से.मी.) अग्लो व्याड बनाई ४ अँगुलको फरकमा लाइन कोरेर पातलो गरी बीउ राखी हल्का माटोले पुरेपछी छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन प्लाष्टिकको छापो राख्नुहोस्।
- बोरोन (सुक्ष्म खाद्यतत्व) को कमीले काउली बालीमा खैरो धब्बा आउन नदिन बोरेक्स १ के.जी. प्रति रोपनीको दरले जग्गा तयारी गर्दा नै प्रयोग गर्नुहोस्।
- भदौ-असोजतिर उखुको पातको फड्के कीराको प्रकोप व्यवस्थापनको लागि पानी निकासको व्यवस्था मिलाउनुका साथै रोगी बोटको तल-तलका खुकुला, पुराना सुकेका पातहरु हटाउनुहोस्। प्रकोप ज्यादा भएमा वनस्पतिजन्य विषादी डेरिसोम २% इ.सी; २ एम.एल. प्रति लिटर पानीमा मिसाई बोट भिज्नेगरि छर्कनुहोस्।
- यस मौसममा पशुहरुमा किर्नाको प्रकोपको कारण रगतमा परजिवीहरुको संक्रमण हुन गई ज्वरो आउने, घाँस-पानी नखाने, पेट फुल्ने, पिसाबको रङ्ग साधारण भन्दा फरक देखिएमा पशु स्वास्थ्य प्रयोगशालामा रगतको नमूना जाँच गराई चिकित्सकको सल्लाहमा आवश्यक औषधीहरुको प्रयोग गर्नुहोस्। ज्वरो कम गर्न पारासिटामोल वा मेलोक्सिक्याम र पेट फुल्ने समस्या भएमा रुमेनोटोरिक औषधिहरुको प्रयोग गर्नुहोस्।
- स्थानीय खुल्लारुपमा पालिएका कुखुराहरुलाई रानीखेत रोग विरुद्द एफ१ एन.डी. क्लोन जातका खोप शुद्ध पानीमा घोलेर खुवाउनुहोस्। यसरी खुवाउँदा १ ग्राम प्रति लिटर पानीका दरले स्किम मिल्क पाउडर पनि सँगै खुवाउनुहोस्।
- माछामा कक्सिडियोसिस रोगको उपचारका लागि संक्रमित माछाहरुलाई टोलट्राजुरील १५ एम.जी./के.जी. माछाको शारीरिक तौल बराबर हुने गरी बिहान पहिलोपटक दिने पेलेट दानामा तेल वा पानीसँग मिसाई ७ दिनसम्म खुवाउनुहोस्। रोगको संक्रमण उच्च भएको अवस्थामा २० लिटर क्षमताको बाल्टी वा बकेटमा पानी हाली त्यसमा ५ के.जी. माछा राखी ३-५ एम.जी. टोलट्राजुरील प्रति लिटर पानीको दरले माछालाई डिप उपचार गर्नुहोस्। उपचार पश्चात् २-३ घण्टासम्म दाना नदिनुहोस्।
- माछाको जुम्रा (आर्ग्युलस) को उपचारको लागि आईभरमेक्टीन १ एम.एल. प्रति २० के.जी. माछाको दरले दानामा राखेर लागतार ५ दिनसम्म खुवाउनुका साथै माछाको घनत्व कम गर्ने, पोखरीभित्र ठाँउ-ठाँउमा बाँस गाड्ने र उक्त बाँसलाई ३ दिनको अन्तरमा झिकेर सुकाउने र पोखरीको भित्री डिलमा उम्रेका झारपात सफा राख्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखी ४ बजेसम्म फोन गर्नुहोस्।